नेपाली समाजमा विद्यमान अशिक्षा, पछौटेपन आदिका कारण परिवारभित्रै महिला—पुरुषका बिचमा विभेद कायम छ । विभेद परिवारभित्र होस् वा समाजमा, यसले मानिसको कार्यक्षमता र मनोविज्ञानमा समेत नकारात्मक प्रभाव पारेको हुन्छ । यस्तो अवस्थामा सुधार ल्याउनका लागि समाजको प्रबुद्धवर्ग, सामाजिक संघ—संस्था, अन्य संगठित शक्तिहरू विभिन्न ढङ्गले प्रयत्नशील रहँदै आएका छन् । तर, यतिमा नै सन्तुष्ट हुन सकिने अवस्था भने छैन, यसलाई थप तीव्रतासाथ निरन्तरता दिन आवश्यक छ ।
मूलतः घरमा हुने विभेद र पारिवारिक बेमेलले घरका कान्छो पुस्तालाई प्रभाव पारिरहेको हुन्छ र छ । मूलतः बाबु—आमा बिचको बेमेलले बालबालिकाहरूको पढाइमा नकारात्मक असर त हुन्छ नै र व्यक्तित्व विकासमा समेत नकारात्मक प्रभाव पारिरहेको हुन्छ । परिवारका महिला—पुरुष अगुवा व्यक्तिका बिचमा समझदारी विकास र विस्तार गर्न सकेमा परिवारमा खुसियाली त छाउने नै छ, यसले सामाजिक रूपान्तरणका लागि समेत टेवा पुऱ्याउन सक्दछ ।
गुण र दोषका हिसाबले महिला र पुरुष दुवैमा गुण र दोष हुन्छन् । तर, हाम्रो समाजमा पुरुषप्रधानता रहेको छ । यस कारण पुरुषका दोषहरू नदेखिने र महिलाका दोषहरू बढी देखिने गर्दछ । हरेक घरमा हुने यस्तो दृष्टिकोण, चिन्तन र प्रवृत्तिको प्रभाव समाजमा परिरहेको हुन्छ र छ । त्यस्तै, सामाजिक वर्णविभाजनको गलत व्याख्याका कारण जातीय हिसाबले पनि दलित समुदाय बढी हिंसामा परिरहेको हुन्छ । यस्तो अवस्थामा लिङ्ग वा जातका विषयलाई निस्तेज गर्दै गुण र दोषका विषयमा ध्यान दिनु पर्दछ । अझ महिला वा पुरुष नटुट्टिएको तेस्रो लिङ्गीका विषयमा पनि ध्यान दिनुपर्ने छ । तर, यसतर्फ ध्यान नदिई उही पुरानै परम्परालाई गाली गर्ने, धार्मिक सांस्कृतिक विषयप्रति औँलो ठड्याउने विषयले अहिले पनि महत्व पाइरहेको छ । यस्ता परम्परा धर्म संस्कृतिका आधारहरू र त्यसको सुरूआत, त्यससम्बन्धी वैज्ञानिक प्रावधानहरूमा ध्यान नदिई बलियो पक्षले आफ्ना लागि गरेको व्याख्या र भाष्यकै पछि लाग्ने गरेको अवस्था पनि छ ।
समाजको आधारभूत तहमा देखिएका नकारात्मक प्रचलन र अभ्यासले मानिसहरूमा अरूचि, विरोध, वितृष्णा र विद्रोहमा पु¥याएको हो । महिला प्रतिको विभेदबाट ‘छोरो’ले विशेषाधिकार पाउने र ‘छोरी’ दोस्रो दर्जामा रहनुपर्ने भएको छ । यसले दिदीभाइ—दाजुबहिनीको सम्बन्ध सुमधुर बनाउन बाधा पार्दछ । घरमा रहेको पुरुषको हैकमका कारण छोरीहरूको मनोविज्ञान कमजोर बनाएको छ, उनीहरूमा हीनताबोध बढेको हुन्छ । यसको समाधानमा जानुभन्दा उनीहरू कमजोर नै बनेर जिन्दगी बिताउने बाटो लिएका छन् । दलित समुदायको अवस्था पनि यस्तै छ । विद्रोह, पलायन, अराजकताका बढ्नुका कारण यी पनि हुन् ।
हेर्दा, देख्दा र भन्दा पारिवारिक विषय हो, तर समाज त परिवार नै परिवार मिलेर बनेको छ । जसरी ठुलो होस् या सानो भवनको गारो ढुंगा वा इँटाबाट बनेको हुन्छ । एकमाथि अर्को इँटा वा ढुंगा खप्टिएर नै सिंगो घर—भवन धान्ने भित्तो बन्ने हो । त्यसमा माटो वा सिमेन्टले एकअर्कालाई जोडेको हुन्छ । यसको तात्पर्य हो, यसरी जोडिनमा अर्कै वस्तुको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ, जो बाहिर प्रायः देखिएको हुँदैन । हाम्रो परिवारलाई यसरी मर्यादित बनाइराख्ने, जोडिराख्ने तत्वको काम सामाजिक परम्परा, मूल्यमान्यता र संस्कृतिले गरेको हुन्छ । परम्परा, मूल्यमान्यता र संस्कृतिलाई समाजले सुरक्षित तथा गतिशील बनाइराखेको हुन्छ । व्यक्ति व्यक्ति मिलेर परिवार, परिवार परिवार मिलेर समाज, समाज समाज मिलेर राष्ट्र बनेको हुन्छ । जसरी एउटा इँटा वा ढुंगाबाट अर्को इँटा वा ढुंगा अलग भयो भने भित्तो असुरक्षित हुन्छ, बाहिर पोतिएको लेप उप्कियो भने भित्तो जसरी कुरूप हुन्छ, त्यसरी नै परिवारमा फाटो प¥यो भने, समाजमा फाटो प¥यो भने परिवार र समाज सुन्दर देखिँदैन र बलियो पनि रहँदैन । यसो हुनु भनेको सामाजिक अराजकता, उच्छृङ्खलता बढ्नु हो । सिंगो समाज उच्छृङ्खल कसरी हुन्छ ? जब विभेद, अपमान, झगडा, अनमेल—बेमेल हुन्छ, तब समाज भाँडिन्छ र उच्छृङ्खलता, अराजकता बढ्छ । यस्ता विषयलाई बुझेर बेलैमा उपचार गरियो, उचित सम्बोधन गरियो भने त्यस्तो नकारात्म अवस्था आउँदैन ।
हुन त व्यक्ति, परिवार भन्ने कुरा समाजको साह्रै सानो इकाइ हो, तर आधारभूत इकाइ हो । जसरी हामीले लगाएका लुगा—कपडा धागैधागोले बुनिएको हुन्छ अर्थात् धागोहरू एकापसमा बलियो गरी जेलिएका हुन्छन्, लुगा—कपडा बलियो र राम्रो देखिन्छ । तर, त्यहाँबाट एउटा धागो निस्कन्छ, त्यहीँबाट अर्को अर्को गरी धागोहरू निस्केर कपडा नै काम नलाग्ने हुन्छ । तर, त्यो फाटेको, खुइलिएको अन्यत्र जम्मा भएर फोहोरको डङ्गुर बन्दछ । त्यो फोहोरको थुप्रोमा आगो लगाए वातावरणमा समस्या, त्यसै छोडे फोहोरको थुप्रो । मानिस, परिवार, समाजमा पनि यही कुरा लागू हुन्छ ।
विज्ञान—प्रविधिको विकासले, सूचना प्रविधिको विकास र पहुँचमा सहजता, एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्न सकिने गरी यातायातका मार्गहरूको विस्तार, यातायातका साधनहरूको विकास, खुसी वा बाध्यताले विदेश जानेहरूका अनुभव आदिका कारण सूचना तथा ज्ञानका क्षेत्र फराकिलो भएको छ । यी सबैबाट सकारात्मक र नकारात्मक विषयहरू पनि छ्याप्छ्याप्ती भएको छ । सामान्य मानिसहरूलाई के राम्रो हो, के नराम्रो हो भनेर छुट्याउन गाह्रो पनि भइरहेको छ । हरेक राम्रो र सहज देखिने विषय उपयोगी नहुन सक्ने तथा असहज र नराम्रो लाग्ने विषय उपयोगी हुन सक्ने हुन्छ । समाजमा प्रचलनमा रहेका मूल्यमान्यताहरूमा पनि यी दुवै पक्ष छन् । यस्ता विषयलाई एकाङ्गी—एक पाखे ढङ्गले हेर्ने, बुझ्ने र त्यसरी व्यवहार गर्दा परिवारमा, समाजमा र सिंगो राष्ट्रमा समस्या सिर्जना हुने, बढ्ने र हानि हुने भएको हुनाले यस्ता विषयको व्यवस्थापन गर्नेतर्फ ध्यान दिनैपर्ने भएको छ ।
नेता भएको छ—अरुका बारेमा सोच्दैन । शिक्षक भएको छ— नैतिकता के हो भन्ने जान्दैन । चिकित्सक भएको छ—सेवाभाव छैन । धार्मिक गुरु भएको छ— समाजबारे अत्तोपत्तो छैन । उद्योगी भएको छ— बजार हेर्छ, सामाजिक हित—अहितको ख्याल गर्दैन । व्यापारी भएको छ— नाफामा मात्र ध्यान दिन्छ, गुणस्तरप्रति उदासीन छ । विद्यालय चलाएको छ— शैक्षिक उपलब्धिबारे ध्यान दिँदैन । निर्माण व्यवसायी छ— गुणस्तरीय निर्माण गर्दैन । सामाजिक कार्यकर्ता छ— सिर्जनशीलता छैन । कर्मचारी छ—सेवाग्राही(करदाता) को अपमान गर्दछ, सम्मान गर्दैन । यस्ता कमजोरी सबै क्षेत्रमा छ । यी सबैलाई व्यवस्थित नगरिकन कसरी सभ्य, सुन्दर समाज बन्न सक्छ र ? कसरी समुन्नत र समृद्ध राष्ट्र बन्न सक्छ र ? कसरी जनता सुखी हुन सक्छन् र ?
यस्तो विषय टुँडीखेलका भाषणको विषय होइन, कानुनी दण्डको विषय मात्र होइन, पुलिस प्रशासन र अदालतको विषय होइन; पहिले घर—घरमा, परिवार—परिवारमा, समाजको आधारभूत तहमा सचेतनाको विषय हो । साँच्चिकै सामाजिक अवस्थामा सुधार होस्, गतिला शासक जन्मियून् भन्ने उद्देश्य राख्ने हो भने बग्रेल्ती खुलेका राजनीतिक दलहरूले यस्ता विषयमा ध्यान दिनुपर्दछ । अनि, हाम्रो शिक्षामा यस्ता विषय पढाइनु पऱ्यो ।
सामाजिक मूल्य—मान्यताप्रति जानकारी र वास्ता नभएको, परिवार र समाजप्रति कर्तव्यबोध नभएको, भाँडिएको परिवारको सदस्यले कुनै पनि क्षेत्रमा सकारात्मक र सुल्झिएको काम गर्न सक्दैन । नकारात्मक र गुजुल्टिएको मानिसले तनावको विस्तार गर्दछ । प्रतिशोधको विचार प्रवाह गर्दछ । मानिसमा तनाव हुन्छ, समस्या पर्दछ, रिस पनि उठ्दछ, नाफा पनि चाहिन्छ, तर त्यही मात्र मानसिकता र असरसहित गरेका काममा तिनको झल्को वा अवशेष रहिरहेको हुन्छ । त्यसैले आजको पहिलो आवश्यकता सकारात्मक पारिवारिक व्यवस्थापन हो । राजनीतिक दलहरू र सामाजिक संघसंस्थाहरूले यसतर्फ ध्यान दिनु आवश्यक छ । हामी हाम्रो संस्कृतिप्रति गौरव गर्दछौँ, हाम्रो संस्कृति गौरवशाली छ । तर, विभेदको संस्कृति गौरव गर्न सकिने संस्कृति वा सबैले गौरवबोध गर्ने संस्कृति हुन सक्दैन । सबैले गौरव गर्न संस्कृतिको विरासत जोगाउन र अझ समुन्नत बनाउन घरघरबाट हिंसा र विभेद अन्त्य गर्ने सहिष्णु र सद्भावको बाटो अवलम्बन गरौँ ।
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)