images
images

चेतनाको कमीमा विचलित किशोरीहरू

शारीरिक परिवर्तन र न्यूनचेतनाका कारणले किशोरीहरू विवाहको उमेर हुनुभन्दा पहिले नै विवाह गर्न पुग्दछन् । हाम्रो समाजमा कोही परिवारको दबावमा भने कोही आफै प्रेम गरी विवाह गर्दछन् । किशोरीहरूलाई विवाहको अर्थ र त्यसको जीवनमा पर्ने असरबारे त्यति बढी जानकारी नै हुँदैन । म यहाँ पारिवारिक दबावले विवाह गर्ने किशोरीको कुरा गर्न गइरहेको छैन । म त साथीको लहलहैमा  र देखासिकीले भविष्यबारे खासै ध्यान नदिई प्रेम विबाह गर्नेहरूको बारेमा कुरा गर्न गरिरहेकी छु  । 

 

कामको सिलसिलामा नेपालका केही जिल्ला घुम्ने मौका पाएँ । त्यस समयमा प्रेम विवाह गरेर समस्यासँग जुधिरहेका केही महिलासँग कुराकानी गर्ने सन्दर्भमा मन्जुलाई भेट्न पुगेँ । उनले १४ वर्ष हुँदा बिहे गरेकी रहिछन् । उनको श्रीमान् त्यसबेला १६ वर्षका थिए । हाल उनी २५ र उनका श्रीमान् २७ वर्षका भए । उनीहरूको एउटी छोरी छन् । उमेर परिपक्वको हुदैँ जाँदा  उनीहरू बिचको सम्बन्धमा चिसोपन बढ्यो । अहिले आएर मन्जुको पढाइ अधुरो रह्यो । अहिले काम भनेजस्तो पाउन गाह्रो भयो भने आर्थिक अवस्था कमजोर हुँदैे गयो । आफै विवाह गरेको र आर्थिक अवस्था कमजोर भएकाले माइती पक्षको सहयोग पाउन उनलाई गाह्रो भयो । कसरी छोरी पढाउने र एक छाक जाहो गर्ने भन्ने उनको सधैको समस्या हुन पुग्यो ।  अर्की किशोरी रीताले भने कक्षा ९ मा पढ्दा पढ्दै १० कक्षामा पढ्ने साथीसँग भागी विवाह गरिन् । अहिले उमेर नपुगी बच्चा जन्माएकोले शारीरिक तथा आर्थिक कमजोर  भएको बताउँछिन् । आउँदा दिनमा कसरी जीवन निर्वाह गर्ने भन्नेबारे उनलाई चिन्ता लागिरहन्छ । उनी भन्छिन्, ‘पढ्ने र बुझ्ने उमेरमा विवाह गरियो, अहिले विवाह गर्ने उमेरमा जिम्मेवारी वहन गर्दैमा ठिक्क छ ।’  

 

एम.एल गरेकी सुनिता शर्मा (नाम परिवर्तन गरिएको) पढेलेखेकी त छन्, तर उनको सोचमा कुनै परिवर्तन छैन । उनीे कुन संस्कृति हो र कुन कुरीति भन्ने छुट्याउन सक्दिनन् । उनी भन्छिन्, ‘मलाई त घरका मान्छेले  महिनावारी हुँदा, यो गर्न हुन्छ यो गर्न हुंदैन भन्छन्, यो बार यो गर्ने, यो बार यो नगर्र्ने भन्छन् ।’  यस्ता अन्धविश्वासी कुरा गर्नेले गाउँमा गएर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु हुन्थ्यो । त्यस्तो अन्धविश्वासी धारणा राख्नेले गाउँका महिलालाई कस्तो चेनामूलक कार्यक्रम सञ्चालन गर्नु हुन्थ्यो होला ?

 

काठमाडौँमा सञ्चालन गरिएको  एउटा महिनावारी सचेतना कार्यक्रममा शिक्षिका र गैरसरकारी संस्थामा काम गर्ने महिलाहरूले भाग लिएका थिए । त्यस तालिममा मैले पनि भाग लिने मौका पाएकी थिएँ । तालिमको अवधि सकेपछि खाजाको समयमा उनीहरू कुराकानी गरिरहेका थिए । महिनावारी नमान्दा गाउँमा यस्तो भयो, उसलाई भगवानको सराप लागेर यस्तो नराम्रो भयो भनी अन्धविश्वासका कुरा पूर्ण आत्मविश्वासका साथ गरिरहेका थिए । ती महिलाहरूले चेतनामूलक कार्यक्रम विद्यालय र समाजमा सिकाउँदा के कसरी परिवर्तन हुन्छ होला ? यो सोचनीय विषय हो । त्यसैले विद्यालयदेखि नै हाम्रा परम्पराका मूल्य—मान्यताका सही र गलत छुट्याउन सक्ने सचेतना आवश्यक देखिन्छ । 

 

नेपालका अधिकांश गाउँ तथा सहरमा जनचेतना नभएर वा आमसञ्चारका कारणले र के सही र के गलत हो भन्ने छुट्याउन नसक्दा किशोर—किशोरीहरूले विभिन्न खालका समस्या भोग्दै आइरहेका छन् । नेपालको कानूनले २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाउने प्रावधान बनाएको छ । किशोर—किशोरीहरूलाई बालविवाहको दुष्परिणामबारे राम्रोसँग जानकारी नहुँदा तथा उनीहरूले विवाहको अनावश्यक बोझ उठाउँदा उनीहरू जीवनमा असफल भएको पाइन्छ । सानै उमेरमा बच्चा जन्माउने कुराले थप जटिलताहरू निम्त्याउँछ । उनीहरू शिक्षा स्वास्थ्य जस्ता कुराबाट उनीहरू टाढा हुन पुग्दछन्, जसले गर्दा उनीहरूको क्षमता विकास राम्रोसँग हुन सक्दैन । महिलाका अधिकार, मानव अधिकार जस्ता कुरा जानकारी नहुँदा महिलाहरू उच्च जोखिम उठाउन बाध्य भइरहेका छन् । सामाजिक, प्रशासनिक, आर्थिक, राजनीतिक, शैक्षिक लगायतका सबै क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहुच  कम छ । चाँडो विवाह, छोरीलाई छोराभन्दा कम महत्व दिइनु जस्ता मान्यताले गर्दा छोरीले आफ्नो क्षमता बारेमा थाहा नै पाउँदैनन् । यसमा घरैदेखि सुधार गर्नुपर्ने देखिन्छ । लैङगिक भिन्नताका कारण लैङ्गिक असमानता, साधन र स्रोतको अवसर आदिमा कमीका कारण पुरुषको तुलनामा महिलाहरूको स्तर निकै पछाडि रहेको छ । 

 

महिलाहरू सानै उमेरमा आफै विवाह गर्दा सानै उमेरमा गर्भवती हुन्छन् । उनीहरूले राम्रो रेखदेख नहुने कारण कमजोर शारीरिक अवस्था तथा आत्मविश्वासको कमी हुन्छ । यसबाट उनीहरू महिला हिंसाको सिकार हुन पुग्छन् । नेपालमा अधिकांश महिलाहरू आफ्नो घरपरिवार भित्रका जस्तै— श्रीमान् तथा अन्य सदस्यहरूबाट पीडित हुन पुग्छन् । दाइजो नल्याएको, छोरा पाउन नसकेको, चरित्र राम्रो नभएको जस्ता आरोप लगाउँदै श्रीमान् तथा उनको परिवारका सदस्यहरूले पत्नी र बुहारीप्रति गरिने व्यवहार अति नै अमानवीय रहने गरेको पाइन्छ । श्रीमान्ले बहुविवाह गरेर अघिल्लो श्रीमती तथा सन्तान प्रतिको जिम्मेवारी पूरा समेत गर्दैनन् । महिलामाथि हिंसा हुनुमा मुख्य कारणहरू भने अत्याधिक जाँड—रक्सी सेवन, गरिबी, अशिक्षा, बहुविवाह, बेरोजगार रहेको पाइन्छ । उमेर नपुगी विवाह गर्दा महिलाको आत्मसम्मानमा ठेस पुग्छ । किशोरीहरूले आफै विवाह गर्दा त उनीहरू झनै  महिला हिंसाको सिकार हुन पुगेका छन् । नेपालको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाहरूले ओगटेको भए तापनि उनीहरू अहिले पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालको हिंसाका सिकार भइरहेका छन् । परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलालाई असमान बनाएकै छ । समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, परम्परा, विभेदपूर्ण कानुन, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणका तहमा महिला प्रतिनिधिको न्युन उपस्थिति जस्ता कुराले  नेपाली समाजमा महिलालाई दोस्रो दर्जाका नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि जारी छ । 

 

समयभन्दा छिटो विवाह गर्ने आजको प्रविधिको मात्र कारण होइन । छोरी जन्मनासाथ उनी ‘अरुको घर जाने जात हो, छोरीले घर धन्दा र मेलापातको काम जान्नुपर्छ’ भन्नेजस्ता सूचना प्रवाह गरिन्छ । यसले गर्दा किशोरीहरूको मन तथा मस्ष्किले विवाहको बारेमा सही गलत छुट्याउन सक्दैनन् ।  सानैमा विवाह गर्दा छोरी मान्छेलाई के के समस्या हुन सक्छ ? हामीले के के गर्दा आफ्नो विकास हुन्छ ? हामीले पनि के के गर्न सक्दछौँ ? छोरीमा पनि के गर्न सक्ने क्षमता छ ? जस्ता कुराहरूमा आमाहरूले समयमै विचार पुऱ्याउनु पर्दछ ।  पहिलेको अवस्था र अहिलेको अवस्थामा भएका परिवर्तनहरूलाई आमाहरूले सही ढङ्गले बुझ्न सक्नु पर्दछ । किशोरीहरूका लागि सही सन्देश प्रवाह गर्दै जाने हो भने यो समस्यालाई कम गर्न सकिन्छ । परिवारका हजूरआमा, आमा, काकी, दिदीहरूको चेतना बढाई सही र गलत छुट्याउन सक्ने क्षमता अभिवृद्धि गर्नु आवश्यक छ । यसबाट उनीहरूले छोरीको आत्मविश्वास बढाई समयसापेक्ष कुरा सिकाउन सक्षम हुनेछन् । 

 

महिला हक—अधिकार असमानता हटाउन सरकारी तथा  गैरसरकारी संस्थाले चेतनामूलक कार्यक्रम कामहरू गरिरहेका छन् । नेपालको संविधानमा समेत महिला सम्बन्धी हकहरू सुनिश्चित गरिएको छ । लामो समयसम्म चलिआएका कुरालाई परिवर्तन गर्न र पढेलेखेकाले सही र गलत नछुट्याइ  गर्ने र भन्ने जस्ता कुरालेसन्दर्भहीन पुरानो परम्पराले निरन्तरता पाइरहँदा परिवर्तन आउन अझै लामो समय लाग्नेछ ।  त्यसैले हामीले सबैलाई हाम्रा मूल्य—मान्यताका र सही र गलत छुट्ट्याउन सक्षम बनाउने जनचेतनामूलक कार्यक्रम सचालनलाई थप प्रभावकारितासाथ निरन्तरता दिनु आवश्यक छ ।  
(लेखक महिला तथा किशोर—किशोरीको अवस्था सुधार्न कटिबद्ध अभियन्ताको रूपमा हुनुहुन्छ ।)