images
images

समानुभूतिपूर्ण सभ्यता

 

जसै हामी यो सुरु गर्छौ, हामी एउटा मनुष्यको रूपमा को हौँ, मानव समुदाय के कसरी बनेको छ र हामी सभ्यताको सन्दर्भमा कति टाढासम्म आइपुगेका छौँ ? यसलाई एक पटक स्मरण गरौँ।सबभन्दा पहिले आफूलाई सामाजिक दर्शनको एउटा लघु अंशको रूपमा उभ्याएर हेरौं । मानिस के हो? विकास के हो? अनि मानव विकास भनेको के हो? मानव विकासको सन्दर्भमा सामाजिक संघ, संगठन र सरकारको भूमिका तथा आशय र उद्देश्य के हो ?

 
यी प्रश्नहरू मात्र होइनन््, बरु अत्यावश्यक व्यावहारिक सवालहरू हुन् । यी प्रश्नहरू हामीले एउटा मनुष्यको रूपमा दैनिक जीवनमा भोगिरहेका ज्वलन्त चुनौतीहरू हुन् । यी प्रश्नहरूले हाम्रो प्रतिक्रिया व्यक्तिगत विचार सोचमा होस् या सांस्कृतिक रूपमा संस्कृति या पद्धतिको रूपमा यसले कसरी मानव सभ्यता विकसित हुन्छ या पतन ? स्पष्ट पार्छ । यदि यस्तो हो भने यो कसरी यस्तो हुन्छ त ? 
मानव जाति कसरी बनेको छ भन्ने सन्दर्भमा धेरै किसिमका विचार तथा धारणाहरू छन् । के मानव जाति अनन्त ब्रह्माण्डको सबैभन्दा मूल्यवान/अद्वितीय रचना हो ? सेवा अथवा सामग्रीको प्राथमिक उपभोक्ता हो ? कि आर्थिक उत्पादनको स्रोत हो ? अथवा कुनै राज्यको प्रथम नागरिक हो ? अथवा अन्य प्राणी सरह सामान्य प्राणी हो ? कि भगवानको प्रतिमूर्ति हो ? के मानिस सामान्यतया असल/उपयोगी/सर्वहितकारी हुन्छ ? के जो मानिस यो धर्तीमा जन्मिन्छ त्यो समाजद्वारा प्रदत्त आधारभूत आवश्यकता उपभोग गर्न सक्षम हुन्छ ? भविष्यको पिढीको लागि आधारभूत आवश्यकता के के छन् ? प्रत्येक मनुष्यका सम्पूर्ण सम्भाव्यता/क्षमता के हो ? सम्पूर्ण रूपमा एउटा मानिसको यस पृथ्वीमा संसारका लागि उद्देश्य के हो ? यी सबै प्रश्नहरूको उत्तरका लागि हाम्रो संस्कृति, धर्म, भाषा, उमेर, लिङ्गले हामीलाई सामाजिकीकरण गरेको छ र हाम्रो व्यक्तिगत गूढ ज्ञानले हामीलाई जसरी मार्गनिर्देशन गर्छ त्यस अनुसार मानिसको रचना हुने गर्छ । कतिपय मानिसहरू उनीहरू मात्र वास्तविक मानव हुन् र अरु वास्तवमा मानिस नै होइनन् भन्ने परम्परागत सोच राख्दछन् ।

 
हिजो आजका मानिसहरू, भौतिकता, सामग्रीवाद, भौतिक विकास, औद्योगिकीकरण तथा आधुनिकतावादलाई मानव सभ्यताको प्रमुख तत्वको रूपमा लिन्छन् । हिजोआज जीडीपी र परक्यापिटा इन्कमलाई आधार बनाएर मानव सभ्यता र खुसीयालीपूर्ण जीवनको आँकलन गर्ने गरिन्छ । तर यो विशुद्ध आर्थिक परिभाषाले मानव संस्कृति र सभ्यतालाई अपूरणीय क्षति गर्दैछ । प्रत्येक परिभाषाले विकास सम्बन्धी व्यक्त र अव्यक्त दुवै किसिमको मानव सभ्यताको परिभाषा दिँदैछ । यदि मानव जाति आधारभूत रूपमा आध्यात्मिक प्राणी हो भने समाज यसरी निर्माण गरिनुपर्छ कि प्रत्येक व्यक्तिले आफ्नो/उसको आध्यात्मिक शक्तिलाई/आन्तरिक सम्भावनालाई अन्वेषण गर्न तथा साकार बनाउन सकून् । यदि मानवजाति उपभोक्ता हो भने उसलाई कुशलतापूर्वक विज्ञापनद्वारा निश्चित वस्तु तथा सेवा प्रदान गराइनु पर्छ । यदि मानव जाति आधारभूत रूपमा प्रजातान्त्रिक राष्ट्रको नागरिक हो भने उसलाई आफ्नो मत अभिव्यक्त गर्नका लागि मतदान प्रक्रियाबाट सशक्तीकरण गरिनु पर्छ तथा राज्यको नियम—कानुन अनुसार व्यवहार गर्न सिकाइनु पर्छ । यदि मानव जाति अन्य सामान्य प्राणी सरह हो भने त्यही तरिकाले व्यवहार गरिनु पर्छ र यदि मानव जातिलाई ईश्वरको सन्तान मानिन्छ भने उसलाई एउटा पवित्र आत्माको रूपमा स्वीकार गरिनुपर्छ ।

 
यदि मानव जातिलाई आधारभूत रूपमा असल तथा सज्जन प्राणी मानिन्छ भने समाजले आफूलाई यसरी ढाल्नुपर्छ कि मानवजातिको असल गुणको विश्वसनीयतामा आधारित प्रणाली संरचना गरी मानवीय गुणको रक्षा तथा प्रवर्धन गर्नुपर्छ । यदि मानव जातिलाई आधारभूत रूपमा दुष्ट मानिन्छ, दुष्ट हो भने, समाजले यस किसिमको प्रणाली विकसित गर्नुपर्छ कि दुष्टतालाई नियन्त्रण गर्न तथा यी काला पक्षहरूलाई सजाय दिन सकियोस् । प्रत्येक मानिस जो यस धर्तीमा जन्म लिन्छ, यदि उसले मानव अधिकार पाउनुपर्छ भने समाज यसरी निर्माण गरिनुपर्छ कि प्रत्येक व्यक्तिको गुणस्तरीय शिक्षा, स्वास्थ, आवास, आत्मसम्मान तथा वाक्स्वतन्त्रतामा सहज पहुँच हुनुपर्छ । यदि भावी पिढीलाई पनि त्यही अधिकार छ जुन अहिले हामीसँग छ भने समाजले पृथ्वीमा भएका स्रोत साधनहरू सुरक्षित छन् भन्ने कुरामा सुनिश्चित हुनुपर्छ तथा स्रोत—साधन अझ बढाउँदै जानुपर्छ । यदि प्रत्येक व्यक्तिलाई उसको जीवनमा ऊसँग भएका क्षमता तथा सम्भाव्यतालाई साकार पार्ने अधिकार छ भने समाज यसरी निर्माण गरिनुपर्छ कि सबैका सपना साकार हुन सकून् । यदि मानवजाति यो विश्वास गर्छ कि उनीहरू सम्पूर्ण रूपमा यो अनन्त ब्रह्माण्डमा केही कीर्ति राख्न चाहान्छन् तथा अन्तिम लक्ष्य प्राप्त गर्न जन्मेका हुन् भने समुदायमा गहन संवाद तथा छलफलद्वारा सामाजिक प्रणालीका कमी—कमजोरी हटाइ सिकाइमूलक समाज निर्माण गर्नुपर्छ ।

 

त्यसो भए ‘मानव विकास भनेको केहो त ? हामीले देखेका छौ कि मानव विकासको बारेमा फरक—फरक व्यक्ति तथा संस्थाहरूले फरक—फरक परिभाषा दिएका छन् । अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र संघको दृष्टिकोणमा मानव अधिकारको बारेमा विश्वव्यापी घोषणापत्रले स्पष्ट पारे अनुसार समाजद्वारा मानव अधिकार सुनिश्चित गरिएको छ/गरिनुपर्छ । यु.एन.ले २० वर्षभन्दा पहिलेदेखि ‘मानव विकास’ अथवा ‘दिगो मानव विकास’को क्षेत्रमा काम गर्दै यसको विश्लेषण तथा प्रवर्धन गर्दै आएको छ । त्यसभन्दा पनि माथि उठेर संयुक्त राष्ट्र संघ सहस्राब्दी विकास लक्ष्य अहिले दिगो विकास लक्ष्यमा पुनः सदस्य राष्ट्रहरूले हस्ताक्षर गरी सम्झौता अनुमोदन गरेर २०३० सम्म मानवीय विकासका लागि मापनयोग्य लक्ष्य प्राप्त गर्ने घोषणा गरेका छन् । 

 

त्यसो भए सम्पूर्ण मानव जातिको हितका लागि सामाजिक प्रणाली संरचनालाई मार्गदर्शन गर्ने सामाजिक अनुबन्धलाई बलियो बनाउन राष्ट्र तथा समुदाय कसरी अघि बढ्लान् तथा यो चराचर जगतमा भएका सम्पूर्ण प्राणी, बोटबिरुवा, पानी, माटो, वायु, प्राकृतिक स्रोत–साधनको व्यवस्थापन विश्वव्यापी मानव अधिकारको घोषणा अनुसार कसरी गर्लान् ? सामाजिक अनुबन्धमा सम्पूर्ण तथा अर्थपूर्ण जीवनयापनका लागि प्रत्येक व्यक्तिसँग आधारभूत आवश्यकताको उपलब्धता सुनिश्चित गर्नर एक अर्काप्रति समानुभूतिपूर्ण व्यवहार गरी मानवोचित कर्तव्य पालन गर्दा हामीहरूले यो बिर्सनु हुँदैन कि वर्तमानमा हामी जुन अधिकार र सुविधा उपभोग गर्दछौँ त्यही सुविधा र अधिकार त्यति नै मात्रामा अझ त्यसभन्दा बढी भावी पिढीका लागि पनि छुट्ट्याइएकोछ । 

 

(रोबर्टसन वर्क न्युयोर्क विश्वविद्यालय बाङ्गर ग्य्राजुएट स्कुल अफ पब्लिक सर्भिसमा अध्यापन गर्नुहुन्छ, संयुक्त राष्ट्र संघका लागि परामर्शदाता, स्वतन्त्र लेखक, अभियानकर्ताको रूपमा पनि हुनुहुन्छ । विश्वका ५० भन्दा धेरै देशहरूमा काम गरिसक्नु भएका वहाँ युएनडीपीका लागि विकेन्द्रित शासन प्रणाली प्रवर्धनका लागि मुख्य नीति सल्लाहकारको रूपमा हुनुहुन्छ । यसैगरी तीन फरक देशहरूमा आइसीएको निर्देशक हुनुहुन्छ ।)