काठमाडौँ – निर्वाचन आयोगले आउँदो संघ र प्रदेशको चुनावमा विद्युतीय भोटिङ मेसन (इभिएम) प्रयोग गर्न साउनभित्रै व्यवस्था गरिदिन आग्रह गरेको छ।
इभिएमबारे अध्ययन गर्न आफैँले गठन गरेको अध्ययन समितिको प्रतिवेदनले दिएको सुझावका आधारमा आयोगले गृहमन्त्रालयमार्फत सरकारलाई नेपाल बाहेक अन्य देशको मेसिन उपलब्ध गराउन आग्रह गरेको हो।
आयोगले अध्ययन समितिले नेपालमा बनेको इभिएम प्रयोग गर्न उपयुक्त नहुने ठहर गरेको छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलले भनेका छन्, ‘आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विद्युतीय मतदान यन्त्र (Electronic Voting Machine – EVM) को प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र (EVM) तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्र (EVM) को आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ।’
निर्वाचन आयोगले प्रत्येक चुनावपछि आउँदो चुनावमा इभिएम गर्ने बताउने गरे पनि कार्यान्वयनको बेला कुनै न कुनै बहाना बनाएर उम्कने गरेको छ। निर्वाचन आयोगले २०६४ मै परिक्षणका रुपमा इभिएमको प्रयोग थाले पनि त्यसलाई भोटिङको मुख्य माध्यम बनाएको छैन।
२०६४ को चुनावमा ६ वटा निर्वाचन क्षेत्रमा विद्युतीय भोटिङ मेसिनको प्रयोग भएको थियो भने २०७१ सालको संविधान सभा उपनिर्वाचनमा बर्दिया, बागलुङ, काठमाडौं, कैलालीसहितका पाँचवटा निर्वाचन क्षेत्रहरूमा प्रयोग गरिएको थियो।
सञ्चार मन्त्रालयले इभिएमबारे अध्ययन गर्न गठन गरेको कार्यदलले पनि नेपालका लागि चाहिने उपयुक्त इभिएमको छनोट गर्न सुझाव दिएको छ।