images
images

वातावरणीय सचेतनाका लागि मौलिक संस्कृति स्मरण गरौँ ! ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ कार्यान्वयन गरौँ !

आज जुन महिनाको ५ तारिक, विश्व वातावरण दिवस हो । ई.सन् १९७२ को १६ जुनका दिन संयुक्त राष्ट्रसंघद्वारा आयोजना गरी सम्पन्न गरिएको विश्व वातावरण सम्मेलनले विश्वस्तरमा यो दिवस मनाउने निर्णय गरेको हो ।  यो सम्मेलन १६ जुनमा सम्पन्न भएको भए पनि यसले प्रत्येक वर्ष जुन महिनाको ५ तारिकमा यो दिवस मनाउने निर्णय गरेपछि ई.सन् १९७३ देखि अन्तर्राष्ट्रिय स्तरमा मनाउन सुरू गरिएको हो ।  यस दिवसको मूल उद्देश्य वातावरण संरक्षणका लागि संसारभरि राजनीतिक तथा सामाजिक चेतना अभिवृद्धि गर्दै जानु हो ।  वातावरण जोगिँदा मानिसलगायत सम्पूर्ण थलचर, जलचर, नभचर सबै प्राणीहरूका लागि हितकर हुन्छ । वातावरण संरक्षण गर्नु भनेको मूलतः प्रकृतिको सुन्दरताको रक्षा गर्नु हो । यसबाट हुने लाभ सबैका हितका लागि उपयोगमा ल्याउनु हो । जैविक विविधता र यसको चक्र उचित ढङ्गले चल्न सकोस् भन्ने हो । प्रकृतिबाट हामी लाभान्वित हुन हामीले प्रकृतिको उचित संरक्षण गर्नैपर्ने हुन्छ । विकासका नाममा भएको प्रकृतिको दोहन बढी भयो, अनियन्त्रित र अस्वाभाविक भयो भने त्यसले मानिसलाई बढी समस्यामा पार्ने हो । 

 

हामी बाँचेको वातावरण जोगाउनु र यसलाई थप हेरचाह गर्नु हामी सबैको कर्तव्य हो । जलवायु परिवर्तनको प्रभाव बढ्दो छ । यही प्रभावकै कारणले पृथ्वीको तापक्रम दिन प्रतिदिन बढ्दै गएको छ । वनहरू मासिँदैछन्, हिमालहरू पग्लिदै  छन् । हिउँपर्ने समय र स्थानमा हिउँ नपरेर सन्तुलन बिग्रिरहेको छ । यसबाट बालीनालीमा समस्या आइरहेको छ । यस प्रकारका समस्या हुन, रहन र बढ्न नदिनका लागि हामी मानवहरुले सचेत र महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ । वन—जङ्गल, पाखा—पखेरा सबैमा आकासेपानी सङ्कलनको पोखरीहरु बनाउन जरुरी छ । जसले गर्दा हाम्रो वातावरण बिस्तारै सन्तुलित बन्दै जानेछ । हरियाली बढ्दै गएपछि अक्सिजनको मात्रा बढ्ने छ । यसरी हाम्रो वातावरण सन्तुलित हुनेछ ।  आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा बढ्दो नवउदारवादको प्रभावका कारण हाम्रा आप्mना मौलिक उपायहरू कमजोर हुँदै गइरहेको अवस्था छ । हाम्रो सनातन संस्कृतिमा हरेक दिन गरिने शान्तिपाठमा गरिने कामना हाही आफै बिर्सदै छौँ र तिनीहरूलाई अन्धविश्वास भनेर पन्छाइरहेका छौँ ।  शान्ति पाठका रूपमा प्रयोग गरिने मन्त्र यस प्रकार छ : ॐ द्यौः शान्तिरन्तरिक्ष गूँ शान्तिः, पृथ्वी शान्तिरापः शान्तिरोषधयः शान्तिः । वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिर्ब्रह्म शान्तिः,सर्वँ शान्तिः, शान्तिरेव शान्तिः, सा मा शान्तिरेधि । ॐ शान्तिः शान्तिः शान्तिः अर्थात्  स्वर्गलोक, अन्तरिक्ष र पृथ्वी लोकले हामीलाई शान्ति दिऊन् । जल, औषधि, वनस्पति आदिले हामीलाई शान्ति दिऊन् । सबै देवताहरूले हामीलाई शान्ति दिऊन् । सर्वव्यापी परमात्माले सम्पूर्ण संसारमा शान्ति स्थापना गरून् । स्वयं शान्तिले पनि हामीलाई शान्ति देओस् । यसरी सबैतिरबाट शान्तिको कामना गरिएको छ । यहाँ भनिएका देवताहरू माटो, हावा, पानी, आगो, वन, आकाश, ढुंगा, जडीबुटी हुन् । वैदिक मान्यता अनुसा मानव मात्रलाई आवश्यक पर्ने सबै वस्तुहरू देवता हुन् । 
यसका लागि हामीले हामी हिँड्ने बाटो, भञ्ज्याङ्, घुम्ती, नदी किनार, दोबाटो आदिमा रुख रुप्ने, चौतारो चिन्ने,  कुवा, पँधेरो सफा राख्ने, जडीबुटी चिनेर संरक्षण गर्ने, त्यसको महत्व बुझेर उचित मात्रा उपयोग गर्ने, खोला, कुवा टाढा भएका ठाउँमा पशु, पक्षी र मानिसहरूका लागि समेत हुने गरी घैटा  पानी समेत राखेर मानव धर्म पूरा गर्ने हाम्रो संस्कारको जगेर्ना गर्न आवश्यक छ । 

 

जन्म दिन, स्मृति दिवस, श्राद्ध, अन्य खुसियालीमा वृक्षारोपण गर्ने गरेर हामीले वातावरणका संरक्षणका क्षेत्रमा भूमिका निर्वाह गर्न सकिन्छ । प्रत्येक वर्ष जुन महिनाको ५ तारिकमा विश्वव्यापी रूपमा मनाइने यस दिवसले हामीलाई यही सन्देश दिइरहेको हुन्छ ।   विश्व वातावरण दिवसको यस पटकको नारा ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौँ ! Beat Plastic Pollution' भन्ने रहेको छ । हाम्रा आफ्ना  धर्म, संस्कृति, रीतिथिति, परम्परा, मूल्यमान्यतामा रहेका प्राणी हितकारी, वातावरणमैत्री सन्दर्भहरू स्मरण गरौँ र यस वर्षका लागि तोकिएको नारा कार्यान्वयन गरौँ । यस वर्षको हाम्रो राष्ट्रिय नारा रहेको छ, ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण ।’  हाम्रा सांस्कृति, धार्मिक, परम्परागत मान्यतामा रहेका वातावरणमैत्री विषयहरूलाई पनि विश्वव्यापी बनाऔँ । 

अध्ययनका प्रतिवेदन अनुसार ‘विश्वभरिमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिक उत्पादन हुन्छ, जसमध्ये ५० प्रतिशत प्लास्टिक त केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ ।’ यसरी हामीले दिनदिनै प्रयोग प्लास्टिक र यसको प्रदूषणले संसारलाई आक्रान्त पारिरहेको छ । त्यसैले यस वर्षको नाराले हामी सबैलाई सचेत बनाएको छ ।  कुनै पनि अन्तर्राष्ट्रिय दिवस मनाउँदै गर्दा हाम्रो संविधान, नीति, कानुनमा उल्लेख भएका विषयमा पनि ध्यान दिनुपर्दछ । केही छैन भन्ने मानसिकता त्याग्नु पर्दछ र सबै कुरा भएको छ भन्ने दम्भ पाल्नु पनि हुँदैन । भएकोलाई कार्यान्वयन गर्नु पर्दछ । जानिएको छैन भने संसारका जोसुकैबाट सिक्न सकिन्छ । सबै कुरा अरुले भनेपछि मात्र गर्ने, आफ्ना  विषय छोड्दै जाने गर्नु हुँदैन । 

 

नेपालमा वातावरण संरक्षण सम्बन्धी व्यवस्था नरहेको होइन । नेपाली पात्रोका लागि सुयोग ढकालले तयार पार्नु भएको लेखमा भनिएको छ, ‘जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर—मैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न वाञ्छनीय भएकोले नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ भने ०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ । नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुन बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ । तर, अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरूक हुन आवश्यक छ । वस्तुतः प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । योबाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचार—प्रसार गर्न उत्तिकै जरुरी देखिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔँ । काठ हैन रुखलाई माया गर्न सिकाऔँ । रुख रोप्न अनि पानीका श्रोतलाई माया गर्न सिकाऔँ ।
कागज र कम्प्युटर हैन वास्तविकतामै जनावर र जङ्गल देख्ने अवस्था रहोस् । मानिस लगायत अन्य जनावर अनि उनीहरूसँगको सहअस्तित्व सबैलाई ज्ञात होस् । घडेरी र खेत दुवै महत्वपूर्ण छन् । जीवन र प्रकृति बिचको सम्बन्ध सबैले बुझौँ ।’

 

शुक्ल यजुर्वेदको यो अर्थपूर्ण मन्त्र स्मरण गरौँ । यसका अन्तर्वस्तु पहिल्याएर वातावरण जोगाउन लागौँ, ‘आपो अस्मान्मातरः शुन्धयन्तु घृतेन नो घृतप्वः पुनन्तु । विश्वंगूँ हिरिप्प्रम्प्रवहन्ति देवीरुदिदाभ्यः शुचिरा पूत एमि । दीक्षातपसोस्तनूरसि तां त्वा शिवागूँ शग्मां परिदधे भद्रं वर्णं पुष्यन् अर्थात् आमजस्तै स्याहार गर्ने जलले हामीलाई पवित्र बनाओस् । घिउका रूपमा रहेका जलले अशुद्धता निवारण गरोस् । तेजयुक्त यस जलको दिव्यताका दिव्य स्रोतले सबै पाप शोधन गरोस् । जलले शुद्ध र पवित्र बनेर हामी उँभो लाग्न सकौँ ।’