अनलाइन बहस ।
सनातन संस्कृतिमा अनेकौँ चाडपर्वहरू छन् । यी सबै चाडपर्वहरूले कुनै न कुनै खास प्रसङ्ग वहन गरेकै हुन्छन्, अझ यसो भनौँ पुर्खाले प्राप्त गरेका मानवजीवनका लागि महत्वपूर्ण विषयको सम्मान तथा सम्झनामा चाडपर्वहरू मनाउने गरिन्छ । यिनै पर्वहरूमध्ये एउटा पर्व हो— गङ्गा दशहरा पर्व ।
ज्येठ महिनाको शुक्ल दशमी तिथिमा पर्ने यस पर्वबारे स्कन्दपुराणमा लेखिएको छ, ‘ज्येष्ठे मासि सिते पक्षे दशमी हस्तसंयुता । हरते दश पापानि तस्माद् दशहरा स्मृता अर्थात् जेठ महिनाको हस्ता नक्षत्रसहितको शुक्ल दशमीमा पर्ने यस दशहराका दिन गरिने पुण्य कर्मले दस पाप नाश हुन्छ ।’ कतिपय विद्वान्हरूका अनुसार पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय गरी दसै इन्द्रियबाट भएका—हुने पापहरू नास हुन्छन् ।
को हुन् त ती दस प्रकारका पाप ? भनिन्छ, तीन कायिक—शरीरबाट हुने, चार वाचिक—बोलीबाट हुने र तीन मानसिक—मनले चिताएर गरिने । जस्तो कि आफूले नदिएको वस्तुलाई मैले दिएको छु भनी अरूसँग लिनु, शास्त्रले गर्नुहुन्न भनी बताएको हिंसा गर्नु, परस्त्री गमन गर्नु यी तीन शरीर (कायिक) ले गरेका पाप हुन् भने, नमिठो वचन बोल्नु, झूठो बोल्नु अरूलाई दोष लगाउनु र निष्प्रयोजनका कुरा गर्नु यी वाचिक—वचन ले गर्ने पाप हुन् । अर्काको धनमाल खोसेर लिने विचार गर्नु, मनले अर्काको नराम्रा कुरा विचार गर्नु र नकारात्मक कुरा मात्र सोच्नु यी मानसिक (मनले गर्ने) पाप हुन् । यी दस किसिमका पाप गरिएको भए तापनि दशहराको स्नान गर्नाले यी नाश हुन्छ । शास्त्रीय एउटा प्रसङ्ग यस्तो छ ।
पौराणिक कथा अनुसार रामको जन्म अयोध्यामा सूर्यवंशमा भएको थियो । यिनका एक पूर्वज महाराज सगर चक्रवर्ती राजा थिए । यिनका केशिनी र सुमती नामका दुई रानी थिए । केशिनीका छोराको नाम असमञ्जस थियो भने सुमतीका छोराहरू साठी हजार थिए । असमञ्जसको छोरा अंशुमान् थियो । राजा सगरका असमञ्जससहित सबै छोराहरू अत्यन्त उद्दण्ड र दुष्ट प्रकृतिका थिए, तर नाति अंशुमान धार्मिक प्रकृतिका भए । उनी देवता र गुरुको पूजा गर्थे । छोराहरूको चालचलन देखेर दुःखी भएका महाराजले असमन्जसलाई देशबाटै निकालिदिए र अंशुमानलाई आफ्नो राज्यको उत्तराधिकारी बनाए। यिनका अरू साठी हजार छोराहरू देखेर देवताहरू पनि मा दुःखित थिए ।
एक दिन महाराज सगरले अश्वमेध यज्ञको अनुष्ठान गरेर सोको निमित्त घोडा छाडिदिए। इन्द्रले उक्त घोडा चोरेर पातालमा लगी कपिलमुनिको आश्रममा बाँधिदिए। ध्यानमा मग्न रहेका मुनिले कुरो थाहा पाउन सकेनन्। सगरका साठी हजार अहङ्कारी छोराले पृधिवाका कुना–कुनामा घोडा खोज्न थाले। उनीहरू खोज्दा खोज्दा दिक्क भएका थिए। आखिरमा सगरका साठीहजार छोराहरू पातालको बाटो लागे र कपिलमुनिको आश्रममा पुगे। उनीहरू त्यहाँ घोडा बाँधेको देखेर रिसले चूर भई हतियार उठाई कपिलमुनिलाई मार्न भनी दौड़दै गए। उनीहरूको आवाजले कपिलमुनिको तपस्यामा बाधा परेपछि उनले आफ्ना आँखा खोले। उनका आखाँबाट निस्किएको तेजले सगरका साठी हजार छोराको तत्कालै मृत्यु भयो ।
गरुडद्वारा यस घटनाको जानकारी पाएर अंशुमान कपिलमुनिको आश्रममा आए र उनीसँग विन्ती गरे । कपिलमुनि उनको अनुनयविनयबाट प्रसन्न भएर भन्नलागे – अंशुमान ! घोडा लिएर जाऊ र आफ्ना पितामह(बाजे)को यज्ञ पूरा गराऊ । यी सगरपुत्र उद्दण्ड अहङ्कारी र नास्तिक थिए, तसर्थ यिनीहरूको मुक्ति त्यसबेला हुनसक्छ । जुनबेला गङ्गाजलले यनीहरूको भष्म भएको खरानीलाई स्पर्श गर्दछ । अंशुमानले घोडा लिएर गई आफ्ना पितामहको यज्ञ पूरा गराए । महाराज सगरपछि अंशुमान् राजा बने । उनी आफ्ना काकाहरूको उद्धार कसरी गर्ने भन्ने चिन्तामा परे । त्यसको केही समयपछि राज्य आफ्नो छोरा दिलीपलाई सुम्पेर आफू बन गए । त्यसपछि उनी गङ्गालाई पृथिवीमा कसरी ल्याउन सकिन्छ भनी तपस्या गर्न थाले, तर तपस्या गर्दागर्दै उनको देहान्त भयो । महाराज दिलिपले पनि राज्य आफ्नो छोरो भगीरथलाई दिएर पिताकै कार्यको अनुसरण गर्न लागे । उनको पनि तपस्यामा लाग्दालाग्दै देहान्त भयो ।
उनले गङ्गालाई पृथिवीमा ल्याउन सकेनन् । भगीरथले ब्रह्माजीको घोर तपस्या गरे । यस तपस्याबाट प्रसन्न भएर पितामह ब्रह्माले भगीरथलाई दर्शन दिएर वर माग्न भने । ब्रह्माका कुरा भगीरथले भने, ‘मेरा साठी हजार काकाहरू कपिलमुनिका श्रापले भष्म भएका छन् । उनीहरूको मुक्तिका लागि गङ्गालाई पृथिवीमा पठाइदिने कृपा गर्नुहोस् ।’ भगीरथका कुरा सुनेर ब्रह्माले भने, ‘म गङ्गाजीलाई पृथिवीमा अवश्य पठाइदिनेछु, तर गङ्गाको वेग कसले रोक्न सक्दछ ? यसका लागि तिमी देवाधिदेव भगवान् शङ्करको आराधना गर ।’ ब्रह्माको आज्ञा अनुसार भगीरथले जमिनमा एक खुट्टा मात्र टेकेर शङ्करको आराधना गरे । उनको तपस्यादेखि प्रसन्न भएर भगवान् शिवले गङ्गालाई आफ्नो जटामा रोक्नुभयो र एकजटा भने पृथिवीमा छोडिदिए । यस प्रकार पृथिवीमा गङ्गाको अवतरण भयो । यसरी पृथ्वीमा गङ्गा अवतरण भएको यही दिन थियो । यसै सम्झना स्वरूप गङ्गा स्नान गर्ने, गङ्गाको पूजा गर्ने, यस खुसीमा उत्सव मनाउने चलन चल्दैआएको देखिन्छ । यी कथावस्तुलाई वैज्ञानिक हिसाबले अर्थ लगाउँदा मानव जीवनसँग पानीको सम्बन्ध र पानीका लागि एकै वंशका तीन पुस्ताले गरेको सङ्घर्ष बुझ्न सकिन्छ । यहीँबाट ठुलो प्रयत्नलाई भगीरथ प्रयत्न भन्न थालिएको स्पष्ट हुन्छ । हाम्रो जनजीवनमा दशहरामा के कस्तो गर्ने प्रचलन छ भन्ने विषयमा अनेकौँ स्रोतहरूको अध्ययन गरेका संस्कृतिविद् राजेन्द्रकुमार आचार्य(राकुआ) लेख्नुहुन्छ :
ज्येष्ठ शुक्ल दशमी तिथिमा दशहरो पर्छ (जोशी २०६७ः १२६) । यसदिन हस्त नक्षत्र त प्रायः पर्छ नै, बुधबार भएमा झन् राम्रो मानी महत्त्वका साथ मनाइन्छ (खतिवडा २०७४ः २७१) । पापमोचनार्थ जेठ शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिने गंगा उत्सवको परम्परा भएकोले यसलाई ’गङ्गा दशहरा’ भनिएको पाइन्छ (नेपाली बृहत् शब्दकोश २०७६) । जेठ शुल्क प्रतिपदादेखि दशहरा स्नान आरम्भ हुन्छ । प्रसिद्ध गोसाइँकुण्डमा पुगेर श्रद्धालु भक्तहरूले स्नान गरी नीलकण्ठ महादेवको दर्शन गर्छन् । कतिपय भक्तहरू प्रतिपदादेखि दशमीसम्म पुरै दश दिनपर्यन्त त्यहाँ बसी दैनिक स्नान, नीलकण्ठको ध्यान, शिव मन्त्रको जप, शिव पूजा, रुद्रीपाठ, शिव महिम्न स्तोत्र पाठ आदि गर्छन् । गङ्गा दशहराको दश दिनसम्म गोसाइँकुण्ड जस्ता पवित्र तीर्थस्थलमा नित्य स्नान गर्नाले हत्या सहितका दश प्रकारका पाप पखालिन्छन् भन्ने विश्वास गरिन्छ (नेपाली बृहत् शब्दकोश २०७६/शर्म्मा नेपाल २०५४ः ) ।
तदनुसार स्नान गरी नदीलाई पूजा गर्ने मन्त्र :
‘ओं नमो भगवत्यै दशपाप हरायै गङ्गायै नारायण्यै रेवत्यै शिवायै दक्षायै अमृतायै विश्वरूपिन्यै ते नमोनमः । नमामि नारायणि पाद पङ्कजं सुरासुरै वन्दित दिव्य रूपम् । भुक्तिं च मुक्तिं च ददासि नित्यं भावानुसारेण सदा नराणाम् ।’
त्यस्तै, ’दशहरा’ स्नानले पाप पखालिने मन्त्रः
अदत्तानां उपादानं हिंसा चैवाविधानतः । परदारोपसेवा च शारीरं त्रिविधंस्मृतिम् ।
पारुष्यमनृतं चैव पैशुन्यं चापि सर्वशः । असम्बद्ध प्रलापश्च वाङ्मयं स्याच्चतुर्विधम्
परद्रव्येष्वभिध्यानं मनसानिष्ट चिन्तनम् । वितथाभिनिवेदश्च त्रिविधं कर्ममानसम्
(अर्काको वस्तु हरण, शास्त्र वर्जित हिंसा र परस्त्री गमन– कायिक पाप, रुखो बोली, झुटो बोली, पछाडि कुरा काट्ने र बेकामका कुरा गर्ने– वाचिक तथा अर्काको धन अन्याय पूर्वक लिने विचार, अर्काको कुभलो चिताउने र नास्तिक भाव– मानसिक पाप हुन् (त्रिपाठी २०८०ः २९) ।“
गङ्गा दशहरामा नेपाल र भारतका विभिन्न तीर्थस्थलहरूमा उत्सव हुने र मेला लाग्ने गर्छन् । रिडी क्षेत्रको हृषीकेश मन्दिरमा हृषीकेश भगवानको पूजापाठ, आरती आदि गरी उत्सव मनाइन्छ । त्यो बेला योगीहरू, योगिनी–भक्तिनीहरूलाई सिधा–दक्षिणा दान गरिन्छ । दीनदुःखीहरूलाई चामल, फल, पैसा आदि दिइन्छ । परेवालाई अन्न दान गरिन्छ । हुनेखाने र मनकरीले भण्डारा पनि लगाउँछन् ।
हुम्लाको जैर गाउँमा तीन दिनसम्म गङ्गा दशहरा मनाइन्छ (गोकुल बुढा) ।
दशहराको दिन वज्रगुरु पद्मसम्भव जन्मजयन्ती बौद्ध परम्परा अनुसार मनाउने गरिन्छ (खतिवडा २०७४ः २७१) । काठमाडौँ उपत्यकामा पशुपतिक्षेत्रको आर्यघाटमा रहेको गङ्गामाईको मूर्तिलाई रथमा बोकेर पशुपतिक्षेत्रका वनकाली, ताम्रेश्वर, जयबागेश्वरी आदिको परिक्रमा गराई फर्काएर पशुपतिमा ल्याई पूजा, धूप, आरती आदि गरिन्छ । रथलाई घुमाएर गौशालाको वज्रधरमा पुराएपछि सो संवत्सरका लागि जात्रा समाप्त गरिन्छ । रथजात्राका सहभागीले पञ्चैबाजा, धिमेबाजा, नायखीबाजा बजाउने र रथ बोक्ने र दर्शकले जयजयकार गर्नेगर्छन् । रथयात्राका क्रममा राजप्रतिनिधिको रूपमा रथमा खड्ग राख्ने गरिन्छ (खतिवडा २०७४ः २७१) ।
भारतका गङ्गानदी किनारका सहरहरू, जस्तैः बनारस, प्रयाग, हरिद्वार, पटना आदिमा गङ्गामाईको मूर्ति वा पुतला सिंगार्ने, पुज्ने, धूप–आरती गर्ने र भजन–कीर्तन गाउने गर्छन् । ग्रामीण समाजमा दशहरो आयो भन्दै सो दिनको बिहान पाएक पर्ने नदी, घाट, कुण्ड, पोखरी, धारा, कुवा आदिमा स्नान गरी दश प्रकारका सागपात र तरकारीका मुन्टा, ठोँसा, पलौटा पात आदि जम्मा गरी दरशहरे तरकारी पकाएर स्वाद लिने व्यापक प्रचलन छ ।
न्युरो, जलुका, डौँडे, खुर्सानीका मन्टा, बोडीसोस्ताका मन्टा, कबेलीका मन्टा र पात, कुकुरडाइनोका मन्टा, निगालाका ठोँसा, गिठाका ठोँसा, मुला, विभिन्न सागहरू, केराउका मन्टा, कर्कलो आदि दशथोक नयाँ वनस्पति जुटाएर दशहरो तिउन पकाएर खाँदा वर्षैभरि मिठा र धेरै प्रकारका तिउन–तरकारी खान पाइन्छ भन्ने विश्वास छ ।
सबैलाई दशथोक जुटाउन गाह्रो पर्ने भएको हुनाले उपलब्ध सागपातहरू छरछिमेक र आफन्तहरूमा बाँडचुँड गरेर चाख्ने गरेको पाइन्छ । यसरी तीर्थमा स्नान गर्ने, गङ्गामाईलाई सम्झने र १० प्रकारका सागपात जम्मा गरी मिठो तरकारी खाएर मनाउने पर्व हो यो दशहरो ।