असार १४ गते नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको जन्मजयन्ती हो । पछिल्लो पुस्ताले मदन भण्डारीको नाम सुने पनि उहाँको प्रत्यक्ष योगदानका क्षेत्रबारे कमै मात्र थाहा पाएका होलान् । कम्युनिष्ट राजनीतिमा लागेकाहरूले भने मदन भण्डारीलाई नजान्ने कुरै भएन । मदन भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको थियो । २०५० जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा परी उहाँको देहावसान भएको हो । ४१ व्र्षको युवा उमेरमा नै उहाँ नेपाली राजनीति, नेपालको कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित भइसक्नुभएको थियो ।
अनेकौँ समुहमा बाँडिएको वामपन्थी शक्ति र वामपन्थी शक्तिलाई अस्वीकार गर्ने—विश्वास नगर्ने नेपाली काँग्रेस सहकार्यमा सहमत भएपछि मात्र २०४६ सालको जनआन्दोलनले सफलता प्राप्त गरेको विषय आज पनि घाम जत्तिकै छर्लंग छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कामरेड पुष्पलालले कम्युनिष्ट—काँग्रेस सहकार्य गरी संयुक्त जनआन्दोलन गर्नुपर्ने विचारमा आजीवन दृढ रहनुभयो । तर, वहाँको जीवन कालमा त्यो विचारले सफलता प्राप्त गर्न सकेन । जब तत्कालीन नेकपा मालेको नेतृत्वमा जननेता मदन भण्डारी आउनुभयो, पुष्पलालको विचारले सार्थकता प्राप्त गरेको तथ्य सर्वविदित नै छ ।
धेरै समुहमा विभक्त वामपन्थी पार्टीहरूको संयुक्त मोर्चा बनाएर जननेता मदन भण्डारीले काँग्रेसलाई संयुक्त जनआन्दोलनमा ल्याउने सार्थक पहल गर्नुभयो र २०१७ सालमा राजाद्वारा खोसिएको बहुदलीय व्यवस्था २०४७ सालमा पुनःस्थापना भयो । त्यसरी स्थापित भएको बहुदलीय व्यवस्थाको संविधानका २७ वटा बुँदामा असहतिका वाबजुद संविधानलाई स्वीकार गरेर पुनःस्थापित बहुदलीय व्यवस्थाको सबलीकरण र त्यसको माध्यमबाट मुलुकको सामाजिक, आर्थिक, राजनीतिक विकासमा अघि बढ्न जननेता मदन भण्डारीको दृढ र दूरदर्शी राजनीतिक दृष्टिकोणको महत्वपूर्ण भूमिका रह्यो । गणतन्त्र नेपालको संविवधानमा तिनै असहमतिको सम्बोधन गरिएको छ ।
२०५० सालमा जननेताको असमयमै भएको दुःखद अवसानसँगै नेपालको राजनीतिमा अस्थिरताका बादलहरू मडारिन थाले । यसको समाधानको सपना देखिरहेका हामीहरू यतिबेला जननेता मदन भण्डारीलाई असीम श्रद्धाकासाथ स्मरण गरिरहेका छौँ । उहाँको अल्पायुमै अवसान नभएको भए आज उहाँ ७१ वर्षको परिपक्व राजनेताका रूपमा हामीमाझ हुनुहुने थियो । जननेता मदन भण्डारी भन्ने गर्नुहुन्थ्यो, ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।’ जननेतालाई सम्झनु भनेको उहाँका विचारलाई व्यवहामा अवलम्बन गर्नु हो । जननेताको भौतिक अवसानपछि २०५६ सालमा उहाँको राजनीतिक विचार, दृष्टिकोण, उहाँको राजनीतिक व्यक्तित्वलाई सम्झना र अवलम्बन गरिरहन स्थापित भएको मदन भण्डारी फाउण्डेशन यथाशक्य लागिपरेको छ । यस सन्दर्भमा फाउण्डेशनले शैक्षिक, वैचारिक, स्वास्थ्य, वातावरण संरक्षण तथा सचेतना, अन्तर्राष्ट्रिय सम्बन्ध, समावेशिता र सुशासन आदि क्षेत्रमा क्रियाकलापहरू गर्दैआइरहेको छ ।
प्रत्येक वर्ष असार १४ गते उहाँको जन्मजयन्ती मनाइँदैआएको छ । यस वर्ष पनि मदन जयन्तीको अवसरमा उहाँले प्रतिपादन गर्नुभएको राजनीतिक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)का आयाम तथा विशेषताहरू’ विषयमा विचार गोष्ठी गरी मदन जयन्ती मनाइँदै छ । विचार गोष्ठीको आयोजना मदन भण्डारी फाउण्डेशनले गर्दैछ । मदन भण्डारी फाउण्डेशनको स्थापना २०५६ सालमा भएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व मदन भण्डारी नवीन विचारक तथा उन्नत राजनीतिक संस्कृतिका प्रणेता हुनुहुन्थ्यो । सिद्धान्तनिष्ठ राजनीतिज्ञ तथा राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र जनजीविकाका प्रबल पक्षधर रहनुभएका मदन भण्डारीलाई ‘जननेता’को सम्मान प्राप्त छ । मदन भण्डारी फाउण्डेशन जननेता मदन भण्डारीका राजनैतिक योगदान, सोच, विचारहरूको संरक्षण एवं तिनको व्याख्या विश्लेषण र विकास गर्न सामाजिक रूपान्तरण, लोकतन्त्र र राष्ट्रियताका लागि उहाँले दिनुभएको योगदानलाई चिरस्थायी बनाइराख्ने दिशामा क्रियाशील रहँदैआएको छ । जननेताको काम र अनुभवबाट भावी पुस्तालाई प्रशिक्षित गर्न तथा उहाँका विविध विचार र आयामहरूको अध्ययन अनुसन्धान र खोज गरी नेपाली समाजको आमूल रूपान्तरणमा ठोस योगदान पुऱ्याउन मदन भण्डारी फाउण्डेशन सक्रिय रहँदैआएको छ ।
मदन भण्डारी फाउण्डेशनले आफ्ना उद्देश्यअनुरूपका कामलाई अघि बढाउने सन्दर्भमा विचारगोष्ठी, रक्तदान, खेलकुद, वृक्षारोपण, स्वास्थ्य शिविर सञ्चालन, वृद्ध, अशक्त र बिरामीहरूलाई सहयोग वितरण आदि सेवामुखी काम गर्दैआएको छ । यसका साथै ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता मदन भण्डारीका योगदानको स्मरण गर्दै, उहांको व्यक्तित्वलाई सम्मान गर्न र वहाँको विचार र मार्गदर्शनलाई जीवन्त बनाइराख्न सामाजिक, आर्थिक, राजनीतिक तथा सामाजिक रूपान्तरण लगायतका क्षेत्रमा महत्वपूर्ण काम गर्नुभएका व्यक्तित्वहरूलाई सामाजिक पहिचान र राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्न २०६८ सालदेखि प्रत्येक वर्ष मदन भण्डारी राष्ट्रिय पुरस्कार र २०७८ देखि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै समाज रूपान्तरण र विकासमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुहुने व्यक्ति वा संस्थालाई मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुुरस्कार प्रदान गर्दै आएको छ ।’
मदन भण्डारी फाउण्डेशनले आफ्ना कामकारबाहीलाई व्यवस्थित र पारदर्शी ढंगले अघि बढाउँदैआएको छ । खास गरी राष्ट्रिय पुरस्कारहरूका सन्दर्भमा फाउण्डेशन अत्यन्त सम्वेदनशील र गम्भीर रहँदैआएको छ । यस सन्दर्भमा सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यस वर्ष पनि उक्त दुई पुरस्कारहरू प्रदान गर्ने यस संस्थाको निर्णयका आधारमा आवश्यक मापदण्डहरू तय गरी पुरस्कारका दुईवटा क्षेत्र चिकित्सा सेवा र खेलकुदको क्षेत्र तय गरिएको थियो । उक्त दुई क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई सहभागि गराउन सार्वजनिक सूचना मार्फत आवेदन आव्हान गरिनुका साथै सम्बन्धित क्षेत्रका संघ—संस्थाहरूलाई उपयुक्त व्यक्ति सिफारिस गनका लागि पत्राचार समेत गरिएको थियो । आएका आवेदनहरू उपर छानबिन गरेर निर्णय गर्न गठित विज्ञहरूको स्वतन्त्र छनोट समितिले छलफल, विश्लेषण र गरेको निर्णयका आधारमा माथि उल्लेखित क्षेत्रहरूमा योगदान दिने व्यक्तित्वहरूलाई यस वर्षको पुरस्कार प्रदान गरिने निर्णय गरिएको हो ।’
फाउण्डेशनको विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त निर्णय अनुसार यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार विगत ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही, देशका दुर्गम स्थानका गरिब, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय विशेषतःमातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम,दूर्गम जिल्लाहरूमा टेलिमेडिसिन सेवा, असहायहरूका लागि हाडजोर्नी र अपाङ्गता सम्बन्धि उपचारकासाथै स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय औषधि तथा स्वास्थ्य सामाग्रीहरू नियमित आपूर्ति गर्न बहुवर्षीय खरिद प्रणालीको शुरुआत लगायत स्वास्थ्य सेवाको निरन्तरता र दिगोपनाका लागि स्वास्थ्य सेवा प्रणालीको संस्थागत विकास तथा विस्तारमा महत्वपूर्ण नेतृत्व र विशेष भूमिका निर्वाह गर्नु भएका सोलुदूधकुण्ड नगरपालिका–४, फाप्लु, सोलुखुम्बु निवासी श्री डा.मिङमार गेल्जेन शेर्पालाई प्रदान गर्ने निर्णय गरिएको छ ।’
गतवर्षदेखि प्रदान गर्न प्रारम्भ गरिएको पुरस्कारबारे भनिएको छ, ‘यस वर्षको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुुरस्कार विगत ३१ वर्षदेखि खेलकुद विकासको विविध विधा र क्षेत्रमा संलग्न रही, कठीन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बावजुद, आफ्नै प्रयत्नका आधारमा खेलप्रति लगनशील र निरन्तर समर्पित रहेर समाजमा विद्यमान खेलप्रतिको बुझाइ र महिला खेलाडीहरूप्रतिको दृष्टिकोण परिवर्तन गर्न स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सफलताको मानकहरू कायम गरी नयाँ पिँढीलाई पे्ररणाको स्रोतको रूपमा पहिचान बनाउँदै विभिन्न खेल गतिविधिहरूमा नियमित र निरन्तर संलग्न रहँदै सम्बन्धित खेल क्षेत्र, लिङ्गीय विभेद विरुद्ध महिला आत्मसुरक्षा तथा आत्मानुशासन क्षेत्रको ज्ञान सीपको प्रचार एवं कौशल हस्तान्तरण गरी राष्ट्रिय र अन्तर्रााष्ट्रय स्तरका खेलाडिहरूको नयाँ पुस्ता तयार गर्ने कार्यमा हालसम्म पनि निरन्तर योगदान पुऱ्याउँदै खेलकुद क्षेत्रको संस्थागत विकास तथा विस्तारमा महत्वपूर्ण नेतृत्व र विशेष भूमिका निर्वाह गर्ने कार्यमा उत्कृष्ट नमूना प्रस्तुत गर्न सफल महिला व्यक्तित्व हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुर निवासी श्री निरु कुमारी मगरलाई प्रदान गर्ने निर्णय गरिएको छ ।’ मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले प्रेस विज्ञप्ति जारी गरेर पुरस्कृत हुनुहुने व्यक्तित्वहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ । अध्यक्ष पाण्डेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूलाई सम्मान गर्न पाएकोमा मदन भण्डारी फाउण्डेशन गौरवान्वित भएको छ । उहाँहरू दुवै जनालाई फाउण्डेशनको तर्फबाट हार्दिक बधाई एवम् सफल भविष्यको शुभकामना व्यक्त गर्न चाहन्छौँ । सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार तथा कृतज्ञता समेत व्यक्त गर्न चाहन्छौँ ।’
जननेतालाई स्मरण्ण गर्नु भनेको उहाँका योगदानहरूको सम्मान गर्नु हो । सुसंस्कृत राजनीतिका लागि मदन भण्डारीका विचार र व्यवहार अनुसरण गर्नु आजको आजको आवश्यकता हो ।
(कोइराला मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ ।)