images
images

पार्टी कार्यकर्ता : शक्ति, सौन्दर्य र सम्पत्ति !

नेकपा (एमाले) नेपालमा सबैभन्दा बढी संगठित सदस्य रहेको, देशव्यापी रूपमा व्यापक संगनात्मक सञ्जाल रहेको, पेशागत, समुदायिक र जनसंगठनहरू रहेको बलशाली राजनीतिक पार्टी हो । यो पार्टी प्रभावशाली नेता र तदारुक कार्यकर्ताहरू भएको पार्टी हो । यो पार्टीसँग अरु कुनै पार्टीसँग नभएको विशेषता रहेको छ र त्यो हो—यसको नेपाली विशेषताअनुसारको कार्यक्रम, व्यवहारबाट नै विकास गरिएको सिद्धान्त—जनताको बहुदलीय जनवाद(जबज), लोकतान्त्रिक विधिबाट निर्वाचित समावेशी नेतृत्व । 

 

तर, यस पार्टीमा पनि समस्या रहेकोे, समस्या समाधान गर्न नसकेको, समस्या समाधानमा बढी ध्यान केन्द्रित गनुपरेको, सदस्यता वितरण, सदस्यता नवीकरण, कमिटीहरू गठन पुनर्गठन जस्ता नियमित र सामान्य कामहरूलाई पनि ठुलै योजना नबनाइकन फत्ते गर्न नसकिरहेको अवस्था छ । भर्खरै सम्पन्न भएको पार्टी सुदृढीकरण(मिसन ग्रासरुट) को रिपोर्टबाट यस्ता विषय प्रकट भएको देखिएको छ । यद्यपि, केन्द्रीय स्तरमा पहिले पहिले जस्तो वैचारिक तथा नेतृत्वको होडबाजी देखिँदैन, तथापि अन्य तहमा कतिपय प्रतिस्पर्धा र कतिपय बदलाको भावनाबाट खिचलो गर्ने प्रवृत्ति देखिएको छ । कतिपय अवस्थामा आफै समस्या सिर्जना गर्ने, समस्याको प्रचार र विस्तार गर्ने अनि, नयाँ केही गर्ने भन्दा पनि समस्या समाधानमा समय खर्चिने कामको मात्रा बढी भइरहेको देखिन्छ । समस्या मात्र समाधान गरिरहने हो भने नयाँ काम कहिले पो होला र ? यो सोचनीय विषयका रूपमा उपस्थित छ ।

 

कार्यकर्ता भनेका पार्टीको शक्ति, सौन्दर्य एवं सम्पत्ति हुन् । कार्यकर्तामा विरोधी भावना, कुण्ठा, वैमनस्यता, पूर्वाग्रह रह्यो भने शक्तिमा ह्रास आउँछ । आलोचना गर्नु, नेतृत्वका कतिपय अस्वाभाविक आनीबानी, बोलीवचन, व्यवहारको विरोध गर्नु स्वाभाविक हो, तर ती सबैका सीमा हुन्छन् । सीमा नाघेर गरिने विरोधले अरुलाई नै बल प्रदान गर्दछ । विरोधीका विरोधलाई नै सत्य ठानेर, त्यस्ता विषयमा आफुले जाँचपडताल नै नगरी जस्ताको तस्तै बोकेर हिँड्ने हो भने त्यसले कमजोर बनाउने आफैलाई हो । जस्तै, पशुपतिमा भएको सुनको जलहरिका विषयमा भयो । विरोधीले (सत्ताधारी दलका सांसदले संसदमा) हाम्रो पार्टीका अध्यक्षकै नाम लिएर यति किलो सुनमा भ्रष्टाचार गरेको आरोप लगाए । त्यसमा उनले के के कुरा घुमाए पनि प्रधानमन्त्री समेत रहेका उनको पार्टीका अध्यक्षले सदनमा भुल सुधारको घोषणा गरे । त्यो कुरा त्यहीँ सकिन पर्नेमा सुनमा पित्तल मिसाएको भनियो र विरोध गरियो । त्यसको पनि उचित जवाफ आएपछि जलहरिमा नाम किन लेखियो भनेर विरोध सुरु भयो । जलहरिमा नाम थिएन, छुट्टै ताम्रपत्र या यस्तै केहीमा नाम लेखिएको देखियो । सम्बन्धित निकायले छानबिन अघि बढायो । अब पशुपतिमा सुन किन ? अस्पताल बनाएको भए हुन्थ्यो, विद्यालय बनाएको भए हुन्थ्यो आदि इत्यादिमा विषयान्तर गर्दै विरोधको निरन्तरता जारी छ । यो एउटा उदाहरण मात्र हो । यस्तो विरोधले विषयलाई मात्र होइन, आफैलाई बराल्छ । 

 

यी सबै हुनुको पछाडि पार्टीका संगठन व्यवस्थित नहुनु, वैचारिक काम नहुनु या कमजोर हुनु, नेतृत्वप्रति विश्वास कम हुनु हो । यसलाई सुधार्ने उपाय भनेको स्वस्थ, स्वच्छ वैचारिक खुराक हो । नेतृत्वको विश्वसनीयता हो । सिद्धान्तनिष्ठ र नेतृत्वको विश्वसनीयताले मात्र पार्टी पङक्तिलाई स्वस्थ, दह्रिलो र सुन्दर बनाउन सक्दछ । धान्ने शक्ति, चलाउने विचार, रमाउने व्यवहार आजको आवश्यकता हो । यसको उपायबारे माथि उल्लेख गरिएकै छ । शक्तिले नै उपलब्धि प्राप्त गराउँदछ । लमतन्न पसारिएको जिउले मात्र के नै पो गर्न सक्छ र ? लेटरप्याड र साइनबोर्डको पार्टीले केही गर्न सक्दैन । लामो र राम्रो इतिहास भएर मात्र पनि पार्टी शक्तिशाली ठहर्दैन । त्यस्तो पार्टीलाई त पुरानो भयो, काम लाग्दैन भन्छन् । तर, एमाले पार्टी पुरानो पार्टी हो ? हो, स्थापनाको इतिहासका दृष्टिले पुरानो हो । तर, यसले हरेक महाधिवेशनमा आफुलाई नवीनीकरण गर्दछ । वर्तमान वस्तुस्थिति ठम्याउँछ, नयाँ नीति बनाउँछ, नयाँ योजना बनाउँछ र आजको आवश्यकता ठम्याएर अघि बढ्दछ । सबै कुरा सबैले सोचेजस्तो नहोला र हुँदैन पनि, तर एमाले पुरानो पृष्ठभूमि र लिगेसी भएको निरन्तर अद्यावधिक हुँदैआएको, आजकै आवश्यकतालाई सम्बोधन गरिरहेको पार्टी हो । यो विश्वास दिलाउन नसक्नु नेतृत्वको कमजोरी हो । यस्तो बुझेका कार्यकर्ताहरूलाई विश्वासमा लिनु र अघि बढ्नु आजको आवश्यकता हो । 

 

शक्ति भनेको हातपाखुराको बल त हो, तर यो मात्र होइन । एउटा शक्तिशाली र जीवन्त प्राणीका लागि शक्तिशाली र जीवन्त हुन जसरी दह्रो गरी समाउन सक्ने हात, हिँड्न सक्ने गोडा, परसम्म हेर्न सक्ने तेजिला आँखा, सबै प्रकारका गन्ध थाहा पाउने घ्राण(सुँघ्ने) शक्ति, जस्तोसुकै आवाज सुन्न र ठम्याउन सक्ने श्रव्य(सुन्ने) शक्ति, परिस्थितिहरूको आँकलन गर्न सक्ने मेधा(मस्तिष्क) शक्तिआदि आवश्यक हुन्छ । पार्टीमा यस्तो शक्ति भनेको कार्यकर्ता शक्ति नै हो । यी सबै अवयवहरूले ठिक ढङ्गले काम गर्न सकिरहँदा मात्र कुनै पनि पार्टी सुन्दर देखिन्छ र वास्तवमा सुन्दर हुन्छ । यो नै वास्तवमा सम्पत्ति पनि हो । शरीरको कुनै एउटा अङ्गको मात्र सबलताले मानिस सबलाङ्ग ठहरिदैन । हरेक अङ्गप्रत्यङ्गको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । यो बढी महत्वको र यो कम महत्वको भन्ने कुनै अङ्ग शरीरमा छैन । आआफ्ना ठाउँ र  मामिलामा सबै उत्तिकै महत्वका छन् । अन्य अवयवहरूको महत्व कम हुन्छ भन्ने होइन । 

 

बलियो गरी उभिएको कार्यकर्ता पङ्क्तिले मात्र पार्टीको राजनीतिक अभिभारा पूरा गर्न सक्दछन् । बलियो गरी उभिने भनेको दृष्टिकोण, सिद्धान्त, नीति—निर्णयका पक्षमा निर्धक्क भएर आत्मविश्वाससाथ उभिनु हो । कुनै किसिमका हाँधिबेहरी, भूकम्प र सुनामीबाट नढल्नु हो, नलप्किनु हो, नभाँचिनु हो ।  यस्तो कार्यकर्ता पङ्क्ति निर्माण गर्नु, उनीहरूका विशेषताहरूको पहिचान गर्नु, विशेषता अनुसारका काममा परिचालन गर्नु, विशेषताहरूको विकास गरी विशेषज्ञका रूपमा तयार पार्नु, थप योजनाकाकाथ परिचालन गर्नु र पार्टीको अपेक्षाअनुसारको उपलब्धि हासिल गर्नु फेरि यहि चक्रलाई अझ उच्च आकारमा अघि बढाउनु पार्टीको काम हो । 

 

एकैखाले कार्यकर्ताबाट सिद्धान्त, विचार, संगठनात्मक क्षमता, वक्तृत्व क्षमता,  लेखन क्षमता, गायकी वा कला आदि यतिका धेरैथरि सौन्दर्यको, क्षमताको, व्यवहारको अपेक्षा गर्न सकिँदैन ।  थरिथरि कार्यकर्ताका सबैथरि योग्यता र कामलाई महत्व दिइनु पर्दछ । पार्टीमाथि प्रतिबन्ध लागकाबेला विचारलाई समर्थन गर्नु वा भूमिगत नेताप्रति सहानुभूतिले मात्र पनि ठूलो महत्व राख्दथ्यो । त्यसपछि मानिसमा विचार मात्र भए पुग्थ्यो । त्यसपछि विचारसँगै र कामको पनि अपेक्षा गरिनथाल्यो ।  सुरुमा त काम भनेको संगठन निर्माण मात्र हुन्थ्यो । अब त्यतिले पनि नपुग्ने दिन आउँदै गए । समयक्रममा कामको परिभाषाभित्र संगठन निर्माणसँगै आन्दोलनहरू उठाउन र हुर्काउन पर्ने भयो । यी सबै काम मूलतः नेताका सोचविचार र खटनपटन कार्यकर्ताहरूबाट नै हुने गर्दथे । तर, अहिले समय मात्र फेरिएको छैन, आवश्यकता, रुची र कामका क्षेत्र फैलिएको छ । 

 

वि.स. २०६२/०६३ कोे ऐतिहासिक दोस्रो जनआन्दोलनपूर्वसम्म समुदायको जातीय तथा साँस्कृतिक पहिचान, क्षेत्रीय तथा भौगोलिक सामथ्र्यका, प्रशासनिक निकटता र विकटताजस्ता विषयको खासै प्रभावकारी उठान भएको पाइँदैन थियो । तर, जब मुलुक सङ्घीय ढाँचामा पुनःगठन आवश्यकताको पुष्टि भयो, धेरै विषय राजनीतिका अनिवार्य विषयका रूपमा स्वीकार गरिए । यसले पनि थप ज्ञानको ढोका उघारिदिएको छ । अब हाम्रो पार्टीका कार्यकर्तामा अन्य पार्टीले गाउँखाने कथामा गाउँ दिएजस्तो हचुवा रेखाङ्कनमा होइन, वैज्ञानिक आधारमा राज्य पुनःसंरचनाका विषय ठम्याउनु पर्ने दायित्व छ । 

 

यतिबेला नेकपा एमालेका कार्यकर्ताहरू वातावरण, जल, जङ्गल, जडिबुटी, जमिनलगायतका प्राकृतिक स्रोत व्यवस्थापन—परिचालनका क्षेत्रमा संलग्न छन् । शैक्षिक, बैंकिङ, स्वास्थ्य, कला तथा मनोरञ्जन, सहकारी, कानूनी, यातायात, सञ्चार, पर्यटन तथा सेवा, उद्योग, व्यपार, वैदेशिक रोजगारआदि अनेकानेक क्षेत्रमा संलग्न त छँदैछन्, यी सबै विषयगत क्षेत्रमा संगठित समेत हुँदैआएका छन् । यी यावत् विषयहरूको ठीक व्यवस्थापन गर्न पार्टीले केही थोरै मात्र व्यक्तिहरू अटाउने सङ्गठनात्मक ढाँचाहरूमा बाँधेर व्यवस्थापन गर्न संभव र औचित्य दुवै छैन ।  यतिका धेरै क्षेत्रमा क्रियाशील फरकफरक योग्यता, क्षमता, रुची, कामको अवस्था रहेका कार्यकर्ताहरूलाई जो जहाँ छ, त्यहीँको कामको आधारमा मूल्याङ्कन गर्ने र समकक्षतासमेत निर्धारण गर्न आवश्यक मात्र होइन, अनिवार्य नै भइसकेको छ । यसो गर्न नसक्दा जहाँसुकै र जुनसकै क्षेत्रमा काम गरेकाहरू पर्टीको संगठनात्मक जिम्मेवारी पूरा गर्न नसक्ने नै भए पनि पार्टीप्रोफाइलका लागि सङ्गठनात्मक कमिटीहरूमा पदग्रहण वा पदबहाली गर्ने तर काम नगर्ने  परिपाटी झाँगिदो छ । 

 

‘जबज’को सार हो, ‘भाग होइन, भूमिका खोज ।’ तर, आज कार्यकर्ताको मनोविज्ञान छ, ‘पहिले भाग खोज, भूमिका देखाजाला ।’ यो दोष कार्यकर्ताको होइन । अब यसमा अर्ती—उपदेशको गुञ्जाइस पनि छैन । पार्टीको नेतृत्वले बेलैमा, उचित कार्यकर्ता परिचालन नीति ल्याउनुपर्दछ र पार्टीको शक्ति, सौन्दर्य र सम्पत्तिको हिफाजत र सदुपयोग गर्नु पर्दछ । 
 (लेखक नेकपा एमाले, केन्द्रीय स्कुल विभागका सचिव हुनुहुन्छ ।)