images
images

धनको र मनको कुरा बुझ्न गाह्रो हुन्छ !

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ११, मजुवा बसोवास भएकी माया मगर प्रत्येक महिनाको सुरूदेखि १० गतेसम्म किस्ताको काममा व्यस्त हुन्छिन् । उनी कतै वचत, तथा ऋण लिएको ऋणको किस्ता अनि ब्याजको जोहो गर्नका लागि दौडधुप गरिरहन्छिन् । प्रत्येक महिनाको १० गतेसम्म उनको क्रियाशीलता र तनाव यसैमा रहन्छ । १० गतेपछि त्यस्तो तनावबाट मुक्ति पाएको महसुस गर्छिन् । उनले आफ्नै गाउँ तथा टोलमा दिदी—बहिनी भेला भएर खेलिने समुहमा किस्ता खेल्ने गरेकी छिन् । उनका अनुसार यस्तो समुहबाट ऋण काड्न बैंक तथा सहकारीमा जस्तो धितो वा जमानत राख्नुपर्ने झन्झट् हुँदैन । आपसी सरसल्लाह र समझदारीमा सजिलै ऋण पाइन्छ । 


विगत लामो समयदेखि बुटवलका टोल तथा बस्तीहरूमा विभिन्न समुह बनाएर मासिक शुल्क उठाई ऋण दिने खालका किस्ता खेलिने समुहहरू बढ्दो छ । ढुकुटी, आमा समूह, महिला समूह तथा विविध जातीय समाज लगायत अन्य थुप्रै समुह गठन गरी वचत सङ्कलन र ऋण लगानी भइरहेको छ । समुहका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष आदि जस्ता पदाधिकारी चुनिरहनु पर्दैन । एकजनाले खाता सम्हाले पुग्छ । ४० देखि १०० जना सम्मको सङ्ख्यामा किस्ता खेलिने समुहमा ऋण लिएपछि प्रत्येक महिना २० प्रतिशतका दरले ब्याज बुझाउनु पर्दछ । ३ महिना पुगेपछि पूरा ऋण चुक्ता गर्नु पर्ने हुन्छ । यसरी पुरानो ऋण चुक्ता गरिसकेपछि फेरि ऋण लिन पाइन्छ । अवस्था र  सङ्कलनका आधारमा एक जना सदस्यले एक लाखभन्दा बढी ऋण लिन सक्दछन् । समूह गठन गरेपछि एक वर्षे वा २ वर्षे अवधि राखिन्छ । 


यसरी पूर्वनिर्धारित अवधिमा ऋण लिनेहरूले ऋण चुक्ता गर्नुपर्ने हुन्छ । हिसाब गरेर सबैलाई आफ्नो बचत र ब्याजबाट नाफा भएको पैसा सबैमा भाग लगाइन्छ । मासिक बचत गर्नाले घरखर्च र धेरै कामको गर्जो टार्न सहज हुन सक्छ । विश्वासका आधारमा खेलिएका किस्ता समुहमा जो कोही आबद्ध हुन सक्छन् । कोही कसैको जिम्मेवार हुन पर्दैन । सबैले सदस्यले आफ्नो मात्र जिम्मा लिए पुग्छ। 
महिनाको कुनै बार वा दिन समूहको नियमित बैठक बस्दछ  । खाता सम्हाल्ने व्यक्तिले बचत र ब्याज दिनु पर्नेहरूको नाम बताउँछन् । उपस्थित जो कोहीले पैसा सङ्कलन गर्न सक्दछन् । मासिक बचत र ब्याज उठाएपछि ऋण लानेहरूको नाम लेखिन्छ । ऋण माग गरेका सबैलाई बराबर भाग लगाइन्छ । कसैलाई बढी समस्या परेको खण्डमा सम्झदारीमा बढी ऋण दिन पनि सकिन्छ ।
किस्ता खेलिने समुहका असलभन्दा खराब प्रवृत्ति धेरै बढ्दै गइरहेको पाइन्छ । यस्ता अनाधिकृत समुहले गर्दा समुहमा ऋण लिने व्यक्ति कहिल्यै ऋणमुक्त हुन सक्दैन । महिनैपिच्छे ऋण लिएपछि निश्चित अवधिसम्म आइपुग्दा बचतभन्दा बढी ऋण पुगेको हुन्छ ।  ऋण तिर्न अर्काे समुहबाट ऋण लिनुपर्ने बाध्यकारी अवस्था सिर्जना हुन्छ । एकपछि अर्काे ऋण तिर्नुपर्दा ब्याजको स्याज तिर्नु परिरहेको हुन्छ। घर सल्लाहविना ऋण निकाल्नेहरूको सङ्ख्या धेरै हुन्छन् । ऋण तिर्न नसकेपछि समुहमा ऋणीहरू आउन छाड्छन् । त्यसपछि समुहका सबै सदस्यहरू भेला भएर ऋणीको घरमा जानुपर्ने बाध्यता आउँछ । जसले गर्दा ऋणीको घरबार बिग्रन जान्छ । समुहबाट ऋण लिएर तिर्न नसकेपछि समाजमा बेइज्जत हुनुको साथै घरबार बिग्रेका उदाहरण पनि थुप्रै छन् । केही महिना अघि बुटवल उपमहानगरपालिका वडा नं–११, बुद्धनगरकी सुमिना कार्की (परिवर्तित नाम) ले एउटा महिला समुहबाट ऋण लिएकी रहिछन् । उनले लिएको ऋण तोकिएको अवधिमा नतिरेपछि महिला समुहले उनकै घरमा ऋण लगेको खबर पुर्याउँदा श्रीमानले थाहा पाएर बेस्सरी कुटपिट गरेछन् । सोही कारण उनीहरूको छोडपत्र हुन पुग्यो। आपसी सम्बन्ध त बिग्रियो नै । पैसा नउठेपछि अन्य सदस्यहरूले घाटा पनि बेहोर्नुपर्यो । आफुखुसी समझदारीमा खोलिएको समुहबाट ऋण लिएर नतिरेपछि प्रहरीमा उजुरी नलाग्ने रहेछ ।

 
त्यस्तै अर्को घटना छ, बिना नेपाली (परिवर्तित नाम) ले समुहबाट ऋण निकालेर जुवातास खेलेर पैसा खर्च गरिछन् । आम्दानीको बाटो नभएपछि उनले ऋण तिर्न सकिनन् । ऋण उठाउन जाँदा, ‘खाएर भागेको छैन । एकदिन त दिइहाल्छु’ भन्ने रहिछन् । तर, न त उनलाई उजुरी गर्न मिल्छ न त पिट्न नै हुने । कानुनी वैधानिकता प्राप्त नगरी बनाइएका समुहमा गरिने लेनदेनले यस्तो समस्या पनि पर्ने गर्दछ । 


समुहमा जसरी पनि तोकिएको अवधिमा ऋण चुक्ता गर्नुपर्ने भएपछि समाजमा बेइज्जत र घरबार बिग्रने डरले एउटा समुहबाट लिएको ऋण तिर्न अर्को समुहबाट ऋण लिनुपर्ने अवस्थाले गर्दा धेरैवटा समुहहरूबाट ऋण लिनेहरूको सङ्ख्या बढ्दो छ । ऋण मुक्त हुन त्यति सजिलो हँुदैन । ऋण लिनेहरू बाध्य भएर धेरैवटा समुहमा आबद्ध हुन पुग्छन्, पुगेका छन् । कोरोनाले व्यापार व्यवसाय ठप्प भएसँगै विभिन्न किस्ता खेलिने समुहहरू बढिरहेका छन् । ऋण नतिरेर भाग्नेहरूका कारण समुहका सदस्यहरूले सास्ती भोग्नु परिरहेको छ । यस्ता क्रियाकलापहरू न चाहेर सजिलै रोक्न सकिन्छ न त यसको कुनै तत्कालीन समाधान नै छ । त्यसैले, किस्ता खेल्ने दाजु—भाइ दिदी—बहिनीहरूले ऋण लिएपछि त्यसको सही सदुपयोग गर्नाले आफैलाई सहज हुन सक्दछ । किस्ता खेलाउनेहरूले सचेत भएर व्यक्तिहरूको विवरण हेरेर मात्रै समूह बनाएमा र ऋण लैजानेहरूले किन, केका लागि माग गरेका छन् ? ती सबै बुझेर ऋण प्रवाह गरेमा विकृतिहरू रोकिने छन् । अहिलेको बिग्रँदो आर्थिक अवस्थालाई मध्यनजर गरी समुहमा ऋण लगानी गरेमा सबैलाई केही हदसम्म सजिलो हुनेछ ।


सकेसम्म यस्ता अवैधानिक समुहहरूमा सहभागी हुनुभन्दा दर्तावाल वा आधिकारिक संघ—संस्थामा आबद्ध भएर आर्थिक क्रियाकलाप गर्नु कैयौँ गुणा हितकर हुनेछ । तर, के गर्नु ? मनको कुरा र धनको अवस्था बुझ्न पक्कै पनि सजिलै सकिँदैन । ऋण लिनु गलत होइन, तर ऋण भनेको अर्काको धन हो । आफू समेत रहेको समुहबाट ऋण लिँदा पनि त्यसमा अरुको धन मिसिएकै हुन्छ । लिएको ऋणलाई थप उपार्जन हुने ठाउँमा खर्च गर्न सके सबैभन्दा राम्रो हुन्छ ।