images
images

३२ प्रतिशतले बढ्यो आयात

काठमाडौँ l चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भएको छ ।

नौ महिनामा वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७८/७९ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका  आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले  वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्ट्स, सुन  लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका  वस्तुको आयात घटेको छ ।  

निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने  सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।  

आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई रु.१३०६ अर्ब ९ करोड  पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १०.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.५ प्रतिशत रहेको  थियो । 

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. १६७ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको  छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १३९ अर्ब २८ करोड बराबरको भएको थियो ।