झापा । पूर्व प्रधानमन्त्री तथा हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने र शान्ति सुरक्षामा खटिएका प्रहरीमाथि ढुङ्गा प्रहार भएको छ । बुधबार अध्यक्ष ओली झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजार पुग्नुहुँदा यस्तो घटना भएको हो ।
घटना अभद्र, दुःखद र निन्दनीय रहेको भन्दै नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । पहिचानवादीका नाममा भएको यस प्रकारको उच्छृङ्खल व्यवहार सामाजिक सद्भाव खल्बल्याउने निन्दनीय व्यवहार भएको बताउनु भएको छ । उहाँले प्रेस विज्ञप्तिमा भन्नुभएको छ, ‘पहिचानवादीको ब्यानरमा आज गरिएको अभद्र ब्यवहार खेदजन्य घटना हो । प्रदेश नम्बर १ लाई यहाँ निर्वाचित प्रदेशसभा सदस्यहरुको ९० प्रतिशतभन्दा बढीको समर्थनमा ‘कोशी प्रदेश’ नामाकरण गरिएको भन्ने कुरालाई चटक्कै बिर्सिएर सम्माननीय पूर्व प्रधानमन्त्रीमाथि अभद्र ब्यवहार गर्नु निन्दनीय छ । हाम्रो पार्टी पहिचानवादीका नाममा गरिने यसप्रकारका अलोकतान्त्रिक र असभ्य चरित्रको घोर भत्सर्ना गर्दछ ।’
प्रदेशको नामकरणका सन्दर्भमा कसैको विमति—असहमति हुन सक्दछ, तर त्यसका नाममा पूर्वप्रधानमन्त्रीप्रति हुलहुज्जत गर्नु अलोकतान्त्रिक चरित्र भएको भन्दै प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘कोशी नाममा यस प्रदेशका सबै जातजातिको पहिचान अटाएको छ । धेरै जातजाति र पहिचान भएको ठाउँमा एकल जातीय
पहिचानलाई समेट्नु भन्नु आफैंमा असान्दर्भिक तर्क हो । एकल पहिचान खोजेर राष्ट्रिय एकतालाई खल्बलाउनु उचित हुँदैन । अझ प्रदेशको नाम संविधान बमोजिम जननिर्वाचित संसदको बहुमतले पारित गरेकोले यसको विरोधका नाममा हुलहुज्जत गर्नु ठिक नभएको हाम्रो निष्कर्ष छ ।’
प्रदर्शनकारीहरूले हुलहुज्जत गर्दै प्रहरीहरूमाथि ढुङ्गा प्रहार गरिएकोमा यस्तो गर्नेहरूलाई तत्काल पक्राउ गर्न र कडा कारबाही गर्न माग गर्दै प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसैबिच, सम्माननीय पूर्व प्रधानमन्त्री तथा हाम्रो पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेहरुलाई रोक्नेक्रममा, कर्तव्य निर्वाहको शिलशिलामा केही प्रहरीहरु घाइते हुनुभएको छ । अध्यक्ष ओलीलाई आक्रमण गर्न खोज्ने प्रदर्शनकारीहरुले हानेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल मावोहाङ र सहायक हवल्दार सोमित राजवंशी घाइते हुनु भएको जानकारी पाइएको छ । उहाँहरुको उचित एवम् शीघ्र उपचारको ब्यवस्था गर्न सरकारसक्षम माग गर्दै विरोधका नाममा हुलहुज्जत गर्ने र सुरक्षाकर्मी माथि ढुंगा हान्नेलाई तत्काल पक्राउ गरी कडा कारबाहीका लागि जोडदार माग पनि गर्दछौं ।’ घटनाको सर्वत्र निन्दा भएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्ने सांसदहरूले समेत यो विषय जोडदार रूपमा उठाउनुभएको छ ।
दिपक कार्की, अध्यक्ष
नेकपा एमाले झापा जिल्ला कमिटी