काठमाडौँ (कीर्तिपुर), माघ २४ ।
अनलाईन बहस
यसै माघ महिनाको २६, २७ र २८ गते भूविज्ञान प्रदर्शनी हुने भएको छ । भूगर्भशास्त्र केन्द्रीय विभागका छात्र तथा आयोजक संस्था नेपाल भौगर्भिक विद्यार्थी समाजका अशोक ढकालले गराउनुभएको जानकारी अनुसार कार्यक्रम त्रिभुवन विश्वविद्यालयमा भूगर्भ विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूको साझा संस्था नेपाल भौगर्भिक समाजको आयोजनामा यो प्रदर्शनी हुन गइरहेको छ । त्रिभुवन विश्वविद्यालय, भूगर्भशास्त्र केन्द्रीय विभागको प्राङ्गणमा हुने उक्त प्रदर्शनी विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रीय विभागको मुख्य सहयोगमा सञ्चालित हुने छ । प्रदर्शनीमा भूविज्ञानका विभिन्न क्षेत्र, प्रयोग र अध्ययनलाई पोस्टर, मोडल तथा प्रस्तुतीकरणको माध्यमबाट अवलोकन गराइनेछ । कार्यक्रमको तयारीको लगभग अन्तिम चरणमा रहेको बताइएको छ ।
नेपाल भौगर्भिक अनुसन्धान र स्रोतको प्रयोगमा रूपमा नवीनतम रहेको छ । देशमा भएका खनिजजन्य स्रोतको उत्खनन् र प्रयोग प्रारम्भिक चरणमा रहेको छ । भूगर्भ वैज्ञानिक तथा भूगर्भशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्राध्यापक डा. खुमनारायण पौडेल भन्नुहुन्छ ‘भूविज्ञान प्रदर्शनीमा आएर हरेक नागरिकले नेपालको भौगर्भिक अवस्थाबारे बुझ्न र नेपालमा रहेका स्रोतहरूबारे थाहा पाउनका लागि आयोजित भूविज्ञान प्रदर्शनी कोशेढुंगा हुने’ बताउनु हुन्छ ।
आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको भूविज्ञानको बहुउपयोगिताको ज्ञान नयाँ पुस्तालाई नभई नहुने भएकोले भूविज्ञान प्रदर्शनी त्यसको उपयुक्त माध्यम रहेको आयोजक समाजका अध्यक्ष सुरेन्द्र तिमिल्सिना उल्लेख गर्नुहुन्छ । यसबारे थप प्रस्ट पार्दै उहाँ थप्नुहुन्छ, ‘मुलुकको विकासका लागि नभई नहुने खानी उत्खनन्, प्रयोग, जलविद्युत तथा सडक सुरुङ्ग, भूजलस्रोत, भूपर्यटनका क्षेत्रमा भूगर्भ विज्ञान अध्ययनको आवश्यकता छ र यी विषयलाई समुदायसँगै नीति निर्माण
तहमा पुर्याउन सके राज्यका लागि प्राविधिक जनशक्तिको प्रयोग गर्न सक्ने बलियो आधार निर्माण हुनेछ ।’
यसरी गर्न लागिएको यो चौथो प्रदर्शनी हो । प्रदर्शनीका अवलोकनकर्ताहरूले भूविज्ञान ज्ञानको महत्व र यसको आवश्यकताको विविधतालाई जनता, सरोकारवाला र विद्यार्थीहरूलाई चौथो भूविज्ञान प्रदर्शनीमा निम्न भौगर्भिक सामाग्रीहरू अवलोकन गर्न पाउने जनाइएको छ । चट्टान र खनिजहरू, माइक्रोस्कोप अन्तर्गत पातलो सेक्सनमा अध्ययन, प्लेट टेक्निकल मोडेल, महाद्वीप बहाव, समुन्द्रको तह फैलिएको, पृथ्वीको आन्तरिक संरचना, नदीको आकार विज्ञान, ज्वालामुखी, खानी, हाइड्रोजोलोजी, भूमिगत पानी, पहिरो, स्लोप विफलता र सुरक्षा उपाय, जलविद्युत र सुरुङ्ग, जीवाश्म, भूकम्प, तरलता, विपद् व्यवस्थापन आदिसँग सम्बन्धित भूवैज्ञानिक उपकरणहरू प्रदर्शनीमा राखिने छन् । साथै, प्रदर्शनीमा पृथ्वीको उत्पत्ति, विकास, चट्टानको वर्गीकरण, खनिज पदार्थको संयोजन, प्रयोग, भूजन्य विकास अवधारणा, विपद् तथा विकासमा भूविज्ञान लगायत करिब २० वटा स्टल राखिने जानकारी कार्यक्रमका व्यवस्थापनमा लागिरहनुभएको मोहनराज श्रेष्ठले जानकारी दिनुभयो ।
भूगर्भ विज्ञानका क्षेत्रमा काम गर्ने नेपाल सरकारका विभिन्न सरकारी निकाय, भूवैज्ञानिक समाज तथा निजी संस्थाहरूको समन्वयमा गर्न लागिएको यस भूविज्ञान प्रदर्शनीले माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई अवलोकनमा मुख्य केन्द्रित गरेको छ ।
नेपाल भौगर्भिक विद्यार्थी समाजका सचिव रोनित पौडेल बताउनुहुन्छ, ‘विद्यालय तहका विद्यार्थीहरूलाई यस बारेमा ज्ञान दिन सके समाजमा यस क्षेत्रको महत्व बुझाउन सजिलो हुने र यसबाट समुदाय स्तरमा यसको आवश्यकता बोध गराउन सकिने छ ।’
प्रदर्शनीलाई सार्थक रूपमा सफल पार्न आयोजकहरू लागिपरेका छन् । प्रदर्शनी प्रत्येक दिन बिहान ९ बजेबाट सुरु भई साँझ ५ बजेसम्म खुला रहनेछ । विद्यार्थी तथा भूगर्भका विषयमा जान्न चाहनेहरूका लागि प्रदर्शनी उपयोगी हुने विश्वास गरिएको छ ।