-रामराज प्रताप भण्डारी, काठमाडौँ
भौतिक विज्ञानको फराकिलो मान्यता अनुसार भूत, वर्तमान र भविष्य गरी समयका ३ बिन्दुहरू (अवस्थाहरू) हुन्छन् । तिनै समयको एक बिन्दुबाट अर्को बिन्दुमा जानु भनेको समय–यात्रा गर्नु हो । हामी अहिले रहेको समयको बिन्दु भनेको बर्तमान हो । समयको यस बिन्दुबाट अर्को बिन्दु अर्थात् भूत या भविष्यमा जानुलाई नै समय–यात्रा भनिएको हो । समय–यात्राद्वारा यदि हामी भूतमा गयौँ भने हाम्रा पुर्खाहरूसँग भेट हुन्छ, जो वर्षौँ अघिनै मरेर गइसकेकाछन्, र यदि हामी भविष्यमा गयौँ भने हाम्रा भावी सन्ततिहरूसँग भेट हुनेछ, जो हालसम्म पनि जन्मिएकै छैनन् ।
एक पटक कल्पना गर्नुस् त यदि हामी भूतकालमा गई हाम्रो पूर्खाहरूसँग भेट गर्न सक्यौँ भने कति रमाइलो हुन्छ होला ! त्यो समाज, त्यहाँको ज्ञान, विज्ञान र प्रविधि अहिलेको जस्तो पक्कै थिएन । हामी उनीहरूका लागि अलौकिक र विशिष्ठ देखिन्छौँ । त्यस समाजलाई हामी आफ्नो नियन्त्रणमा लिएर राज गर्न सक्छौँ कि तपाईँ फेरि पृथ्वीमा (वर्तमान समय) नफर्की त्यहीँ राज गरेर बस्नु हुन्छ ? यो त तपाईँको इच्छाको कुरा हो ।
त्यस्तै, आजको दिनमा हामीसँग नभएको कुरा वा विगतमा हामीले गरेको गल्ती सुधार्न सक्छौँ । इतिहासले समेट्न नसकेका तथ्य र ज्ञानहरूको जानकारी प्राप्त गर्न सक्नेछौँ । साथै, डायनासोरको गतिविधि लगायत रामायण र महाभारतका घटनाहरू प्रत्यक्ष देख्न र जान्न सक्छौँ । यदि त्यस्तो भयो भने टाइटानिक डुबेको कारण पत्ता लगाउन पनि नभुल्नुस् है । यदि हामी समय–यात्रा गरी भूतकालमा जान यो सबै सम्भव हुनेथियो ।
त्यसरी नै यदि हामी भविष्यमा जान सक्यौँ भने त्यो पनि अद्भूत रोमान्चक होला । यस्तो भएमा पहिलो त हामी हाम्रा भावी सन्तानहरूसँग साक्षात्कार गर्छौं वा नजन्मिएका आफ्ना छोरा–छोरी, नाती–नातिनाहरूलाई भेट्दछौँ । कल्पना गर्नुस् त कति रमाईलो होला त्यो क्षण ! तर चक्लेट वा मिठाई लैजान नभुल्नु होला ।
आउने समाज कस्तो हुन्छ, कुन सहर नष्ट हुन्छ, कुन समुन्द्र तटीय सहरहरू पानीमुनि डुब्नेछन् भने कुन महाशक्तिले विश्वलाई नेतृत्व गर्ने छ ? यो थाहा हुने थियो । यसरी हामीले भविष्यको यात्रा गर्ने क्रममा अवश्य पनि एलियनहरूसँग आमने–सामने र जम्काभेट हुनेछ । तब हुँदैन त मज्जा ? यदि हामी समय–यात्रा गरी भविष्यमा जान सक्ने थियौँ भने यो सबै सम्भव हुने थियो ।
समय–यात्राको कल्पना गर्नु जति सजिलो र रोमान्चक छ, यथार्थमा त्यति नै कठिन र हाललाई सामथ्र्य बाहिरको छ । केही वैज्ञानिकहरूले समय–यात्रा गर्ने सक्ने सम्भावनाका केही सिद्धान्तहरू अघि सारेका छन् भने कति वैज्ञानिकहरूले समय–यात्रा वास्तविकतामा सम्भव हुनै नसक्ने तर्कहरू राखेका छन् । केही वैज्ञानिकहरूले समय–यात्रा सम्भव भए पनि त्यसमा यात्रा गर्ने यात्रुहरू पृथ्वीमा जीवित फर्कन नसक्ने तर्क राख्दछन् । यिनै सम्भवनाका सिद्धान्तहरू र विरोधाभासका बिचमा हालको समय–यात्राको कल्पना बाँचेको छ ।
स्वतन्त्र रुपले पुष्टि नभए पनि र तिनीहरूका वैज्ञानिक प्रमाणहरू प्राप्त हुन नसके पनि, यस्ता अनेकन किस्साकहानीहरू सुन्नमा आएका छन् कि समय–समयमा भूत र भविष्यबाट वर्तमानमा मान्छेहरू समय–यात्रा गरी आएको पाइएकोछ । त्यस्ता
समय–यात्रीहरूका अनुसार उनीहरू हाम्रो भविष्यबाट त्यहाँ भएका तत्कालीन समस्याको निदान खोज्नका लागि हामी कहाँ वर्तमानमा आएका हुन । त्यस्तै, केही भूतकालीन समय–यात्रीहरू समय–यात्राका क्रममा कतै अल्मलिएर अहिलेको हाम्रो समयमा आइपुगेका हुन् ।
यस्ता कथनहरूले समय–यात्रा गर्न सक्ने आशा पनि जगाउँदछ । हुन त वैज्ञानिकहरूका तर्क अनुसार समय–यात्रा सम्भव छ । उनीहरूले केही समय–यात्रा संभावनाका सिद्धान्तहरू पनि प्रस्तुत गरेका छन् । त्यस्ता समय–यात्रा संभावनाका सिद्धान्तहरूमध्ये केही यहाँ उल्लेख गरिएको छ ।
उच्च आयामहरूद्वारा समय—यात्रा: यस अवधारणा अनुसार पाँचौँ वा सोभन्दा माथिका आयामहरू हासिल गर्न सके भूत या भविष्य दुवैको समय–यात्रा सम्भव छ ।
भविष्यका लागि एकतर्फी यात्रा: यस सिद्धान्त अनुसार मात्र भविष्य समय–यात्रा सम्भव छ । यसमा यस्तो मान्यता छ कि ती समय–यात्रीहरू जब यात्री फर्कन्छन्, पहिले छोडिएका सबै मान्छेहरू या त बुढा–बुढी भइसकेका हुनेछन् या उमेर पुगेर मरिसकेका हुनेछन् ।
स्पेस–टाइम भोरटेक्सको (Space Time Vortex) यात्रा : यो अवधारणा अनुसार वर्तमान समयको हिसाबले अतिरिक्त–आयामी भँवर (बबन्डर/तुफान/भुमरी) उत्पन्न गरिन्छ, र त्यसको नतिजा स्वरूप यान भूत वा भविष्यतिर हुत्तिन्छ, जब कि भित्रका यात्रीहरूले सामान्य जस्तै समय बिताइरहेका हुन्छन् ।
ढिलो समय–यात्रा : यस सिद्धान्तका अनुसार कुनै एक यात्रु टाइम–मसिन बक्सभित्र १ मिनेट रहँदा बाहिर १ दिन बितेको हुन्छ । यसरी ऊ भूत वा भविष्यमा समय–यात्रा गर्न सक्दछ ।
वर्महोल परिकल्पना : वर्महोलहरू आइन्स्टाइनको सामान्य सापेक्षताको क्षेत्र समीकरण अनुसारको सङ्कुचन गरिएको एक काल्पनिक स्पेसटाइमको अवधारणा हो । वर्महोलको प्रयोग गरिएको प्रस्तावित समय–यात्रा मेसिनले कृतिम रूपले निर्मण गरिएको विषेश संरचनाभित्र प्रकाशझैँ तीव्र गति र नियन्त्रित गुरुत्वबलको सन्तुलन कार्यको फलस्वरूप समय–यात्रालाई सम्भव बनाउँदछ ।
प्रकाशभन्दा छिटो यात्रा : यस सिद्धान्त अनुसार प्रकाशभन्दा छिटो उड्न सक्ने मेसिनको निर्माण गरिसक्ने प्रविधिको विकाश गर्न सकेमा समय–यात्रा गर्न सकिन्छ । त्यस्तो मसिन, जुन प्रकशभन्दा पनि छिटो यात्रा गर्न सक्छ, जसको हाल मात्र कल्पना गर्न सकिन्छ, तर यथार्थमा निर्माण गर्न धेरै समय लाग्ने निश्चित छ ।
यसरी समय–यात्राका विभिन्न सिद्धान्तहरू, त्यसका सीमा र विरोधाभासहरूका व्याख्या र तर्कहरू अस्तित्वमा आए पनि महान् वैज्ञानिकहरू-अल्बर्ट आइस्टाइन र स्टेफिन हकिन्स समय–यात्रा सम्भव भएको कुरामा विश्वास गर्छन् । अहिले हामीसँग भएको विज्ञान विकास र प्रविधिको सीमाभित्र समय–यात्रा असम्भवप्रायः छ ।
यसो भन्न पनि गलत होइन, कि समय–यात्रा वर्तमानमा कल्पना र सम्भवनाभन्दा धेरै टाढाको विषय हो । निकट भविष्यमा पनि छिट्टै ब्रह्माण्डमा समय–यात्रा गर्ने अवस्था पनि देखिँदैन । समय चाहीँ अवश्य लाग्न सक्छ, तर आउने कुनै दिन समय–यात्रा सम्भव पनि छ । अतः निराश नहुनुहोस्, धैर्य रहनुहोस् । समय–यात्रा गर्न तपाईँहरूले अझै केही समय पर्खिनु नै पर्ने हुन्छ ।
(लेखक दिगो विकास, वातावरण अध्येता र मानवशास्त्री हुनुहुन्छ ।)