images
images

बहुआमिक महत्वको स्थल त्रिवेणीधाम !

नेपाल प्राकृतिक, सामाजिक, धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यो भूक्षेत्र ऋषिमुनिहरूको तपस्थली हो । यसै भूक्षेत्रका नदी किनारमा प्राचीन सभ्यताका धरोहर अनेकौँ मठमन्दिरका साथै तपोभूमि, साधनाभूमि एवं मोक्षभूमिहरू रहेका छन् । यसै क्षेत्रमा प्राचीन कालदेखि बसोबास गर्दै आएका, विभिन्न प्रथा र परम्परा भएका मानवबस्तीहरू छन् जो आआफ्नो सनातन धर्मसंस्कृतिको यथाशक्य परिपालन, संरक्षण र सम्वद्र्धन गरिरहेका छन् । तिनै विशिष्ट स्थान मध्येको एक हो:  त्रिवेणीधाम ।
 सामान्यतया त्रिवेणी शब्दको अर्थ हो तीववटा नदी मिसिएको (सङ्गम) स्थल । तीनतिरबाट प्राकृतिक हिसाबले बगेर आएका नदीहरू एक ठाउँमा मिसिनु प्राकृतिक हिसाबले महत्वपूर्ण परिदृश्य हो । नदीका जलधाराले आपूm बगेको ठाउँको माटोको गुण र रङ्, त्यहाँका जडीबुटीका गुण आपूmमा समेटेको हुन्छ । त्यसैले त्यस्तो प्रवाहमान जलको विशेष महत्व हुन्छ । तीनवटा नदी मिसिएको ठाउँमा तीनवटा फरक फरक भू—क्षेत्रका विशेषता एकत्र हुने हुँदा त्यस्तो भूभागले थप विशिष्टता प्राप्त गरेको हुनु स्वाभाविक हो । त्यसैले हाम्रो समाज र संस्कृतिले तीननदी मिसिएको, त्रिवेणीको जललाई विशेष महत्व दिएको हो ।

 

हाम्रो मानव सभ्यताको विकास नदी किनारामा भएका तथ्य अनेकौँ छन् । जीवनको लागि जल अपरिहार्य—अनिवार्य तत्व हो । जलको अभावमा प्राणी र वनस्पतिको कल्पनासम्म पनि गर्न सकिँदैन । नदी किनारमा सभ्यता विकास हुनुको आसय यसैबाट पुष्टि हुन्छ । जलचरको निवास, वृक्ष—वनस्पति तथा सबै प्राणधारी जीवहरूको जीवनको मुख्य आधार जल नै हो । यो महत्वपूर्ण प्राकृतिक सम्पदा हो । खेतीपातीको युग प्रारम्भ भएपश्चात् पानीको महत्व झनै बढेको हो । जलविद्युतको अवधारणापछि त जलको महत्व निकै उच्च भएको हो ।
जल भएका स्थललाई मानिसले महत्व दिनु परेकै कारण नदीहरू महत्वपूर्ण मानिएका हुन् । जल भएका स्थान ‘धाम’ बनेका छन् । यस्तै ‘तीर्थ’ भएका छन् । सामान्यतया देवादिले बसोबास गरिएका स्थललाई धाम र हिँड्डुल गरिएका स्थानलाई तीर्थ मानिन्छ । तीर्थ र धाम भनेका पवित्र स्थल हुन् । यथार्थमा : जलका कारणले पवित्र बनेका बस्ती र यात्रा मार्ग नै धाम र तीर्थ हुन् । अझ जहाँ तीन—तीनवटा प्रवाह एकै ठाउँमा मिसिएका छन्, त्यस्तो स्थान कति महत्वपूर्ण होला ?
त्रिवेणीधामको महत्वको बारेमा श्रीमद्भागवतमा वर्णन गरिएका निम्न पङ्क्तिले पौराणिक स्थल भएको पक्ष पुष्टि हुन्छ —
 

सोद्रन्तस्सरस्युरुबलेन गृहीत आत्र्ताे दृष्ट्वा गरुत्मति हरिं ख उपात्तचक्रम् । 
उत्क्षिप्य साम्बुजकरं गिरमाह कृच्छान्नारायणाखिलगुरो भगवन्नमस्ते ।।

 

‘पानीभित्रै गोहीद्वारा जाँघसम्मको भाग मुखमा पारिसकेको भए पनि हातमा चक्र लिई आकाशमा गरुडमाथि सबार भएका हरि (विष्णु) लाई देखेर त्यस हात्तीले सुँढमा कमलको फूल लिएर दुःखी स्वरमा  ‘हे भगवान् हजूरलाई नमस्कार छ’ भन्यो ।’

 

तं वीक्ष्य पीडितमजः सहसावतीर्य सग्राहमाशु सरसः कृपयोज्जहार । 
ग्रहाद् विपाटितमुखादरिणा गजेन्द्रं सम्पश्यतां हरिरमूमुचदुस्त्रियाणाम् ।।

 

‘त्यस हात्तीलाई पीडित देखेर अजन्मा हरि (विष्णु) एकाएक गरुडलाई छोडेर तल पानीमा ओर्ले ।  उनले दयाभावले प्रेरित भएर गोही समेत हात्तीलाई पानीबाट तत्काल बाहिर निकाले र  देवताहरूले हेर्दाहेर्दै चक्रले गोहीको मुख चिरेर हात्तीको उद्धार गरे ।’ त्रिवेणीधाम यही स्थल हो, जहाँ अजन्मा श्रीविष्णुबाट गज (हात्ती)को उद्धार र ग्राह (गोही)को मोक्ष भयो । यस प्रसङ्गको विशद वैज्ञानिक विवेचना गर्न र सारसङ्क्षेप ग्रहण गर्न आवश्यक छ । 
मानिसको जीवनका चार आयाम छन्— धर्म, अर्थ र काम र मोक्ष । हाम्रो संस्कृतिले जीवनपछिको सकारात्मक परिकल्पनालाई मोक्ष मान्दछन् । मोक्ष जीवनपछिको विषय हो । जीवित छँदाको यथार्थ धर्म (अनेकौँ प्रकारका दायित्वहरूको निर्वहन), अर्थ (धर्म निर्वहनका लागि आवश्यकपर्ने स्रोत— साधन) र काम (सुखमय जीवनको अभिलाषा÷कामना) हो । यी कामबाट सन्तुष्टिको भोग गर्दै जीवनको अन्त्यपछि (परलोक) को सुखद परिकल्पना नै मोक्ष हो । यी विषयलाई गजेन्द्रमोक्षको सन्दर्भलाई जोडेर बुझ्न सकिन्छ ।
हाम्रा पुर्खा ऋषिमुनि हुन् । उनीहरूद्वारा रचिएका श्रुति—स्मृतिहरू हाम्रो संस्कृतिका स्रोत हुन । प्रकृतिलाई आधार नबनाई सभ्यता, संस्कृति, धर्म, अध्यात्म र अर्थतन्त्रको विकासको कल्पनासम्म गर्न पनि सकिँदैन । त्यसैले हाम्रा पूर्वज ऋषिमुनिहरूले नदीलाई आधार बनाएर सभ्यताको विकास गरेका हुन् ।


हाम्रो धर्म—संस्कृतिले एकै ठाउँमा मिसिएका तीन नदीको सङ्गम — त्रिवेणीलाई जीवनका आयाम र मृत्यूपरान्तको मोक्षलाई समेत प्रभाव पार्ने महत्वपूर्ण स्थानको रूपमा ग्रहण गर्नुको खास विज्ञान छ । यसलाई हामी धर्म, अध्यात्म र संस्कृति विकासको अर्थमा पनि लिन सक्दछौं । यसको विस्तृत परिचर्चा आवश्यकता अनुसार अन्यत्र गर्न सकिने छ ।
यस्तो तीनवटा नदीको सङ्गम भएको भारत र नेपालका त्रिवेणीहरू हिन्दु धर्म— संस्कृतिका तीर्थ—धामका रूपमा प्रसिद्ध छन् । नेपालमा पनि यस्ता स्थलहरू रहेका छन् । यिनै त्रिवेणीहरू मध्येको एउटा नवलपरासीमा रहेको त्रिवेणीधाम हो ।

 

त्रिवेणीधाम जाने मुख्य प्रवेश मार्ग पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दघाट हो । पूर्वतिरबाट यात्रा गर्दा नारायणगढबाट ७० किलोमिटर पश्चिम तथा पश्चिमतिरबाट यात्रा गर्दा बुटवलबाट ४५ किलोमिटर पूर्वमा बर्दघाट नगर पर्दछ । यस बर्दघाट नगरबाट २५ किलोमिटर दक्षिण—पूर्वमा त्रिवेणीधाम पर्दछ ।
यस त्रिवेणीधाममा सोनभद्रा र तमसा नदी नारायणीमा मिसिएको छ । यही ठाउँमा वाल्मीकि आश्रम रहेको छ । लङ्का विजय गरेर अयोध्या फर्केका रामले धोबीको कुरा सुनेर परित्याग गरेकी सीतालाई छोडिएको, लव—कुश जन्मिएको महर्षि वाल्मीकिको तपस्थल रहेको मानिएको यस ठाउँ रामायण कालीन इतिहास बोकेको स्थलको रूपमा मानिँदै आएको छ । यहाँको प्राचीनताको वर्णन गर्ने भग्नावशेष देख्न सकिन्छ, तर यसको औपचारिक उत्खनन र अध्ययन भने हुन सकेको छैन ।

 

यस त्रिवेणीधामको अर्को विशेषता भनेको काली गण्डकीमा मात्र पाइने शालिकराम शीला यहाँसम्म मात्र पाइन्छ, यहाँदेखि तल पाइँदैन । त्यसैले यस स्थललाई ‘मुक्तिनाथको द्वार’ भनेर पनि भन्ने गरिएको छ ।
वर्तमानमा त्रिवेणी भनिने गरेको स्थानलाई केही वर्षअघिसम्म ‘सहपुर’ भनिन्थ्यो । केही बौद्धसाहित्यका अध्येताहरूले ‘सदानीरा’ अर्थात् ‘कहिल्यै पानी नसुक्ने नदी’बाट अपभ्रंश भई सहपुर भनिएको अनुमान पनि गरेका छन् । बौद्धग्रन्थका अध्येताहरूका अनुसार शान्तिका अग्रदूत सिद्धार्थ गौतमले दरबार छोडेर हिँड्दा यसै नदीमा त्रिवेणीदेखि अलि तल हाल सुस्तामा पर्ने ठाडी—अनोमाघाटमा केशमुण्डन गरेका थिए र मगधतिर लागेका थिए ।
त्रिवेणीधाम र यसको वरिपरि शिवपुरगढी, गजेन्द्रमोक्षधाम, केउलानीमाईको मन्दिर, शिवालय लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, नागाकुटी, बालपुरी धुनी लगायतका धार्मिक तथा ऐतिहासिक महत्वका स्थानहरू रहेका छन् । यी स्थानहरूमा चैत्र वारुणी, रामनवमी, गङ्गादशहरा, हरिशयनी र हरिबोधनी एकादशी, निर्जला एकादशी, श्रीकृष्णजन्माष्टमी, श्रावण, नवरात्री, दीपावली, माघेऔँसी, शिवरात्री आदिमा धार्मिक मेला—पर्वहरू, परिक्रमायात्रा, आजा—पूजा, आरती, भोजन—भण्डारा आदि हुन्छन् ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने स्थान भएको हुँदा मनोरम प्राकृतिक दृश्य, गोही, वन्यजीव तथा चराचुरुङ्गीको रमणीयता यहाँका प्राकृतिक विशेषता हुन् । पहाड तथा तराई—मधेशका प्रायः सबै जाति समुदाय, धर्म—सम्प्रदायका मानिसहरूको बसोबास रहेको यो ठाउँ शान्त, सहिष्णु, सद्भावयुक्त हुनु यहाँको सामाजिक विशेषता हो ।

 

देशभक्ति कुनै कालखण्डमा कसैबाट भएको नकारात्मक कार्यमा मात्र अल्झिएर बस्नु होइन, त्यसकै बखानमा रमाउनु वा त्यसबाट दुःखि भएर अरु सबै ढोका थुन्नु होइन । देशभक्त हुनु भनेको सम्पूर्ण रूपमा देशलाई मायाँ गर्नु हो । यहाँका मूर्त तथा अमूर्त संस्कृति र सम्पदाहरूको बारेमा सचेत हुनु, थप जानकारीका लागि भौतिक एवं शास्त्रीय उत्खनन् गर्नु, संरक्षण, विकासका लागि उपायहरू पत्ता लगाउनु र कार्यरूप दिनु, मानवजीवनका लागि आवश्यक उपलब्धि प्राप्त गर्नु हो । 

दुई देशीय सीमा, धार्मिक स्थल, सुन्दर प्रकृति आदिका कारण त्रिवेणीधामको महत्व अति नै उच्च रहेको छ । स्रोत र शक्तिसहितको विकास समिति गठन गरी गुरुयोजना बनाएर लागू गर्न सके राष्ट्रिय हित, धार्मिक—सांस्कृतिक गौरव, आर्थिक समृद्धिको स्थल बन्न सक्दछ ।