images
images

कोइराला समूहको बैठक २ बजे पुनः बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पुनः बस्ने भएको छ।

बिहीबार राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज शुक्रबार दिउँसो २ बस्ने भएको हो।

हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्स निकालिएको थियो।

१४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरूले असन्तुष्टि जनाएका थिए।

नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेकोसमेत आरोप लगाएका छन्।

देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए।

देउवाको मनोमानी कायमै रहेमा ‘रचनात्मक’ विद्रोह गर्नुपर्ने सो समूहका नेताहरुले बताउँदै आएका छन् । हिजोको बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, महामन्त्री गगन थापा, सह-महामन्त्री जीवन परियार, केन्द्रीय सदस्य डा. रामशरण महत, बलबहादुर केसी, उद्योगमन्त्री समेत रहेका नेता दिलेन्द्र बडू, सरिता प्रसाई, गोविन्द पोखरेल र चन्द भण्डारी सहभागी थिए ।

यस्तै रामकृष्ण यादव, किरण यादव, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, जगदीशनरसिंह केसी, सञ्जयकुमार गौतम र प्रतिमा गौतम पनि बैठकमा उपस्थित थिए । बैठकमा पुगेका डा. महत सुरु भएको केहीबेरमै निस्किएका थिए ।