images
images

शासन मात्र होइन, शिक्षा पनि हो राजनीति !

राजनीति बुझ्नु र यसका गतिविधिमा सामेल हुनु नागरिकको अधिकार र कर्तव्य दुवै हो । सही ढङ्गको राजनीतिले समाजलाई अन्तक्र्रियात्मक सम्बन्धमा जोड्दछ । यसमा रहने कमजोरीले जोडिएकोलाई भताभुङ्ग पार्दछ । शास्त्रीय कुरा गर्ने हो भने शासनलाई शिक्षा पनि भनिएको छ । यस अर्थमा राजनीति भनेको शिक्षाजस्तो हुनुपर्दछ, यसमा शैक्षिक गुण हुनुपर्दछ । 

 

तर, राजनीति मनपराउने तर राजनीतिक क्षेत्रले उपभोग मात्र गरेको अवस्थाका केही मानिसहरूसँगको भेटघाटमा केही साझा विषय यसरी व्यक्त भएको सुन्नुपऱ्यो, ‘गाउँ घरमा आजा—पूजा हुँदा छरछिमेकीहरूलाई कथा सुन्न, भजन—कीर्तन गरी जाग्राममा सहभागी हुन र प्रसाद (नैवेद्य) खान निम्तो गर्ने चलन हुन्छ । त्यति बेलाको केही घटना सम्झना हुन्छ । हामी सानै थियौँ । पूजा र कथातिर त के ध्यान जान्थ्यो र ? पूजा—कथा भइरहँदा साथीहरूसँग लुकामारी खेल्न र पूजा सकिएपछि ‘जय ! जय !!’ चिच्याउने मजा लिइन्थ्यो । मन भने पञ्चामृत, नैवेद्यमा हुन्थ्यो । अझ नैवेद्य बाँड्ने मानिस सकेसम्म आफन्त, नभए आफूलाई राम्ररी चिनेको परिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । यसो हुँदा अलि मुट्ठीभरि नैवेद्य हात पथ्र्यो, नत्र हुलहालमा एक टुक्रा केरा, एउटा सानो गिँड उँखु या एउटा सुपारी जत्रो मनभोग वा अपुङ्गोमा मन थाम्न पथ्र्यो । बाँड्नेका आफन्त या चिनजानका साथीहरूले भने अँजुलीभरि प्रसाद पाउँथे । यो देखेर मनमा नैवेद्य बाँड्नेप्रति, पूजा लाउनेप्रति, पूजाप्रति, भगवानप्रति र आफ्नै बा—आमाप्रति समेत झन्का छुटेर आउँथ्यो । यस्तो सन्दर्भ एक पटक होइन, अनेकौँ पटक दोहोरिन्थ्यो र पनि हरेक पूजामा नगई मनले मान्दैथ्यो । आज पार्टी जीवनमा त्यस्तै अनुभव गरिँदैछ ।’  माथि उल्लेख गरिएका पङ्क्तिको सत्यापन कसैले गर्नुपर्दैन, सबैलाई थाहा भएकै सत्य हो यो । यस्तो अवस्थाले राजनीतिप्रति आस्था घटाउँछ, घटाइरहेको छ । राजनीति पार्टी काम मात्र होइन, यो त राष्ट्रका लागि हो । यस्तो अनुभूतिबाट कार्यकर्ता जोगाउनु पार्टीका लागि पनि हितकर नै हुनेछ । 

 

राजनीतिलाई कसैकसैले फोहरी खेल भनेका छन् । कसैले यसलाई समाज र राज्य व्यवस्थापनको अनिवार्य आवश्यकता भनेका छन् । कसैले यसलाई वर्गसंघर्ष र यसको माध्यम भनेका छन् । राजनीति मानिसले गर्ने हो, यो जस्ता मानिसले गर्छन्, त्यस्तै हुन्छ । फोहोरीले गरे फोहार पनि हुन सक्छ । राजनीतिका अरु पनि धेरै मान्यता हुनन् । राजनीतिका अरु परिभाषा पनि गरेका हुनन्, गर्लान् । मान्यता र परिभाषा फेरिँदै जान सक्छ । राजनीतिक प्रणालीहरूमा परिवर्तन हुँदै जान सक्छ । तर, राजनीति राज्य सञ्चालन गर्ने सिद्धान्त, प्रणाली र व्यवस्थापनको समष्टि हो । राज्यहरू रहेसम्म जुनसुकै रूपमा भए पनि राजनीति हुन्छ । 

 

राजनीति राष्ट्रको नेतृत्व गर्ने ‘नीति’ हो । यहाँ ‘नीति’ भन्नाले यसलाई मार्गदर्शन गर्ने सिद्धान्त, परिचालित हुने—गर्ने प्रणाली, सबैलाई समेट्ने कार्यक्रम, स्पष्ट गन्तव्य, गन्तव्यमा पुग्ने रणनीति, आवधिक रूपमा अनुमोदित हुने विधि आदि बुझ्नुपर्छ । सिंगो देशको सामाजिक, आर्थिक, सांस्कृतिक उत्थानका योजना यसैभित्र समाहित हुन्छन् । राजनीतिको वास्तविक सार यस्तो हो । राष्ट्रको कुनै क्षेत्र, विधा र काम राजनीतिभन्दा बाहिर हुँदैन । ज्ञान आर्जन, ज्ञानको सदुपयोग, अवसर सिर्जना, अवसरको सदुपयोग; समृद्धि, सेवा, सुरक्षा, सम्मान राजनीतिका क्षेत्र हुन् । यी राजनीतिका आमविषय हुन् । फरक दार्शनिक धारका तदनुसारका विशेषता त हुन्छन् नै । राजनीति सिंगो राज्यको न्यायपूर्ण व्यवस्थापन हो । राजनीति सामाजिक अवस्थाको ऐना हो । राजनीति बहुआयामिक विषय हो । राजनीति  राज्य व्यवस्थालाई मानिससँग र मानिसलाई राज्य व्यवस्थासँग जोड्ने माध्यम हो । 

 

पार्टी धेरै छन् । हरेक पार्टी आफूलाई अब्बल दाबी गरिरहेका हुन्छन्, छन् । तर, पार्टीका बैठकहरू नियमित छैनन् । बैठक हुँदा पनि सिद्धान्त, विचार, नीतिबारे खासै छलफल हुने गरेका समाचार आउँदैनन् । विकास निर्माणका कामबारे, शैक्षिक अवस्थाबारे, स्वास्थ्य क्षेत्रका समस्याबारे, अर्थतन्त्रको गिर्दो अवस्थाबारे, श्रमशक्ति पलायनबारे, बाँझै रहेका खेतबारीबारे, बढ्दो धार्मिक असहिष्णुता र धर्मान्तरणबारे, समयमा सडक निर्माण हुन नसकेको, महँगाइले सर्वसाधारणको ढाड सेकिएको, सरकारी ढिलासुस्ती आदिबारे पार्टीहरूमा खासै छलफल भएको देखिँदैन । तर, नेताहरूले भाषण गर्दा भने यी सबै विषयमा के के नै गरिरहेजस्तो सुन्नुपरिरहेको छ ।  नेताका मुखबाट सुन्दा यी विषय कर्णप्रिय छन् । यी विषय मानिसहरूका मन मनका कुरा हुन् । यसो भनिरहँदा सही बोलिरहेको भान हुन्छ, यस्तो सुनिरहँदा सही सुनिरहेको आभास हुन्छ । यस्तो हुनुको केही कारण छ, यस्तो नहुन कसैको जिम्मेवारी छ । तर, जब अवस्था यस्तो किन छ ? यसको लागि जिम्मेवार को हो ? यो सबै समाधान गर्ने कसले हो ? अनि, सुरु हुन्छ रुद्रघण्टी कोराकोर ।

 

विकास निर्माणको वहस ठेक्का—पट्टाका विषयमा हुन्छ । यसको कानुनी प्रक्रियाका सम्बन्धमा कमै हुन्छ । योजना—आयोजनाको वहस हुन्छ । तर, यसको केन्द्रबिन्दु निर्वाचन क्षेत्र आधारित हुन्छ । संवैधानिक निकायका काम कारबाहीका विषयमा वहस हुन्छ । कामो गतिविहीनताको विषयमा वहस हुन्छ, तर यसको कारणको बारेमा वहस हुँदैन । यस्ता विषयमा बैठकको माग पनि हुँदैन । यस्ता सूची नेताहरूसँग देखिँदैन । नियुक्ति, भागबण्डा, वरियता...यिनै विषयमा  रडाको मच्चाइन्छ । योगदान र इतिहासका आधारमा मूल्याङ्कनका विषय उठ्छन्, कार्यकर्ताका ताली बज्छन् तर ती एक दर्जनभन्दा कम नेताका विषयमा केन्द्रित वा सीमित हुन्छन् । 

 

मानिसहरूलाई लाग्दो हो, राजनीति अहिले देखिएको जति मात्रै हो । यस अघि हामी नभएको समयमा पनि राजनीति थियो र यसपछि हामी नरहँदा पनि राजनीति रहन्छ । राजनीति, राजनीतिकै लागि शिक्षा हुन्छ । राजनीति राजनीतिबाटै अघि बढ्छ वा पछि हट्छ । राजनीतिले राजनीतिबाटै धेरै कुरा सिक्छ, ज्ञान सञ्चय गर्छ, त्यसको प्रयोग गर्छ र अघि बढ्छ । राजनीति सधै मिठो, सर्वप्रिय, सर्वहितकारी हुँदैन । तर राज्यलाई पर्ने प्रभावको सकारात्मक वा नकारात्मक भाग सबैले भोग्नु पर्ने हुन्छ । यो कुरा अझ वर्गीय राजनीति गर्नेहरूले नबुझेको मान्न सकिन्छ र ? राजनीति सबै वर्गीय भए पनि सर्वसाधारणको सोच वर्गीय हुँदैन । सर्वसाधारण त जुनसुकै वर्गीय भनिएको राजनीतिक पार्टीमा भोट दिएका भए पनि राज्यबाट प्राप्त हुने अधिकारमा समानता चाहन्छन् । राजनीति वर्गीय होस्, तर जनताले पाउने सेवा—सुविधा कानुन बमोजिम हुन्छ, यसमा राज्य चुक्नु हुँदैन । 

 

 पार्टीहरूमा ‘गुट’ र ‘अन्तर्घात’ सबैभन्दा बढी प्रयोग हुने शब्द बनेको छ । प्रायः सबैले सबैलाई हेर्ने दृष्टिकोणमा ‘गुट’ अनिवार्य रूपमा उपस्थित हुन्छ । हरेकले हरेकलाई ‘गुट’ मा देख्ने अवस्था छ । समन्वय गर्नुपर्दा यही आधार मुख्य आधार बनेको हुन्छ । प्रधानमन्त्रीले आफ्नालाई राखे, मेरालाई राखेनन्, पार्टी प्रमुख (अध्यक्ष—सभापति)ले हाम्रा कुरा सुनेनन्, नातावाद हाबी भयो आदि सुनिन्छ । हे नेताज्यू ! प्रधानमन्त्रीका मान्छे तपाईँका मान्छे किन भएनन् ? तपाईँका मान्छे प्रधानमन्त्रीका मान्छे किन भएनन् ? तपाईँका र प्रधानमन्त्रीका मान्छे फरक फरक किन हँ ? 

 

यसखाले अन्तर्विरोधको असर पनि हुनु स्वाभाविकै हो । तर, समस्या ‘तल’ होइन, ‘माथि’ बढी छ । साह्रै छोटो छोटो अवधिमा फेरिने सरकारको अनुभव हामीसँग धेरै छन् । पूरा अवधि पाँच वर्षको सरकार बनाउने अवसर पाएको बेला खिचलो भएर ढलेको पनि देखिएकै हो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले सबैको कुरा सुन्नुपर्छ । सबैको सुझाव लिनुपर्छ । प्रत्यक्ष र औपचारिक सल्लाहकार, सहयोगीहरूको मात्र सुझाव लिएर पुग्दैन, अरुको पनि विश्वास गर्नुपर्छ । तर, सरकारको जिम्मेवारीमा नरहेका पार्टी नेताहरूले सुन्नमा आए जस्तो भेला गर्दै हिँड्नुहुँदैन । असन्तुष्टिको बिस्कुन सुकाउँदै हिँड्नुहुँदैन । बाहिर हुँदाका त तपाईँहरुका असन्तुष्टि बजारमा बढी बिक्छन्, विगतमा यहाँहरू सरकारको जिम्मेवारीमा हुँदाका खेदाइ बिर्सनु हुँदैन । सरकारमा हुनुहोस् वा नहुनुहोस्; तपाईँहरूका हर्कतबाट मानिसहरूले सिक्छन् र तपाईँहरूमाथि नै प्रयोग गर्छन् । पार्टीभित्रको खाडल नगहिऱ्याउनुहोस, खाडलको विस्तार नगर्नुहोस् पछि त्यसबाट निस्कन आफैलाई गाह्रो पर्न सक्छ । प्रतिपक्षी दलहरूसँग पनि जालझेल र तिकडम नगर्नुहोस् । सबैलाई सबै काम लाग्छ भन्ने नबिर्सनुहोस् । तपाईँहरुका कुरा सुन्ने, तर व्यवहारबाट सिक्ने धेरै छन् । बोली र व्यवहारबिच सङ्गति र सन्तुलन मिलेन भने दुर्घटना हुन सक्दछ, त्यस्तो दुर्घटना जसले अहिले नसोचेको परिणाम ल्याउन सक्दछ । राजनीति शासनको सुखभोगको माध्यम मात्र होइन । राजनीतिको काम मानिसलाई अधीन बनाएर राख्नु मात्र होइन । राजनीति विचारको माध्यमबाट गरिने सेवा हो । राजनीति शिक्षा पनि हो । शासन शब्दको अर्थ अधीन र शिक्षा दुवै हो ।