काठमाडौँ - स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले राजनीतिक दलका उम्मेदवारलाई टक्कर दिएसँगै चासोको रुपमा हेरिएको धरान उपमहानगरपालिकामा उनै हर्क साम्पाङ मेयर निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै हर्क विजयी भएका हुन् ।
हर्कले २० हजार ८२१ मत पाउँदा मुख्य प्रतिस्पर्धी किशोरले १६ हजार ५९ पाए । धरानमा नेकपा एमाले भने तेस्रो मात्रै भयो । एमालेका मेयर उम्मेदवार मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाए ।
उपमेयरमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्र विक्रम बेघा निर्वाचित भएका छन् ।
को हुन हर्क साम्पाङ ?
खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हर्कले शुक्रबारे माविबाट एसएलसी उत्तिर्ण गरेका हुन् ।
उच्च शिक्षा अध्ययनको लागि २०५५ सालतिर धरान झरेका हर्कले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् ।
केही समय ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा बिताए ।
हर्क गीत संगीतमा पनि रुची राख्छन् । उनले एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एल्बम पनि निकालेका छन् ।
२०७२ सालतिर धरान हुँदै जाने १०५ मिटरको मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठीबास लगाउने भएपछि संघर्ष समिति बन्यो ।
त्यो समतिमा सहसंयोजक बने । धनकुटे रोड विस्तारविरुद्धको संघर्ष बनेपछि नै हर्क धरानको सामाजिक मुद्दाहरुमा उठाउन थालेका थिए ।
भ्रष्टचार र बेथितीविरुद्ध निरन्तर बाेल्दै जनजीविकाको सानो-सानो विषयमा आवाज उठाइरहँदा स्थापित भए ।
हर्कले स्थानीय मुद्दा मात्र नभई सीमा अतिक्रमण, विभिन्न असमान सम्झौताविरुद्ध कहिले एक्लै त कहिले समूहमा प्रदर्शन गर्थे ।
हर्कले सीमा अतिक्रमणको मुद्दा चर्किदा इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना अघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाउ भन्दै प्रर्दशनसमेत गरेका थिए ।
सर्दु खोला जथाभावी उत्खनन् भएको विरोधमा जादा ठेकेदारको समूहले उनका समर्थकहरुलाई आक्रमण गरेर घाइतेसमेत बनाएको थियो ।
पछि प्रहरीले उल्टै उनी र उनका साथीहरुलाई मुद्दा चलायो । खानेपानी पाइप तोडफोड गरेको आरोपमा पनि उनी पक्राउसमेत परे ।
हर्क २०७६ सालमा तत्कालीन धरानका मेयर तारा सुब्बाको निधनपछि भएको उपनिर्वाचनमा पनि मेयरका उम्मेदवार थिए । तर पराजित भए । यसपटक भने हर्कले मेयरमा बाजी मारे ।