अध्यक्ष ली झान्शु नेपाल आउँदै
काठमाडौं, भदौ २७ (रासस)
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु नेपाल आउँदै छन । उनी विशेष विमानबाट आज अपराह्न ३ः१५ बजे काठमाडौँ आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अध्यक्ष लीले चारदिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन । यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनी भेट हुने कार्यक्रम छ ।
सभामुख सापकोटा र अध्यक्ष लीले आज प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । आजै सभामुख सापकोटाले अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नेछन ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको भेट हुनेछ । प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनः निर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्नेछन ।
अध्यक्ष लीको नेतृत्वमा छ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कर्ने कार्यक्रम छ ।