काठमाडौं, चैत १६
कवि तथा सामाजिक अभियन्ता हिमलाल ज्ञवालीको दोस्रो वार्षिक पुण्य तिथि सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा बुधबार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो । कृति विमोचन, कविता वाचनसहित श्रद्धा व्यक्त गर्न जुटेका सहभागीहरूले कवि ज्ञवालीका कामको अनुकरण नै उहाँप्रति साँचो श्रद्धाञ्जली हुने बताउनुभएको छ । उहाँलाई चिनेजानेकाहरूबाट स्व. ज्ञवाली अथक वाङ्मयसेवी, सामाजिक योद्धा र कर्मवीर भनेर चिनाइयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले हिमलाल ज्ञवाली साहित्य, राजनीति, समाज सेवा, शिक्षा, नेपाली भाषा, धर्म, संस्कृति र विकासका क्षेत्रमा सक्रिय व्यक्तित्व रहनुभएको चर्चा गर्नुभयो । यस अवसरमा उहाँ कीर्तिशेष प्रा.डा. विष्णुराज आत्रेय ‘लाटो साथी’ र कीर्तिशेष हिमलाल ज्ञवालीको सक्रिय पहल कदमीमा कपिलवस्तुमा साहित्य तीर्थ स्थापना भएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘आज हिमलाल ज्ञवाली र लाटो साथी कीर्तिशेष भइसक्नुभएको छ, उहाँहरू भौतिक रूपमा हामीसँग हुनुहुन्न, तर आकार ग्रहण गरिसकेका उहाँहरूका कार्य हाम्रा अगाडि छन् । यस्तो कार्यलाई अझ अघि बढाउँदै नेपाली वाङ्मयको विकासमा सहभागी हुनु हाम्रो दायित्व हो र यो नै साँचो श्रद्धाञ्जली पनि हुनेछ । साहित्य तीर्थमा उहाँहरूका शालिक स्थापना गर्नुपर्छ ।’
वि.स. २००५ माघ १ गते गुल्मीको रुरुमा जन्मनुभएका ज्ञवाली नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा जीवनभरि समर्पित रहनुभयो । उहाँ पत्रकारिता, लेखन, समाज सेवा, शैक्षिक उन्नयनका क्षेत्रमा सक्रिय रहँदारहँदै वि.स.२०७७ चैत १५ गते दिवंगत हुनुभयो । उहाँकै पहल, प्रयत्न, समन्वय र सक्रियतामा तत्कालीन लुम्बिनी अञ्चललाई समेटेर लुम्बिनी वाङ्मय प्रतिष्ठान स्थापना भएको हो । उहाँ नै यस संथाको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो र उहाँकै जीवनकालमा लुम्बिनी वाङ्मय प्रतिष्ठानको क्षेत्र विस्तार भई लुबिनी
प्रदेश भरिका (तत्कालीन लुम्बिनी, राप्ती र भेरी अञ्चल) वाङ्मय क्षेत्रमा काम गर्ने तीन वटा संस्था संस्थाहरूलाई एकीकृत गरी लुम्बिनी वाङ्मय प्रतिष्ठानलाई विस्तृत तथा सबल पारिएको हो । स्व. हिमलाल ज्ञवालीकै कार्यकालमा कपिलवस्तुको कपिलधाममा साहित्य तीर्थ स्थापना भई नेपाली भाषा, साहित्य, कला, संस्कृति क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूको शालिक निर्माण गर्ने काम सुरू भएको हो ।
कार्यक्रममा दिवंगत ज्ञवालीले आफ्नो जीवनकालमा लेख्नुभएको कविताहरूको सङ्ग्रह ‘हिमलाल ज्ञवालीका कविता’को विमोचन, कविता वाचन गरी उहाँलाई सश्रद्धा सम्झना गरिएको थियो ।
यस अवसरमा कविता सङ्ग्रहका सङ्कलक—सम्पादक प्रा.डा.हिरण्यलाल ज्ञवाली, प्रकाशित कृतिका समीक्षक अर्जन ज्ञवाली, योग तथा स्वास्थ क्षेत्रमा क्रियाशील संस्था भिराडिल योग साधना केन्द्रलाई सम्मान गरिएको थियो । स्व.हिमलाल ज्ञवालीको सम्झना र सम्मानमा गतवर्ष प्रथम वार्षिक पुण्य तिथिमा स्मृतिग्रन्थ प्रकाशन गरी लोकार्पण गरिएको थियो । यसअघि स्व. हिमलाल ज्ञवालीका ‘आप्mनै देश, आफ्नै परिवेश’ (कविता सङ्ग्रह २०७३), ‘समय समयका कुरा’ (कविता सङ्ग्रह २०७७) प्रकाशित छन् ।
हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठानका अध्यक्ष सिर्जना ज्ञवालीको अध्यक्षतमा सम्पन्न सो कार्यक्रममा साहित्यकार, लेखक, सांस्कृतिक अभियन्ता, समीक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रका सबै वक्ताहरूले दिवंगत हिमलाल ज्ञवालीको बहुआयामिक व्यक्तित्व, उहाँले गर्नुभएका कार्यहरू एवं उहाँको राष्ट्रभक्तिको खुलेर प्रशंसा गर्नुभएको थियो । कार्यक्रम सञ्चालन साहित्यकार यादव भट्टराईले गर्नुभएको थियो ।
हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठानका अध्यक्ष सिर्जना ज्ञवालीले प्रतिष्ठानको कार्य सफल पार्न योगदान गर्नुहुने सबैलाई धन्यवाद दिँदै सबैको साथसहयोगमा यो प्रतिष्ठान नेपाली भाषा, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा योगदान गर्नुहुने व्यक्तित्वहरूलाई प्रतिष्ठानसँग जोड्दै अघि बढ्ने बताउनु भयो ।