काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको केन्द्रीय समिति वैठकमा पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुको नाम प्रस्तुत गर्ने तयारी गरेका छन् ।
चार दिनदेखि काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको बैठक आज (बुधबार) पनि बस्दैछ । आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि सदस्यहरुले आफ्नो धारणा राख्ने भएका छन् ।
माओवादी केन्द्रको बैठक आइतबारदेखि शुरु भएको हो । बैठकमा प्रचण्डले १० पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन् । तर, हलबाट पदाधिकारी चयन हुनुपर्ने दबाव बढेपछि सोमबारको मंगलबारको बैठक स्थगन गरेर कार्यालयको बैठक डाकिएको थियो ।
मंगलबार खुमलटारमा बसेको कार्यालयको बैठकले पदाधिकारीको प्यानल तयार पार्ने जिम्मा प्रचण्डलाई दिएको छ । माओवादीको महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । तर पुन र शर्माबीच सहमति नभए बाहिरबाट पनि महासचिव बनाउन सकिने संकेत प्रचण्डले गरेका छन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ स्वाभाविक दाबेदार हुन् भने कृष्णबहादुर महरा र मात्रिका यादवले समेत दाबी गरेका छन् । पदाधिकारीको होमवर्क सकिएन भने बुधबारको बैठकमा प्रतिवेदनमाथि मात्रै छलफल गरेर पदाधिकारीको अर्को बैठकमा प्रस्तुत हुने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा क-कसलाई राख्ने भन्नेबारे बुधबार बिहान प्रचण्डनिवास खुमलटारमा कार्यालयको बैठक बसिरहेको छ ।