images
images

समय, समयको कथा र समय यात्रा !

-रामराज प्रताप भण्डारी
समय ! समय भन्ने बित्तिकै तपाईँ के सम्झनु हुन्छ ? तपाइँको मस्तिष्कमा तुरुन्तै के कस्तो तस्वीर  उब्जन्छ ? पक्कै पनि घडी ? प्रायः सबैको मस्तिष्कमा यही नै हुन्छ होला । समयलाई बितेको दिनसँग तुलना गर्न वा सोच्न थाल्नु भो भने तपाइँ पात्रो पनि सम्झन सक्नुहुन्छ । के घडी नै समय हो ? या पात्रोमा दिन, हप्ता अनि महिनाहरू बित्दै जानु नै समय हो ? वास्तवमा समयचाहिँ के हो ?
समयको चाखलाग्दो सत्य त यो छ कि मान्छेहरूले विविध तरिकाले समयलाई उपयोग गर्दै आएको हजारौँ हजार वर्षसम्म पनि मान्छेलाई समयबारे थाहा थिएन । अझ यसो भनौँ, वैज्ञानिकहरूले केही समय अघि मात्र समयको गुथ्थी सुल्झाएका हुन् । पूर्वीय सभ्यताका विभिन्न प्राग–ऐतिहासिक र पौराणिक कथनहरूका आधारमा भन्ने हो भने परापूर्व कालदेखि नै समयको परिभाषा र प्रयोग समेत हुुँदै आएको छ । त्यस्तै पश्चिमी समाज र सभ्यता पनि सोही अनुरूपका कुराहरू उल्लेख गरेको पाइन्छ ।
संसारका प्रायः सबैजसो मान्छेहरूलाई थाहा हुने, जान्ने र अत्यावश्यक कुरा हो समय, तर साहै्र थोरै मान्छेलाई मात्र जानकारी भएको विषय पनि हो । यो पनि उत्तिकै आश्चर्य लाग्ने सत्य हो कि मान्छेहरूले दर्शन, खगोल, भूगोल, इतिहास, अर्थतन्त्र, गणित, औषधि लगायत हरेक खालका विज्ञानहरूबारे जानकारी प्राप्त गर्दा पनि समयको प्रयोगको धेरै पछि वा भनौँ भर्खरै मात्र समयको रहस्य र विज्ञान उजागर भएको हो । समय हो के ? यो कहिले र कहाँबाट सुरु भयो ? यसको अन्त्य कहिले हुन्छ ? यी प्रश्नहरूको जवाफ अहिले आएर वैज्ञानिकहरूसँग छ । 
के तपाईँ समयबारे जान्न इच्छुक हुनुहुन्छ ? 
समयलाई घडी हो भनेर सम्झनु भनेको यस अनन्त ब्रह्माण्डको सञ्चालक जो अदृश्य शक्ति छ, उसलाई विभिन्न धर्महरू तथा सम्प्रदायहरूले आ–आफ्नो भगवान भनी पुकार्नु जस्तै हो । जसरी घडीहरू पृथक रङ्, आकार, प्रकार, ब्राण्ड, गुणस्तर आदि हुन्छन्, अझ ठाउँ अनुसारको फरक–फरक समय हुन्छ । 
यो ब्रह्माण्डमा समयले के अर्थ राख्दछ ? यसको अस्तित्व कस्तो हुन्छ ? यो छिटो वा ढिलो कसरी बित्दछ ? यसबारे अन्यत्र गरौँला । पहिले वास्तवमा समय के हो भन्नेबारे जान्ने प्रयास गरौँ । 
पृथ्वीको सन्दर्भमा भन्नुपर्दा सामान्य अवस्थामा समय एकै प्रकारले चल्दछ वा बित्दछ । समयको आँखामा सबै एक समान हुन्छन् र सबैका लागि समय एकैनासले चल्दछ । यसको महत्वपूर्ण अर्थ यो हुन्छ कि सबै जीवजन्तु वा वनस्पतिका लागि पनि समयको गति र प्राप्ति एउटै हुन्छ । समयले कसैलाई पनि न्याय र अन्याय गर्दैन । यतिसम्म कि यसले ठूला, साना, धनी, गरिब, सजीव, निर्जीव कसैलाई पनि विभेद गर्दैन । समयको गति, मान र अर्थ सबैका लागि एकै हुन्छ । फरक यति मात्रै हुन सक्ला कि यसको उपयोग र महत्व हरेकमा फरक–फरक होला ।
यस धर्तीमा करिब ४ हजार जति धर्महरू विद्यमान छन् भने ती धर्मभित्र हजारौँ भगवानहरू छन्, तर जसरी समय मात्र एउटै हुन्छ, त्यस्तै भगवानको मूल अस्तित्व पनि एउटै होला भन्न सकिन्छ । तर भौतिक रूपले भगवानको उपस्थिति भने हालसम्म पनि साबित हुन सकेको छैन । त्यस्तै, यस ब्रमाण्डको अपार र असीमित शक्तिलाई पनि समय र भगवानसँग तुलना गर्न सकिन्छ भन्ने दार्शनिक तर्कहरू पनि छन् ।
ब्रह्माण्ड, यसको उत्पत्ति, संरचना, अन्त्य र भगवानको अस्तित्वको विषय विज्ञानलाई चुनौती दिने र यिनीहरूको सुरु र अन्त्य अनुमान गर्न नसकिरहेका रहस्यहरू हुन् । वैज्ञानिकहरू कम्तीमा ब्रह्माण्डको अस्तित्व र बनावटको अनुमान र परिकल्पना गर्न तथा त्यसको ढाँचा प्रस्तुत गर्न सक्षम भएका छन् । तर, हालसम्म पनि वैज्ञानिक खोजबाट भगवानको अस्तित्व र उपस्थितिको कुनै ठोस प्रमाण प्राप्त हुन सकेको छैन । 
भौतिक विज्ञानको मान्यता अनुसार प्रमाणहरू प्राप्त नभएका विषयको अस्तित्व स्वीकार गर्न सकिदैँन, तर यसको अर्थ भगवानको अस्तित्व छँदैछैन भन्न सकिँदैन । अतः यो विषय अझै पनि खोज र अनुसन्धानको विषय हो । त्यस्तै समय, यसको उत्पत्ति, उपस्थिति, अन्त्य आदि पनि ब्रह्माण्ड र भगवान जत्तिकै रहस्यमय छ ।
तपाईँले सपनामा आफ्ना विगतका दिनहरू वा आफै सानो भएको र त्यसै अनुसारको क्रियाकलापहरू गरेको देख्नु भएको होला । कहिलेकाहिँ त भविष्यमा समेत गएर कुनै काम वा गतिविधि गरेको सपना पनि देखेको हुनु पर्दछ । प्रायः मान्छेहरूले यस्ता सपनाहरू देखेको उल्लेख गर्ने गरेका छन् । यसरी यस्ता सपनाहरू देख्ने सम्भावना हुन्छ पनि, किन कि सपना एक अस्वाभाविक-Virtual दुनियाँ र यथार्थ हो ।
कल्पनाको दुनियाँ र सपना असम्भव भन्ने केही पनि हुँदैन । तर, वास्तविक जीवनमा सपनामा जस्तै वर्तमानबाट विगत वा भविष्यमा जानु भनेको समय यात्रा-Time travel हो । मान्छेहरू बितेको समयमा जान सक्नु वा आउने समयको अग्रिम रूपले भ्रमण गर्न सक्नु नै समय यात्रा हो । समय प्राकृतिक हो र शाश्वत सत्य पनि हो भने समय यात्रा हालसम्म काल्पनिक हो, कुनै दिन सत्य साबित भए पनि कृत्रिम हो ।
वैज्ञानिकहरूको भनाइ अनुसार समय यात्रा सम्भव छ । अहिलेसम्म समय यात्रा एक कल्पनिक सन्दर्भ मात्र हो र यो गणितीय समीकरणमै सीमित छ । समय यात्राको कल्पनाले मात्र पनि हामीलाई रोमान्चित बनाउँदछ, तर सामान्य दिमागले सोच्दा यो असम्भव जस्तो लाग्छ । के तपाईहरू पनि समय यात्रामा जान इच्छुक हुनुहुन्छ ? तपाईँहरू आआफ्नो सिटको पेटी बलियो गरी बाँध्नु होला, केही समयपछि हामी साथसाथै समय यात्रामा निस्कौँला ।
समयको सुरुवात, अस्तित्व र अन्त्य
भगवानको अस्तित्वको बारेमा त यकिन गरी भन्न सक्ने आधार र सिद्धान्त अझै उपलब्ध भएको छैन । तर पृथ्वीमा भएका सम्पूर्ण सजीव, निर्जीव वस्तुहरू र स्वयं पृथ्वी, अन्य ग्रहहरू तथा उपग्रहहरू, तारा र तारापुञ्जहरू एवं सम्पूर्ण खगोलीय पिण्ड, पदार्थ र उर्जाहरू, लगायत यो ब्रमाण्ड सबैको कुनै विशेष परिस्थितिमा उत्पत्ति वा जन्म भएकोले निश्चित समयावधि (आयु) पछि अन्त्य (मृत्यु) निश्चित छ । त्यसै गरेर समयको पनि उत्पत्ति विशेष परिस्थितिमा उत्पत्ति भएकोले एक अवधिको पूर्णतापछि अन्त होला । समयको मृत्यु वा अन्त्य हुनु भनेको यसको निर्धारण र गणना गर्ने तरिकामा अकल्पनीय भिन्नता आउने विषय हो, किनभने वैज्ञानिकहरूले संसारका सबै वस्तु सापेक्ष हुने तर समयको गति मात्र निरपेक्ष हुने बताएका छन् । 
आजभन्दा करिब १३.५ अर्ब वर्ष पहिले महाविष्फोट (Big-Bang) बाट ब्रह्माण्डको उत्पत्ति भएको मानिन्छ, जसको वैज्ञानिक पुष्टि पनि भएको छ । साथै, तारापुञ्ज सहित हाम्रो सौर्य प्रणाली लगायत पृथ्वी र अन्य ग्रहहरू तथा उपग्रहहरू आदि पनि त्यस महाविष्फोटको लगभग ९ अर्ब वर्षपछि अर्थात् आजभन्दा करिब ४.५ अर्ब वर्ष पहिले उत्पत्ति भएको मानिन्छ । त्यही महाविष्फोट भएकै स्थितिबाट नै समयको पनि उत्पत्ति भएको र त्यसभन्दा पहिले समयको कुनै अस्तित्व नै थिएन भन्ने वैज्ञानिकहरूको तर्क छ । 
त्यो महाविष्फोट अघि अहिलेको ब्रह्माण्डको पनि अस्तित्व थिएन । हाल यस ब्रह्माण्डमा जति पिण्ड र उर्जाको परिमाण छ, त्यो महाविष्फोट भन्दा अघि एक बिन्दुमा समेटिएको थियो, जसको न त सुरु थियो न त अन्त्य नै । त्यसैले, त्यहाँ न त अहिलेको ब्रह्माण्ड नै थियो न त समय नै । यसरी ब्रह्माण्डको हाल सम्मको उमेर १३.५ अर्ब वर्ष भएको हिसाबले समयको उमेर पनि त्यति नै वर्ष भयो भन्ने मान्यता छ ।
ब्रह्माण्डको अन्त्य सम्बन्धी दुई अलग अलग सिद्धान्त अगाडि सारिएका छन् । पहिलो सिद्धान्त अनुसार हाल यस ब्रह्माण्डमा उर्जाको जति परिमाण छ, त्यो सबै एक दिन अहिलेको रूपबाट अर्कै रूपमा परिवर्तन हुने छ र पदार्थहरू पनि सबै ब्रह्माण्डीय धुलोको रूपमा छरपस्ट हुनेछन् अनि आपसी गुरुत्वाकर्षण बलले आपसमा बाँधिने छन् र एक ढिक्का भई सुरुआती अवस्थाको जस्तै पुनः एक बिन्दुमा समाहित हुनेछन् । 
त्यस्तै, दोस्रो सिद्धान्त अनुसार कुनै महाकालो प्वालको-Giant Black Hole अनन्त गुरुत्व बलको प्रभावले हालका सबै पदार्थहरू एकै ठाँउमा समाहित भई त्यसमा अन्तरनिहित असीमित गुरुत्वाकर्षणको कारणले पुनः एकै बिन्दुमा समेटिने छन् । वैज्ञानिक मान्यता अनुसार ती दुवै अवस्थामा अहिलेको ब्रह्माण्डको अन्त्य हुने छ र त्यसै क्षण समयको पनि अन्त्य हुने छ । 
(लेखक दिगो विकास, वातावरण अध्येता र मानवशास्त्री हुनुहुन्छ ।)