images
images

 'उन्नत बिउबाटै धानको उत्पादन तीन गुणा बढ्छ'

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिएका छन्।

बुधबार दिउँसो कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा बजेट छलफल भएको थियो। सो छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै वर्षदेखी घटाउनुपर्ने दबाब रहेको बताए।

मन्त्री शर्माले भने, ‘दुई महिनादेखl मैले धानको उन्नत बिउ किसानलाई बाँड्ने योजना ल्याउनु भनिरहेको छु। तर तपाईंहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन।'

नेपालमा सूचीकृत भएका उन्नत जातको धान बिउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहीबार पुनः छलफलमा आउन पनि मन्त्री शर्माले निर्देशन दिएका छन् ।

छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बिउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताए । छलफलमा कृषि सचिव डा. गोविन्द शर्माले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सूचीकृत गुणस्तरको बिउ ल्याउन निर्देशन दिइसकेको जानकारी दिए ।

धानको उत्पादकत्व औसतमा ३.५ मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिँदै शर्माले उन्नत जातको बिउ बितरण गरे उत्पादनमा धेरै सुधार हुने बताए।