काठमाडौँ, २२ असार (अनलाईन बहस)
हिजो एक कार्यक्रम बीच समृद्धि र खुसीको खोजिमा सकारात्मक सोधखोज (Appreciative Inquiry Search of Prosperity and Happiness) बारे छलफल गरियो । इमाजिन नेपाल र आइसीए नेपालको पहलमा भएको उक्त कार्यक्रममा सकारात्मक सोधखोज तथा समृद्धि विषयमा अभिरुचि राख्ने व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा इमाजिन नेपालका अध्यक्ष तथा आइसीए समृद्धि अभियानका संयोजक प्रा. तत्व प्रसाद तिम्सिनाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा आफ्नो प्रस्तुति गर्नु भएको दिदैँ उहाँले समृद्धि नेपाल र सुखी नेपाली को अभियानलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनु पर्ने कुरामा जोड दिनु भयो । विकास र समृद्धि उस्तै बुझिए पनि विकास हुदैमा समृद्धि हुन्छ नै भन्ने कुराको प्रत्याभूति हुन नसक्ने र समृद्दिका निम्ति विकासको वितरण, सामाजिक न्याय र सुशासन महत्वपूर्ण हुने कुरा बताउनुभयो । बिगत तीन दशक यताको विकास क्रमलाई औलाउँदै विकासका सन्दर्भमा नेपालले एउटा ठूलो फड्को मारेको कुरा उहाँले बताउनु भयो । समृद्धिले सबैको मुहारमा हाँसो ल्याउने र सबै नागरिकले आफ्नो महत्व बुझ्न सक्ने वातावरणको विकास गर्न सक्छ भन्ने उहाँको राय थियो । राज्यले सबै नागरिकलाई आफैँले केही गर्न सक्ने वातावरण प्रदान गरी नवप्रवर्तन र उद्यमशिलताको प्रवर्द्धन गर्नु पर्ने उहाँको राय थियो । देश विकासको क्रममा सदियौँ अघि हामी त्यति कमजोर थिएनौँ र विज्ञान तथा विकासका सन्दर्भमा प्रशस्त काम भएका थिए । यदि त्यस्तो नहुँदो हो भने अरनिकोले तिब्बतमा आफ्नो कौशल देखाउन सक्ने थिएनन्, लिच्छवीकालीन समयलाई स्वर्णयुग भनिने थिएन भन्ने राय उहाँको थियो । समयको लामो अन्तरालमा पश्चिमीहरुको बोलाबाला बढ्दै गयो र हामी पनि त्यतै तर्फ आकर्षित बन्यौँ, हामी हाम्रो विरासत गुमायौँ भन्ने आशय उहाँको थियो ।
कार्यक्रमको अन्त्यमा इमाजिम नेपालका कोषाध्यक्ष विष्णु भट्टले सबैलाई धन्यवाद दिदैँ हामी सबै समृद्धिको अभियानमा लागि समृद्ध राष्ट्रको सिर्जना गरौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न आह्वान गर्नु भयो ।