images
images

एमाले स्कुल विभाग थप गतिशील !

काठमाडौँ, जेठ २ । नेकपा एमाले, केन्द्रीय स्कुल विभागको बैठक हालै सम्पन्न भएको छ । पार्टी उपमहसचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकले मिसन ग्रासरूटका कारण रोकिएको पार्टी स्कुलका गतिविधिलाई थप गतिशीलता दिने निर्णय गरेको छ । 

 

बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीले गरेको निर्णयहरूलाई समेत जोड्दै पार्टी प्रशिक्षणलाई सघन रूपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी पार्टी केन्द्रीय सदस्य तथा स्कुल विभाग प्रमुख पेम्पा लामाले जानकारी गराउनु भएको छ । 

 

सचिव लामाका अनुसार विभागको बैठकमा विभागका पदाधिकारी तथा सदस्यहरूले मिसन ग्रासरुटका क्रममा प्राप्त अनुभवहरू राख्नुभएको थियो । मिसन ग्रासरुटका क्रममा कार्यकर्ताहरूले प्रशिक्षणको कमीका कारण पार्टीमा व्यक्तिवादी अवसरवाद हावी हुँदै गएको, विचार प्रधान भनिएको कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरू नेतामुखी हुँदै गरेको, राजनीतिक प्रतिस्पर्धाभन्दा आर्थिक, भड्किलो जीवन शैली, अवसरका लागि बढी जोडबल गर्ने अवस्था हुर्कँदै गएको, नेता र कार्यकर्ता, कार्यकर्ता र जनता बिचको आत्मीय सम्बन्धमा कमी आइरहेको आदि विषयमा ध्यान दिँदै विचार सहितको क्षमताका लागि पार्टी प्रशिक्षण नै उपयुक्त माध्यम भएकोले यसमा जोड दिनुपरेको हो । 
बैठकले पदाधिकारी र सदस्यहरूको कार्यविभाजन गरी पाठ्य सामग्री निर्माणका लागि समयावधि र जिम्मेवारी समेत तोकेको छ । जनसङ्गठनका केन्दीय कमिटीहरूलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षणलाई निरन्तरता दिने, प्रारम्भिक तहको प्रशिक्षण सञ्चालनका लागि प्रशिक्षक प्रशिक्षण चलाउने, माध्यमिक तथा उच्च तहका लागि सामग्री तथा विज्ञहरूको सूची तयार पार्ने निर्णय भएको जानकारी गराइएको छ ।