म पिँडालुको गानो हुँ
देखिन्छु
कर्कला जस्तै !
हाँसिरहन्छु
लुकाएर पीडा
खसालेर आँसु
पिएर दुःखहरू !
तिमी के गर्छ्यौ थाहा छैन ?
म भने-
चुपचाप मनाइदिन्छु नारी दिवस ।
भोगटेको रुखबाट
सल चुँडेर बाँचेकी थिएँ
ऐँसेलुको झाँङमा
जीवन साटेकी थिएँ
हजार पटक लुछिएर पनि गिद्धबाट
यही देख्न बाँचेकी थिएँ
तिम्रो अधरको लालीसँग मेरो छैन प्रश्न
म मेरै लागि बाँचेकी नारी हुँ
तिमी सोच्छ्यौ के थाहा छैन ?
चुपचाप मनाइदिन्छु नारी दिवस ।
चूक घोप्टिएका रातमा
बालेर मनको उज्यालो
बाँच्न खोजेकी नारी हुँ म !
हजार श्रापले नगलेकी
लाखौँ बातले नढलेकी
बाँच्नकै लागि बाँच्न खोजेकी हुँ म
तिमी के गर्छ्यौ थाहा छैन ?
म भने-
चुपचाप मनाइदिन्छु
नारी दिवस ।
नारी दिवसमा
लोग्ने मान्छेको करतुत गाउनु छैन मलाई
मजस्तै नारीको उल्टो भजन गाउनु छैन मलाई
जीवन बगाउने योगमायाको कहानी भन्नु छैन मलाई
खोक्न नसक्ने सासू
र
बोक्न नसक्ने लोग्नेको
कथा सुनाउनु छैन मलाई
भन, जे भन्न छ तिमी मलाई
चुपचाप मनाइदिन्छु नारी दिवस !
गाग्रीले पानीसँगै थिचेको कविता सुनाउनु छैन
माइतीले दाइजो नदिएर
सुन्नु परेको इतिहास सुनाउनु छैन
गृहकार्य नगरेको निहुँमा
गोदाइ खाएको
प्रमाण जुटाउनु छैन मलाई
होलीको नाउँमा विपरित साथीले
मुसारेको चीत्कार सुनाउनु छैन मलाई
बताऊ, जे बताउन छ नारी दिवस बारे तिमी
म भने-
चुपचाप मनाइदिन्छु नारी दिवस !!
(लेखक वन, वातावरणका अभियन्ता, पत्रकार तथा साहित्यकार हुनुहुन्छ ।)