images
images

“रसाएका आँखा” - कथा संग्रह : एक विवेचना  

काठमाडौं, असोज २८
-हरि पथिक  
कथाकार दुर्गा पौड्यालको “ रसाएका आँखा “ (कथा संग्रह) मा  ३३ वटा कथाहरू समेटिएका छन् । यस्लाई जनता प्रकाशनले प्रकाशित गरेको हो ।यसभित्रका प्राय:कथाहरू नेपाली समाजको समकालीन भावभूमिमा आधारित छन् । कथाहरू रोचक , मार्मिक र यथार्थपरक छन् । यस्मा विभिन्न पात्रहरूको माध्यमले हाम्रो समाजमा विद्यमान विकृति, विसंगति र अन्ध परम्पराहरूको पर्दाफास गरिएको छ ।जातिय एवं लैंगिक विभेद,अनुचित सामाजिक मूल्य मान्यता, तथाकथित आदर्शहरूको प्रसंग उठाउँदै परिवर्तनको निमित्त अभिव्यक्त विद्रोहका स्वरहरू, हाम्रो समकालीन राजनितिमा देखा पर्ने निकृष्ट दाउपेचहरू, प्रेम, विवाह र त्यसभित्र देखा पर्ने स्वार्थकेन्द्रित नाटकीय ज़्यादति र धोखाधड़िका अपवित्र कृयाकलापले सिर्जेका अनपेक्षित परिणामहरू , सामाजिक अन्धविश्वास एवं कुरितिप्रति गरिएका ब्यंगहरू यी कथाहरूमा प्रयुक्त चरित्रहरूको संगम हो - यो कथा संग्रह ।
“अँध्यारोतिर’’ कथामा स्वार्थी प्रेमको निकृष्टताको सुन्दर चित्रण छ ।” रसाएका आँखा” मा सुषमा, उन्को देब र  उनीहरूको कलिलो बालक राजुको मर्मस्पर्शी चित्र उतारिएको छ । यस्मा समाजबाट मानबता हराऊँदै गएको हृदयविदारक तस्बीर प्रस्तुत गरिएको छ ।” नागरिकता” मा आमाको नामवाट उन्का सन्तानले सहजै नागरिकता पाउन न सकेको तीतो यथार्थ पस्किएको छ ।” मैले जन्माएको छोरा “ पनि निकै मार्मिक छ ।यस्मा चित्रित सन्तान (अबोध बालक) परित्याग गर्ने एक निष्ठुर आमाको पश्चात्ताप पनि  कम मार्मिक छैन ।यो कथा पढ्दा गर्दा हरेक पाठकका आँखा रसाउ न सक्दछन् जसरी यो पंक्तिकारका  आँखा पनि रसाए । “ न चिनेको साथी” मा कुसंगतको परिणाम सुन्दर शैलीमा अभिव्यक्त छ । यसरी नै “न्याय” कथामा सामन्ती संस्कारयुक्त मुखियाको दुराचार र पाखण्डीपनको पर्दाफास गरिएको छ । “ विदेशको सपना” मा म्यान पावर कम्पनी (man power company) को लापर्वाही र गैर जिम्मेवारीपनको सुन्दर चित्रण छ । यस भित्रका सबैजसो कथाहरू समाजको ऐनातुल्य प्रतीत हुन्छन् जहाँ नेपाली जनजीवनभित्र पाइने कथा व्यथाहरू सजिव शैलीमा अभिव्यक्त छन् ।
अन्य भाषाहरूमा जस्तै नेपाली भाषामा पनि लेख्य र कथ्यमा केही न केही फरकपन पाउनु स्वाभाविकै हो । हाम्रो वर्तमान परिप्रेक्षमा नेपाली व्याकरणमा एकरुपता क़ायम भइनसकेको दुखद यथार्थप्रति स्वयं नेपाली भाषाका विद्वानहरू सहमत छन् ।अहिले पनि उनीहरूमाझ यस बिषयमा एकरुपता आएको देखिंदैन । अत: एउटै शब्द फरक-फरक स्थानमा फरक-फरक ढंगले छापिएको विषयवस्तुमाथि कुनै टिकाटिप्पणी गर्न आवश्यक ठानिन यद्यपि एकरुपता क़ायम गरिएको भए राम्रो हुने थियो । 
भाषा क्लिष्ट नभई सरल , सरस र मिठासयुक्त छ । समष्टीमा भन्नु पर्दा  यो कथा संग्रह पठनीय छ , संग्रहणीय पनि छ । एउटै मात्र कथा पनि पट्याट् लाग्दो छैन ।सबै कथाहरूले केही न केही  चेतनामूलक सन्देश छोडेका छन् ।
एक शय पचपन्न पृष्ठको पुस्तकको मूल्य रु. २५० समुचित नै देखिन्छ । नई प्रकाशनद्वारा सम्मानित साहित्यकार दुर्गा भाउजुको लेखनी स्तूत्य छ ।  नेपाली साहित्याकाशमा उहाँको उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछु ।