काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षको लागि पर्यटकिय क्षेत्रको पुर्वाधार विकास गर्नको लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ । यस अन्तर्गत सरकारले दुई सय १६ वटा पर्यटकिय क्षेत्रको पूर्वाधार विस्तारका लागि ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले उच्च हिमाली क्षेत्र अन्तर्गत पूर्वदेखि पश्चिमतर्फको ग्रेट हिमालय ट्रेल निर्माणका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले काठमाडौंमा नेवार, पोखरामा गुरुङ जातीको संग्राहलय निर्माण गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा मुक्तिनाथ र विरेठाँटी जोड्ने केबुलकार संचालनमा ल्याउने योजना बनाएको छ। एकैठाउँमा सबै धर्मका मूर्ति दर्शनका लागि एउटै संग्रहालय निर्माण गरिने योजना अघि सारेको छ ।
सरकारले पर्यटन मार्फत आर्थिक समृद्धि हाँसिल गर्न आउँदो आर्थिक वर्षमा थप १० लाख विदेशी पर्यटक भित्र्याउने योजना समेत बजेटमार्फत सार्वजनिक गरेको छ । यस अन्तर्गत युवा पर्यटकलाई लक्षित गरी हरित पर्यटनलाई थप विस्तार गरिने योजना सरकारले अघि सारेको छ ।