images
images

समय र समयको व्यावहारिक प्रयोग

—    रामराज प्रताप भण्डारी, काठमाडौँ 
यो समय भौतिक विकास तीव्र भएको समय हो । यतिबेला अनेकौँ वैज्ञानिकहरू अनेकौँ खोज, अनुसन्धान र आविष्कारका तल्लीन छ । तर, विकास भन्ने विषय त्यो जुनसुकै किन नहोस्, ठप्प रोकिने विषय होइन, यो निरन्तर बढिरहन्छ । प्रकृतिको सिर्जना बुन्न सकिन्छ, मानवको सिर्जना फेर्न सकिन्छ । यसो भनिरहँदा प्रकृतिमा रहेका कुनै कुरा फेर्नै नसकिने हुदैन । यसको मूलतत्व फेर्न नसकिए पनि यसका स्वरूपमा थुप्रै फेरबदल भएको हामीले देखेकै छौँ । सबै फेर्न सक्ने मानिसले समयको परिभाषा फेर्न सक्छ, देश र स्थान अनुसार भिन्नाभिन्नै नामले सम्बोधन गर्न सक्दछ, तर घडीको आविष्कार गर्ने वैज्ञानिकले पनि समयलाई आफ्नो मुठ्ठीमा कैद गर्न सक्दैनन् । त्यसैले समय बुन्न सकिन्छ, तर फेर्न सकिँदैन ।
समयको यात्रा र कथाका बारेमा यसअघि पनि चर्चा भएकै हो । यहाँ समयको व्यावहारिक प्रयोगका सम्बन्धमा चर्चा गर्ने जमर्को गरिएको छ । समयलाई छुन वा देख्न किमार्थ सकिन्न । यसलाई यता वा उता घुमाउन पनि सकिँदैन । समय मात्र महसुस गर्ने कुरा हो । थाहा पाउनु पर्दा घडी या पात्रो नै हेर्ने हो । तपाईँहरूले यो कहिले विचार गर्नु भएको थियो कि फरक–फरक कम्पनीबाट बनेका घडीले एकैनासले, ठ्याक्कै एउटै समय कसरी दिन्छन् ? 
कम्पनीहरूले नै समय बनाउने हो भने घडीको जस्तै समयको पनि अलग—अलग नाम हुनु पर्ने हो । सबै घडी मा १ सेकेण्डको समयावधि एउटै हुन्छ, अनि सबैको लागि ६० सेकेण्डको १ मिनेट, ६० मिनेटको १ घण्टा, २४ घण्टाको १ दिन, यस्तैयस्तै गर्दै साता, पक्ष, महिना, वर्ष, दशक, शताब्दि वा सोभन्दा माथिका ठुला समयका अवधिहरू आदि । समय निरन्तर, एकरूपी, औपचारिक, व्यवस्थित र सार्वभौमिक कुरा हो ।
कुनै दुई अलग–अलग ठाउँमा समय फरक हुनु भनेको सूर्यको उदयको आधारमा त्यस ठाउँको दिन बित्ने वा दिन र रात हुने अवस्थाको तुलनात्मक व्याख्या वा प्रस्तुति हो । समयको रफ्तार सदैव त्यही नै हो— सेकेण्ड, मिनेट, घण्टा, दिन, साता, महिना, वर्ष आदि । कुनै ठाउँको समय भन्नाले पृथ्वीमा त्यस निश्चित ठाउँको भौगोलिक अवस्थिति, स्थान, दुरी आदिको पृथ्वीकै कुनै एक निश्चित ठाउँको समयको आधारमा कृत्रिम रूपले परिभाषित वा व्याख्या गरिएको मान्यता मात्र हो । यसले त्यहाँको दैनिकी चलाउन र कामकाज आदिलाई सजिलो पर्ने हो र बाँकी दुनियाँसँग व्यावहारिक समन्वय गर्न सक्ने बनाउनु  मात्र हो ।
त्यस्तै, समयको अर्को महत्वपूर्ण प्रयोग पात्रो हो । पात्रो भनेको सामाजिक, धार्मिक, व्यावसायिक वा प्रशासनिक उद्देश्यहरूका लागि दिन वा मिति क्रमिक रूपले व्यवस्थित र आयोजना गर्ने प्रणाली हो । हरेक पात्रोमा गते, बार, हप्ता, महिना र वर्षको क्रमिक र औपचारिक विवरण र प्रस्तुत हुन्छ । २१ औँ शताब्दिमा पात्रोको प्रयोग अति महत्वपूर्ण छ । कतिपय देशहरूको आफ्नै पात्रो भए पनि विश्वभरिको मितिलाई एकरूपता दिनलाई ईसवीय सम्वतको पात्रो प्रयोग गरिन्छ । नेपालमा आफ्नै मौलिक विक्रम संवतको पात्रो प्रयोगमा छ ।  पात्रोको प्रयोगमा पूर्वीय सभ्यता अघि भए पनि व्यवस्थित पात्रोको प्रयोग पश्चिमी मुलुकमा करिब ५५०० वर्ष अघिदेखि भएको देखिन्छ ।
समयको वैज्ञानिक गणना तथा मापन एकाई
समयलाई त्रुटिरहित र ठ्याक्कै मापन गर्न वैज्ञानिकहरूले आणविक घडीको आविष्कार गरेका छन् । आणविक घडीहरूले केही परमाणुहरूका इलेक्ट्रोनिक सङ्क्रमणहरूबाट                     (Transitions) उत्पन्न हुने आवृत्तिहरू (Frequency) गणना गरी समयको निर्धारण गर्दछन् । यसरी आणविक घडीमा प्रयोग गरिने परमाणुहरूमध्ये एक सिजियम–१३३ (Caesium-133) परमाणु हो, जुन एक रेडियो एक्टिभ परमाणु हो ।
प्रायः आधुनिक आणविक घडीहरूले सिजियम–१३३ परमाणु इलेक्ट्रोनहरूको कम्पनहरूबाट उत्पत्ति हुने आवृत्तिहरूको माइक्रोवेभको साथ जाँच गरी समय निर्धारण गर्ने गर्दछ । ई.सन् १९६७ देखि, मापनको अन्तर्राष्ट्रिय प्रणालीले समयको एकाई सेकेण्डलाई, सिजियम–१३३(Caesium-133) परमाणुको गुणको आधारमा प्रयोग गर्ने गरेको छ, जसमा अन्तर्राष्ट्रिय प्रणालीले दुई सिजियम–१३३ (Caesium-133)  परमाणुहरूको इलेक्ट्रोन स्पिन ऊर्जा स्तर बिचको सङ्क्रमणमा उत्पन्न ९,१९२,६३१,७७० चक्रहरू विकिरण (Radiation) लाई १ सेकेण्डको रूपमा परिभाषित गर्दछ ।
समय ब्रह्माण्डको चौथो आयाम 
समय सबै घटनाहरूको निरन्तर प्रगति हो र घटनाहरू हुन्, जुन अतीतमा स्पष्ट अपरिवर्तनीय रूपमा त्यसको घट्दछन् । तिनीहरूको असर  वर्तमानमा हुंँदै भविष्यमा समेत देखिन सक्दछ । तर पनि समय आफैमा कहिलै पछि फर्कँदैन, यो समयको सर्वव्यापी र अकाट्य सत्य पनि हो । समयले घटनाक्रमलाई क्रमबद्ध गर्न, घटनाहरूको अवधि वा उनीहरू बिचको अन्तरालहरूको तुलना गर्न र भौतिक वास्तविकतामा वा सचेत अनुभवमा परिमाणको परिवर्तनका दरहरूको मात्रा पुष्टि गर्न प्रयोग गरिने विभिन्न मापनहरूमध्ये एक हो । समय प्रायः चौथो आयामको रूपमा मानिन्छ । यसले ब्रह्माण्ड, अन्य ३ स्थानिक आयामहरूका साथ मिलेर घटनाहरूको अर्थपूर्ण पुष्टि गर्दछ ।
बिन्दुमा समेटिएको ब्रह्माण्ड महाविष्फोटबाट चौतर्फी बिस्तार भएपछि स्थानिक मापनका ३ आयामहरू अस्तित्वमा आए । ती ३ आयामहरू हुन्— लम्बाइ, चौडाइ र उँचाइ । त्यसअघि सम्पूर्ण ब्रह्माण्ड नै एक बिन्दुको रूपमा थियो । बिन्दुको कुनै स्थानिक मापन हुन सक्दैन, बिन्दुको कुनै आयाम पनि हुँदैन । भौतिक विज्ञानमा आयामको सिद्धान्तबाट बिन्दुलाई  शुन्य आयाम भन्ने गरिन्छ । यस्तो किनभने बिन्दुको लम्बाइ, चौडाइ र उँचाइ हुँदैन र बिन्दुको अवस्थामा भएको कुनै पनि वस्तुमा समयको पनि अस्तित्व हुँदैन ।
ब्रह्माण्ड आफै पनि आयामहरूमा अवस्थित छ । यसको तात्पर्य ब्रह्माण्डको अस्तित्व छ भने त्यहाँ अघि–पछि, तल–माथि र दायाँ–बायाँ दिशाहरू अस्तित्वमा हुने गर्दछन् । ती सबै दिशाहरूका साथसाथै समयको पनि अस्तित्व हुन्छ । अतः यही समयलाई नै ब्रह्माण्डको चौथो आयाम भनिन्छ । वस्तुहरू लम्बाइ, चौडाइ र उचाइका ३ आयमहरू र चौथो आयाम समय सहित ब्रह्माण्डको चार आयामी स्पेसको अवधारणा गणितीय र भौंतिक रूपले पूर्ण हुन्छ र यो वैज्ञानिक रूपले प्रमाणित पनि भएको छ । यसलाई स्पेस–टाइम भनिन्छ ।
त्रि–आयामिक वा थ्रीडी (3D) अन्तरिक्ष अवलोकनको सरल सम्भावित अमूर्त कार्य हो, जुन प्रत्येकलाई दैनिक संसारमा वस्तुहरूको आकार वा स्थानहरूको वर्णन गर्न मद्दत गर्दछ । जबसम्म ती त्रि—आयामिक वस्तुहरूमा चौथो आयाम समय जोडिँदैन । त्यस अवस्थासम्म वस्तुहरू प्रतिको हाम्रो बुझाइ पूर्ण भएको हुँदैन । किनभने त्रि—आयमिक वस्तुहरूको भनेको स्थिर अवस्थाका वस्तुहरू हुन् र त्यसमा चौथो आयाम थपिएपछि त्यो वस्तु गतिमान हुन्छ, जुन यस ब्रह्माण्को यथार्थ हो । त्यसैले समय यस ब्रह्माण्डको अतिनै महत्वपूर्ण चौथो आयाम हो र यसको उपस्थितिले नै ग्रह, उपग्रह, ताराहरू लगायत सबै वस्तुहरू सहितको अवस्थिति र अस्तित्व सम्भव भएको हुन्छ ।
ब्रह्माण्डमा हुने सम्पूर्ण घटना र गतिविधिहरूको व्याख्या र अर्थ पुष्टि गर्न तिनै ४ आयामहरू काफी छन्, तर केही वैज्ञानिक र दार्शनिकहरूले यस ब्रह्माण्डमा अन्य धेरै आयामहरू हुन सक्ने अनुमान र तर्कहरू अघि सारेका छन् । यस तर्कहरू र अवधारणाहरूलाई पुष्टि गर्न स्ट्रिंग (String) सिद्धान्त र एम (M) – सिद्धान्त प्रस्तुत गरेका छन् । उनीहरूका अनुसार स्ट्रिंग सिद्धान्तले १० आयामहरू र एम (M)– सिद्धान्तमा यस ब्रह्माण्डमा थप ११ आयामहरूको प्रस्तावहरू अघि सारेका छन् । तर कसैकसैले त यस ब्रह्माण्डमा २६, ३६ वा सोभन्दा पनि बढी आयामहरू हुन सक्ने तर्क गरेका छन् । हाल सम्मलाई हाम्रो ब्रह्माण्डका लागि चौथो माथिका सबै आयामहरू काल्पनिक मात्र हुन् ।
(लेखक भण्डारी दिगो विकास, वातावरणका अध्येता र मानवशास्त्री हुनुहुन्छ ।)