images
images

विकासका क्षेत्रमा सूचना तथा सञ्चारको महत्व

काठमाडौँ, १४ वैशाख:

चिनियाँँहरूले करिब ५ हजार वर्षअघि गणना गर्ने उद्देश्यले विकास गरेको ‘अबाकस’ त्यसबेला अहिलेको कम्प्यूटर समान थियो । चलाउन जान्नेले यसबाट ठुल्ठूला हिसाब सजिलै गर्ने गर्दथे । धेरै पछि अर्थात् सन् १६७१ मा जर्मनीका गटफ्रेड लिबिन्जले यालकुलेटरको विकास गरे । सन् १८०० देखि १८९० बिचमा तथ्याङ्ग सङ्गलन गर्न पन्च कार्डको विकास गरियो । सन् १८२२ मा चाल्र्स ब्याबेजले सूचना सङ्गलन गर्न सक्ने उपकरणकोे विकास गरे, जसलाई कम्प्युटरको पूर्वजका रूपमा लिन सकिन्छ ।

 
जर्मनीका गटेनबर्गले सन् १४३६ मा आविष्कार गरेको छापाखाना मेसिनले त्यसबेलाका मानिसहरूलाई आÇना विचार प्रचार गर्न सहज भयो । गटेनबर्ग भन्दा ६ सय वर्षअघि चीनमा काठका ब्लक बनाई छपाइको काम सुरु गरिएको थियो । अहिले भइरहेको इन्टरनेट अत्याधुनिक छापाखानाहरू, स्मार्ट फोन, सामाजिक सञ्जालको विकास आदिका पूर्वरूपहरू विभिन्न माध्यममा विगतमा पनि थिए । 


स्यामूअल मर्सले सन् १८३७ मा विद्युतीय चुम्बकमा आधारित रही टेलिग्राफ र सन् १८७६ मा ग्रामबेलले टेलिफोनको आविष्कार गरे । त्यसबेला अमेरिकामा आविष्कारको होडबाजी चल्ने गथ्र्यो । थोमस अल्भा एडिसनले विश्वलाई नै चकित गर्ने किसिमले एकपछि अर्को आविष्कार गरे । 


सन् १८८० मा त्यस बेलासम्म भएका ग्यासका बत्तीलाई विस्थापन गर्दै उनले लामो समयसम्म ननिभ्ने बिजुली बत्तीको विकास गरे । केही वर्षभित्रै उनले अमेरिकाका विभिन्न सहरहरूलाई बिजुली बत्तीको सञ्जालमा जोडे । ‘डाइरेक्ट करेन्ट’ (थोमस अल्भा एडिसनको विचार) र ‘अल्टरनेटिङ्क करेन्ट’ (निकोला टेस्लाको विचार) बिचको द्वन्द्वमा भने निकोला टेस्ला बढी सफल रहे । यी दुई वैज्ञानिक बिचको सम्बन्ध निकै नै चिसो रह्यो । कुनै बेला एडिसनको कम्पनीमा काम गर्दा कबुल गरे बमोजिमको रकम नपाउँदा टेस्ला एडिसनबाट निकै नै चिढिएका थिए । कम्प्युटर, रोबट, रिमोट कन्ट्रोल, आणविक विज्ञान आदिका क्षेत्रमा निकोला टेस्लाको योगदान निकै ठूलो छ । 


सन् १८९७ मा रेडियो र त्यसको वर्ष दिनपछि नै म्याग्नेटिक रेकर्ड र सन् १९७२ मा टेलिभिजनको आविष्कार हुनुले सूचना सङ्ग्रह तथा प्रसारको क्षेत्रमा उल्लेखनीय योगदान भएको पाइन्छ । वायुमण्डल तथा ब्रम्हाण्डमा हुने आणविक विकिरणको खोजी, क्वान्टम मेकानिक्स (सन् १९२७), भूउपग्रहहरूको प्रक्षेपण (सन् १९४५) आदिले भौतिक जगतको अन्वेषणमा योगदान दिएको पाइन्छ । 
सञ्चार तथा सूचनाको क्षेत्रमा फाइबर अप्टिक्स (सन् १९५२), इन्टिग्रेटेड सर्किट (१९५८), इन्टरनेट (१९६९) आदि उल्लेखनीय आविष्कारका रूपमा लिने गरिन्छ । अहिले आएर इमेल, स्काइप, स्मार्ट फोन, जिपिएस आदि पनि हामीलाई सामान्य लाग्न थालेका छन् । यी वैज्ञानिक आविष्कारहरू यदि अहिले नहुँदा हुन् त हाम्रो जीवन कस्तो हुन्थ्यो होला ? हामी सहजै अनुमान गर्न सक्छौं । हामी आज क्षणभरमै विश्वभरि नै सम्पर्कमा रहन सक्छौं, जुन कुरा २०÷२५ वर्ष अघिसम्म पनि असम्भवप्रायः थियो । 


सन् १९६५ मा कम्प्युटर चिप डिजाइनर गर्डन मुरेले नयाँ बन्ने सिलिकन चिपको क्षमता वर्षेनी दोब्बर हुने कुरा बताए (फिस्चर, २०१८) । ‘मुरे नियम’ ले जानिने यस भनाइले क्यालिफोर्नियाको काम नलाग्ने जमिनमा संसारलाई नै अचम्मित पार्ने कम्प्युटरको सहर ‘सिलिकन भ्याली’ को स्थापना मात्र भएन, त्यसले भविष्यलाई आशा र संभावनाको अपार स्रोत देखायो । उद्यमशीलता र नवीन आविष्कारको केन्द्रको रूपमा त्यस क्षेत्रको विकास हुन थाल्यो । संसारभरिका करोडौं व्यक्ति तथा संस्थाहरूले आÇनो समृद्धिको सपना त्यस ठाउँमा देख्न थाले । केही वर्षकै अन्तरालमा सिलिकन भ्याली सयौं अर्बपतिहरू जन्माउने केन्द्रका रूपमा विकसित भयो । समय र स्थान (टाइम एण्ड स्पेस) को उचित प्रयोग गर्न सक्दा ठूला – ठूला सपनालाई पनि चरितार्थ गर्न सकिन्छ भन्ने नमुना सिलिकन भ्याली बन्यो ।


(लेखक पीएचडी सेन्टरका प्राज्ञिक सल्लाहकार तथा आइसीए नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)