images
images

नयाँ वर्षको सन्देश — मौका आउँछ, पर्खंदैन !!

नेपाली समाजमा एउटा उखान प्रसिद्ध छ, ‘मौका आउँछ, पर्खंदैन; बगेको खोला फर्कंदैन ।’ उखानको आसय प्रष्ट छ । मानिसका जीवनमा अनेकौँ अवसरहरू आउँछन् । यस्ता अवसरहरू अनेकौँ रूपमा आउँछन् । कहिले जन्म दिनका रूपमा, कहिले नयाँ वर्षका रूपमा । अरु अरु रूपमा पनि अवसरहरू आइरहन्छन् । तर, यस्ता अवसरहरूले मानिसलाई पर्खेर बस्दैनन् । मानिसले नै अवसरहरूलाई सदुपयोग गर्नुपर्छ । 

 

भर्खरै विक्रमीको नयाँवर्ष प्रारम्भ भएको छ । यो नयाँवर्ष २०८० बनेर उपस्थित भएको छ । २०७९ का उपलब्धिहरूको पहिचान गर्ने, तिनीहरूलाई निरन्तर सदुपयोग गरिरहने, नयाँ उपलब्धिहरू हासिल गर्न नयाँ योजनाहरूको रूपरेखा तयार पार्ने आदि कामहरू नै नयाँवर्षले हामीलाई डोहो¥याउने विषय तथा क्षेत्र हुन् ।  हाम्रो नयाँवर्षको प्रारम्भ वैशाख १ गते प्रारम्भ हुन्छ । यो मौसम परिवर्तनको समेत दिन हो । चैतको हुर्हुरे हावाले शुष्क पारेका वनस्पतिमा नयाँ पालुवा पलाउने, वन्य पङ्क्षीहरू गृह(गुँड) बनाउन र गृहस्थीको प्रारम्भ गर्ने, मानिसहरूले पनि उमेर पुगेका नर—नारीका बीचमा दाम्पत्य सम्बन्धका लागि विवाह हुने वर्षको पहिलो महिनाको पहिलो दिन हुने आदि अनेकौँ प्राकृतिक, साँस्कृतिक र पारम्परिक महत्वका हिसाबले पनि हामीले मनाउँदै आएको नयाँ वर्षको अहम् स्थान रहेको छ । 

 

ज्योतिषीय हिसाबले हेर्दा पनि यो महिना र यसको प्रारम्भको यो दिन विशिष्ट प्रभाव राख्ने दिन हो । सूर्यको गतिका हिसाबले प्रथम राशी—मेष राशिमा र चन्द्रमाका विशाखा नक्षत्रमा पूर्णिमा पर्ने गरी परिक्रमा गरिरहने हुनाले मेष सङ्क्रान्ति—वैशाख सङ्क्रान्तिका रूपमा यो दिन प्रारम्भ हुने गर्दछ । ज्योतिविज्ञानका हिसाबले यो दिन अत्यन्त महत्वको दिन हो । यस दिनलाई हामीले ज्योतिष जानेर र त्यसको प्रभाव जानेर होइन, समयको एउटा उचित तथा निश्चित नापोको रूपमा मनाउँदै आएका छौँ, तथापि यसलाई हामीले आफू शुभकाममा समर्पित हुने र अरुलाई शुभकामना दिने उत्सवका रूपमा मनाउँदै आइरहेका छौँ । 

 

वास्तवमा सेकेण्ड, मिनेट, घण्टा, प्रहर, दिन, रात, साता, पक्ष, मास(महिना), वर्षका रूपमा विभाजित समयका हरेक भाग वा अंशलाई सदुपयोग गर्ने सुविधाका लागि यी विभाजनहरू महत्वपूर्ण रहेका छन् । यी विभाजनले हाम्रो जीवनका हरेक कालखण्डलाई स्पर्श गरेका हुन्छन् । हामीले पनि यी सबैलाई स्पर्श गरेकै हुन्छौँ । हरेक पल एउटालाई विदाई र अर्कोलाई स्वागत गरिरहेका हुन्छौँ ।  सेकेण्ड, मिनेट, घण्टा, प्रहर, दिन, रात, साता, पक्ष, महिना, वर्ष जेसुकैमा गणना गरिए तापनि यी सबै हाम्रो जीवनका अंश हुन् । जीवनलाई सफल, सुखी, समृद्ध बनाउन चाहने हरेकले यी समयको हेक्का राख्नै पर्ने हुन्छ । यसको बेवास्ता गर्नु भनेको जीवनप्रतिको बेवास्ता हो । 

 

अनलाइन बहस नेपाली समाजको हितका लागि समाचारको माध्यमबाट अघि बढिरहेको एउटा महत्वपूर्ण सञ्चार माध्यम हो । यद्यपि यो जति अघि बढ्नुपर्ने हो, त्यति नबढेको होला तर हामीले अवलम्बन गरेको बाटो नेपाली समाजको सकारात्मक रूपान्तरणमा सक्दो सहयोग पु¥याउनु नै हो । यस काममा हामी एक्लो छैनौँ, यसमा आइसिए (ICA), आइआइक्युए (IIQA) र हामीसँग सहकार्यमा रहनुहुने सबैलाई हार्दिक धन्यवाद दिन्छौँ र भविष्यमा पनि यस प्रकारको सहयोग तथा सहकार्यको अपेक्षा राख्दछौँ ।  

 

नयाँ वर्ष हामीले विगत वर्षभरि गरेका वा हामीबाट हुन बाँकी रहेका कामहरूको समीक्षा गरी नयाँ र सार्थक ढङ्गले अघि बढ्ने सङ्कल्प लिने शुभ अवसर हो । समय खोला जस्तै हो, बगिसकेपछि पुनः फर्कंदैन । नयाँवर्ष ः नयाँ सङ्कल्प, नयाँ योजना वा योजनाको नवीकरण, नयाँ उत्साहको अवसर हो । यसलाई सदुपयोग गर्न सकौँ । नयाँवर्षको शुभकामना !!