images
images

मेरी सानी नातिनी सान्भी !

- १ असोज, काठमाडौँ:

चक-चक गर्छिन् , झगड़ा गर्छिन 
नाच् गान् गर्न मन पराउँछिन
खेलौना औ नाना-चाचा 
रोजी- रोजी हैरान पार्छिन 


स्कूलबाट आउनासाथ
गृह कार्य गर्न रमाउँछिन
मलाई उनले हरेक साँझ
लोक कथाहरू भन्न लगाउँछिन


हजूर आमालाई उनले   —
“आमा ! “  भनी बोलाउँदछिन ।
आफ्नै आमालाई उनले
मामु भन्छिन् माया गर्छिन ।


मलाई बुवा भन्छिन् उनले
हजूर बुवा भन्लिन् कहिले ?
जहिलेसुकै मन पुलकित हुन्छ -
उनको मीठो बोली-बचनले ।


 पुस्तान्तरको प्रभाव हो कि
बोली- भाषा परिवर्तित भो
या त आफ्नै बेहोशीले हो ,
मौलिकतामा आँच पुगेको  ?


हुन् कि ममताकी यी खानी
सानै भए पनि छन् कति ज्ञानी
घुम्न-फिर्न  खेल खेल्न
सँगी साथी-भाई भेट्न -


मन अति गर्ने , जिद्दी गर्ने
बाललिलाले मन यो हर्ने
हाम्री नातिनी , प्यारी सान्भी
साथी हुन् मन बहलाइदिने ।