राजनीति दर्शनमा आधारित हुन्छ र सबै राजनीतिले कुनै न कुनै वर्गलाई आधार बनाएर गतिविधि गर्दछन् अर्थात् वर्गप्रति प्रतिबद्ध हुन्छन् । यही आधारमा राजनीतिक शक्तिहरू टिकिरहेका हुन्छन् । ‘सबै राजनीतिक पार्टीहरू निश्चित वर्गको हित प्रतिनिधित्व गर्ने संस्था हुन् ।’ वर्गमा आउने भिन्नताले मानिसको जीवनलाई प्रभावित पार्न सक्दछ, तर त्यसले वर्गीय दृष्टिकोणमा भिन्नता ल्याउँदैन । उदाहरणका लागि— पुँजीपति वर्गआधारित राजनीतिक शक्तिले पनि लोककल्याणका पक्षमा केही काम गर्दछन् भने सर्वहारा श्रमजीवी वर्गीय राजनीतिक पार्टीले पनि केही समन्वयात्मक कामहरू गर्दछन् । सिद्धान्तनिष्ठ राजनीति गर्नेहरू वर्गआधार, वर्गविचार र वर्गचरित्रबाट विचलित हुँदैनन् ।
संसारका सबै पार्टीहरूको वर्गपक्षधरता हुन्छ, तर कम्युनिष्ट पार्टीहरूले मात्र यो विषय उल्लेख गरेका हुन्छन्, अरूले यस्तो उल्लेख गर्दैनन् । पार्टी निर्माणको आधार नै उल्लेख नगरेपछि जस्तासुकै फुर्का र लुर्का झुन्ड्याएर लोकप्रिय बन्न र जनता झुक्याउन गाह्रो हुँदैन, तर यस्तो प्रवृत्ति टिकाउ हुँदैन । ‘कम्युनिस्ट पार्टी सर्वहारा र श्रमजीवी वर्गकासाथै देशभक्त, लोकतान्त्रिक एवं प्रगतिशील वर्ग र समुदायका हितमा काम गर्ने राजनीतिक संस्था—पार्टी हो । द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण, श्रमजीवी वर्गको पक्षधरता र जनशैलीलाई अपनाउने गर्दछ ।’
पार्टीको नाम फरक फरक भए पनि सबै कम्युनिष्ट पार्टीहरूको पार्टी निर्माणको आधारभूत सिद्धान्त र चरित्र द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण र श्रमजीवी वर्गको पक्षधरता नै हो । लक्ष्य प्राप्तिका लागि सिद्धान्त, सङ्गठन र सङ्घर्षलाई यसले मुख्य माध्यमका रूपमा अपनाएको हुन्छ । कम्युनिष्ट पार्टीको अर्को महत्वपूर्ण पक्ष भनेको सामाजिक उत्पादक शक्तिको विकास गर्दै न्यायपूर्ण, समतामूलक, विभेदरहित र समृद्ध समाज निर्माण गर्नु हो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कामरेड पुष्पलालले तीन ‘स’ अर्थात् ‘सिद्धान्त, संगठन र संघर्ष’लाई क्रान्तिको आधार भन्नुभएको छ । नेकपा (एमाले) यिनै सिद्धान्त, विचार, मान्यता अनुसार परिचालित हुँदै आइरहेको राजनीतिक पार्टी हो ।
खास समयमा खास खालको कार्यनीति अवलम्बन गर्दै अघि बढ्नुपर्ने अवस्था हुन्छ । तर, नेकपा (एमाले)ले क्रान्तिको न्युनतम र अधिकतम लक्ष स्पष्टतासाथ उल्लेख गरेको छ । आन्तरिक रूपमा सामन्तवाद र बाह्यरूपमा औपनिवेशिक शक्तिलाई परास्त गरी जनवादी व्यवस्था स्थापना गर्नु पार्टीको न्युनतम लक्ष्य हो । नेकपा (एमाले) घोषित न्युनतम लक्ष्य प्राप्तिका लागि लामो समयदेखि संघर्षरत रहँदैआएको छ । नेकपा (एमाले)ले माक्र्सवादी विश्व दृष्टिकोण अर्थात् ‘द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण’का सार्वभौम सच्चाइहरूलाई पछ्याउँदै नेपालको विशिष्टतामा सिद्धान्त, संगठन र संघर्षका रूपहरू अवलम्बन गर्दैआएको छ । यस क्रममा यसले नेपाली विशेषता तथा विशिष्ठताको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ विकास गरेको छ । अन्य विषयका अतिरिक्त शान्तिपूर्ण क्रान्ति, बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट समाजवादको लक्ष, समाजवादमा बहुदलीय अभ्यास—प्रतिस्पर्धाको विषयमा दृढता व्यक्त गरेको छ र यही बाटो अवलम्बन गरिरहेको छ । अन्य कतिपय कम्युनिष्ट पार्टीहरूले बहुदलीय प्रतिस्पर्धालाई ‘उपयोग’ गर्ने भन्दछन् भने नेकपा (एमाले)ले यसलाई सैद्धान्तिक रूपमा नै स्वीकार गरेको छ ।
कतिपय मानिसहरू ‘जनताको बहुदलीय जनवाद’ नेकपा (एमाले) को मात्र सिद्धान्त भएको जसरी प्रस्तुत हुन्छन्, वास्तविकता के हो भने जबज नेपाली क्रान्तिको सिद्धान्त हो । यही सिद्धान्तका बलमा बन्दुकको नालमा सत्ता देख्ने ‘क्रान्तिकारी’ नेकपा माओवादी केन्द्र बन्दुक बिसाएर शान्ति सम्झौतामा आयो भने संवैधानिक राजतन्त्रलाई सिद्धान्तको तारा बनाएर झन्डामा टाँसेको ‘प्रतन्त्रवादी’ नेपाली काँग्रेस गणतन्त्र स्वीकार गरेर आयो । यो कुरा बुझ्न २०६२/६३ को राजनीतिक क्रान्तिको स्वरूप र यसको उपलब्धिलाई हेरे मात्र पुग्छ । मुलुकमा राजतन्त्र अन्त्यसँगै स्थापना भएको लोकतान्त्रिक गणतन्त्र र संविधान सभाबाट जारी भएको नेपालको संविधान, २०७२ का अन्तर्वस्तुमा ध्यान दिने हो भने जबजको राजनीतिक मार्गदर्शन पक्षहरू सहजै देख्न, भेट्न र बुझ्न सकिन्छ ।
नेपालको संविधान, २०७२ मा ‘लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनताका राजनीतिक तथा आर्थिक–सामाजिक र सांस्कृतिक अधिकारकासाथै लोकतन्त्र, सामाजिक न्याय, सङ्घीय एवं समावेशी शासन प्रणाली, धर्मनिरपेक्षता र अधिकार सम्पन्न स्थानीय तहको संवैधानिक व्यवस्था’ जस्ता उपलब्धिहरूलाई संस्थागत गरेको छ । तर, नेतृत्वको कार्यशैली, खर्चिलो, राजनीतिक खिचातानीका कारण सङ्घीयताबारे निराशा बढ्दो छ । धर्मनिरपेक्षताका सन्दर्भमा पनि नागरिकहरूको बुझाइमा केही अलमल छ । राजनीतिक नेतृत्व यसप्रति प्रायः उदासीन रहेको देखिन्छ । यसले धर्मनिरपेक्षताको आसयप्रति संशय बढाएको छ । यसलाई माध्यम बनाएर धर्मान्तरण बढेको देखिन्छ । संवैधानिक व्यवस्था तथा त्यसप्रति नागरिक असन्तुष्टि, राजनीतिक नेतृत्वको उदासीनता, धार्मिक सांस्कृतिक कट्टरता र यसको दुरुपयोग राम्रो होइन ।
संविधान अनुसार नेपाल समाजवाद उन्मुख राष्ट्र हो । समाजवाद अर्थतन्त्रको विकास अर्थात् आर्थिक सम्पन्नता र उच्च सामाजिक— सांस्कृतिक आचरण हो । यो हाम्रो आनीबानी, चालचलन, आचरण र शैलीमा व्यक्त हुन्छ । यी सबैलाई नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा र सङ्कल्पका रूपमा अघिसारेको छ । नेकपा एमालेका दस्तावेजहरूमा भनिएको छ, ‘यी उपलब्धिका लागि जबजको शान्तिपूर्ण संघर्ष र प्रतिस्पर्धाको बाटोले महत्वपूर्ण भूमिका खेलेको छ । यस माध्यमबाट आर्थिक–सामाजिक विकास र रूपान्तरण गर्दै समृद्धि हासिल गर्ने र समाजवादका आधारशिला तयार पार्ने कार्य हुनेछ ।’
हामी देख्न सक्छौँ यही सिद्धान्तको वैचारिक नेतृत्वमा नेपालको आफ्नै मौलिकता अनुरूप विशिष्ट प्रकारको राजनीतिक क्रान्ति सम्पन्न भएको छ । सम्पन्न राजनीतिक क्रान्ति आफैमा मौलिक र विशिष्ठ प्रकारको छ । यो कम्युनिष्टहरूले भन्दैआएको दुरुस्त ‘जनवादी’ छैन र परम्परागत प्रजातन्त्रवादीहरूले भन्ने गरेको जस्तो संसदीय व्यवस्था पनि होइन । यसमा दुवैको सम्मिश्रण छ । नेकपा एमाले भन्दछ, ‘उत्पादनका साधनहरूमाथि समाजिक स्वामित्व कायम रहने र मान्छेको योग्यता अनुसारको काम र काम अनुसारको दाम प्राप्त गर्ने सामाजिक व्यवस्थालाई समाजवाद हो । त्यसैगरी योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दाम प्राप्त गर्ने, वर्ग विहीन र शोषण विहीन सामाजिक अस्थालाई साम्यवाद हो ।’ नेकपा एमाले जबजको मार्गदर्शनमा लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण मार्फत चरणबद्ध र क्रमबद्ध रूपमा समाजवादको आधार तयार गर्ने नीतिलाई आत्मसात गरेको छ ।
नेकपा एमालेको नेतृत्व तथा कार्यकर्ता पङ्क्ति स्पष्ट हुनुपर्ने पक्ष पार्टीले निर्धारित गरेको कार्यदिशा हो । यस सम्बन्धमा पार्टी दस्तावेज भन्दछ, ‘पार्टीका घोषित लक्ष्यहरू हासिल गर्नका लागि वर्तमानमा अपनाइने सङ्घर्षको बाटो र त्यसका नीतिहरूलाई समग्रमा कार्यदिशा भनिन्छ । हामीले जनताको बहुदलीय जनवादको शान्तिपूर्ण सङ्घर्ष र प्रतिस्पर्धाको माध्यम वा बाटोलाई अपनाउँदै आएका छौँ ।’ कार्यदिशापछि महत्वपूर्ण विषय कार्यभार हो । यसलाई यसरी उल्लेख गरिएको छ, ‘सम्पन्न क्रान्तिको बाँकी अविभाराहरू र क्रान्तिपछि बिकसित नयाँ परिस्थितिले सिर्जना गरेका थप अभिभाराहरू समेतको आगामी पार्टी दायित्वहरूको समष्टिलाई कार्यभार भनिन्छ ।’
सामान्यतः कार्यभार भनेको कामको भारी वा भारी बोक्ने जिम्मेवारी हो । यस्तो भारी बोक्न अथवा जिम्मेवारी वहन गर्न साधन—माध्यम सुनिश्चित हुनुपर्दछ । हाम्रो पार्टी शान्तिपूर्ण राजनीतिक क्रान्तिप्रति प्रतिबद्ध रहँदैआएको छ । क्रान्तिको अभिभारा—कार्यभार पूरा गर्न सोही अनुसारका साधन—माध्यमको विकास अवलम्बन गर्नुपर्ने हुन्छ । त्यसैले एमाले भन्दछ, ‘पार्टीले आफ्नो घोषित लक्ष्य र उद्देश्यहरूको प्राप्तिलाई साध्यका रूपमा र त्यसलाई प्राप्त गर्ने माध्यमलाई साधनका रूपमा अपनाउने गर्दछ । यी साधनहरू सर्वप्रथम पार्टीका विचार, सिद्धान्त, नीति, कार्यक्रमहरू हुन् । साथै, यसलाई बोकेर हिँड्ने विभिन्न तहका पार्टी सङ्गठन, जनसङ्गठन एवं पेसागत सङ्गठनहरू र त्यसमा सङ्गठित नेता तथा कार्यकर्ताहरूको ठूलो पङ्क्ति यसमा सामेल भएका छन् । यस खालको विचार शक्ति र भौतिक शक्तिको संयुक्त पहलबाट राज्यको विभिन्न तहका जनप्रतिनिधिमूलक संस्थाहरूमा पार्टीको वर्चस्व(प्रभाव) स्थापित हुन्छ । यीमध्ये स्थानीय तहका जनप्रतिनिधि संस्थाहरू आधारभूत तहका जनताहरूको जीवन स्तरमा आमूल परिवर्तन ल्याउने महत्वपूर्ण साधन हुन् । यतिखेर पार्टीको निकै ठूलो जनशक्ति यसमा निर्वाचित भएको छ । अहिलेको स्थानीय तह विगतमा जस्तो स्थानीय निकायको हैसियतमा नभई स्थानीय सरकारको हैसियतमा रहेको छ । स्थानीय तहले ऐन, कानूनको तर्जुमा, आवश्यक नीति निर्माण गर्ने, न्याय निरूपण र स्थानीय साधनस्रोत परिचालन गर्ने महत्वपूर्ण संवैधानिक अधिकार प्राप्त गरेको छ । जनताबाट अनुमोदित कम्युनिष्ट पार्टीको स्थानीय सरकारले समृद्धि र समाजवादको कार्यभारलाई पूरा गर्न दृढ सङ्कल्पसाथ लाग्नु पर्दछ ।’
सिद्धान्त र व्यवहारबिच सङ्गति हुनुपर्दछ । सङ्गति मिल्दा मात्र सन्तुलन ल्याउन सकिन्छ । जनतामा व्यवस्था र विचारप्रति आस्था जगाउने एक मात्र माध्यम भनेको नेतृत्वको कार्यशैली नै हो । सबै मानिसहरूले व्यवस्था र विचार बुझेर मात्र समर्थन वा विरोध गरेका हुँदैनन् । कतिपयले नेतृत्वको कार्यशैली हेरेर र त्यसबाट प्रभावित भएर विचार बनाउने र राजनीतिमा संलग्न हुने गरेको सबैले देखिएकै कुरा हो । यही कुरा व्यवस्थाका सन्दर्भमा पनि लागू हुन्छ ।
(लेखक नेकपा एमाले केन्द्रीय स्कुल विभागका सचिव हुनुहुन्छ ।)