काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन्।
उनले भ्रमणमा देशलाई उचित हुने भन्दा बाहेक अन्य कुनै पनि गतिविधिहरु सरकारले गर्न नहुने बताए। उनले परराष्ट्र नीतिको विषयमा कुनैपनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने उल्लेख गरे।
उनले भने, ‘नेपालले कुनै पक्षमा नलाग्ने असंलग्न परराष्ट्र नीति लिएका छौँ। त्यो नीतिमा सरकार अविचलित रुपमा अगाडि बढ्नुपर्छ। सरकारले आफ्नो नीतिका विषयमा सबैलाई स्पष्ट रुपमा राख्नुपर्छ। यो मामिलामा कुनै किसिमको दबाब, धम्की हामीलाई स्वीकार्य हुन सक्दैन। परराष्ट्र नीति कस्तो बनाउने र कसरी अगाडि लैजाने विषयमा राष्ट्रप्रति माया गर्ने राष्ट्रिय शक्तिहरुको बीचमा नै छलफल गर्ने आवश्यकता पर्छ।’
अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे।
नेपालले थपे, ‘अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा छलफल गर्दा परराष्ट्र मन्त्री समितिको बैठकमा आउनुपर्ने हो। किन आउनुभएन? उहाँले वर्तमान सरकारको परराष्ट्र नीति, कार्यान्वयनका सन्दर्भमा धारणा सुन्नुपर्ने थियो। समितिका धेरै कुराहरु उठेका छन्। त्यसले आंशकित बनाएको छ। विदेशी सेना नेपालमा छन्।
मैले भर्खरै पहिलो चोटी सुनेँ। त्यो हो भने गम्भीर कुरा हो। कहाँ छन्? कुन–कुन देशका छन्? कुन क्याम्पमा राखिएको छ? त्यसबारेमा समितिको ध्यान जानुपर्छ। सरकारको ध्यानाकर्षण गराउनुपर्छ। हाम्रो वैदेशीक ऋण सहायता लिने कुराहरुमा धेरै त्रुटीहरु छन्। यसको पनि परिर्वतन गर्नपाए हुने थियो।’