काठमाडौँ - बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनालाई कम्पनी मोडलमा अघि बढाउने निर्णय गरेको हो ।
ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत आयोजना निर्माणको काम अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । अर्थ, विद्युत प्राधिकरण, ऊर्जा, स्थानीय तह, सर्वसाधारण सहितको सेयर राखेर बनाउने निर्णय भएको उनले जानकारी दिए । केही समय अघिको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई नदिइ स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो ।
आइतबार एक सार्वजनिक कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बूढीगण्डकी आयोजना छुट्टै कम्पनीमार्फत बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको जानकारी दिएकी थिइन् । उनले आगामी आर्थिक वर्षबाटै आयोजनाको निमार्ण सुरु गर्न सकिने उनको भनाइ थियो ।