वाम—लोकतान्त्रिक आन्दोलनका अविश्रान्त योद्धा जननायक कमरेड तुल्सीलाल अमात्यको जन्म वि.सं. १९७३ जेठ १४ गते पाटनको कोबहाल टोलको एउटा साधारण परिवारमा भएको थियो भने वहाँको देहान्त वि.सं.२०५४ आजैका दिन अर्थात् श्रावण १७ गतेका दिन भएको थियो । अगस्ट १९४६ मा भारत अंग्रेजको दासताबाट मुक्त भएको अवसरमा नेपाली जनताको तर्फबाट भारतीय जनताप्रति एक्यबद्धता र बधाई ज्ञापन गर्ने उद्देश्यले पाटनमा आयोजित विशाल जुलुसको नेतृत्व कमरेड लुल्सीलाल अमात्य र नेपालका प्रसिद्ध गान्धीवादी नेता तुल्सीमेहर श्रेष्ठले गर्नु भएको थियो । राणाहरूको पारिवारिक एवं निरंकुश शासनले जकडिएको नेपाली इतिहासको त्यस कालखण्डमा राजनीतिक गतिविधिको संलग्नतालाई भयङ्कर अपराध घोषित गरी मृत्युदण्ड समेत दिइन्थ्यो । हातमा नाङ्गो तरबार बोकेका राणा शासकका सैनिकहरूले कमरेड अमात्यलाई सयौं व्यक्तिहरू सम्मिलित उक्त जुलुबाट गिरफ्तार गरेका थिए । फलस्वरूप वहाँलाई कठोर यातना सहित ६ महिना जेल सजायँ दिइएको थियो । वहाँ पक्राउ परेको तेस्रो दिन वहाँको पिताजीको देहान्त भयो । जेलमा छदैँ वहाँको पहिलो श्रीमतीको मृत्यु भयो । २००७ सालमा राणा, नेपाली कांग्रेस र राजाबिच सम्पन्न भएको त्रिपक्षीय सम्झौताको विरोध गरेको अभियोगमा पार्टीको रक्सौल स्थित कार्यालयमा भारतीय शसस्त्र प्रहरीले घेराउ गरी कमरेड अमात्यलाई गिरफ्तार गरेका थिए । तत्पश्चात वहाँलाई भारतीय शासकहरूले ८ महिना भागलपुुर जेलमा बन्दी बनाएका थिए ।
तराई मधेशका विभिन्न जिल्लाहरूका मिटर ब्याज पीडितहरू १०/१२ दिनसम्म पैदल हिँडेर काठमाडौँ पुगी लामो समयसम्म जारी राखेको आन्दोलन मिटर ब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाद्वारा पारित भएर राष्ट्रपतिले सदर गरेपछि मात्र केही मत्थर भएको छ । साहु–महाजनले गैरकानुनी रूपमा बनाएको तमसुक खारेजी, हडपेको जग्गा, सम्पत्ति र बढी लिएको पैसा फिर्ता लगाएतका माग राखी उनीहरू आन्दोलनरत थिए ।
धेरैलाई आश्र्चय लाग्न सक्दछ कि काठमाडौँ उपत्यकाको एउटा नेवार समुदायमा जन्मेर हुर्केको र उच्च शिक्षा (स्नातकोत्तर) हासिल गरेका कमरेड तुल्सीलालले आजभन्दा ६०/६५ वर्ष अघि बारा, सर्लाही र रौतहट जिल्लामा तिनै मिटर ब्याज पीडित किसानहरूलाई जागृत गरी आन्दोलनको आँधितुफान नै ल्याउनुभएको थियो । वि.सं. २००५ तिर नेपाली राष्ट्रिय काङगे्रसमा छँदै यसको जनवर्गीय संगठनको रूपमा अखिल नेपाल किसान मजदुर संघ बनाउनु भएको थियो । पछि वहाँ नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा आबद्ध भएपछि पार्टीको निर्णय अनुसार मजदुर संघ र किसान संघ अलग–अलग गरियो । मजदुर संघको महासचिवमा क. मनमोहन अधिकारीलाई नियुक्त गरेपछि वहाँ मजदुर आन्दोलनको नेतृत्व गर्न विराटनगरतर्फ लाग्नु भयो भने अखिल नेपाल किसान संघको अध्यक्षमा कमरेड तुल्सीलाल अमात्य नियुक्त भएर रौतहट, बारा, सर्लाही र महोत्तरी पुगी किसानहरूलाई संगठित गर्न थाल्नु भएको थियो । यस आन्दोलनमा यी जिल्लाहरूबाट तीन लाख किसानहरूको सक्रिय सहभागिता रहेको थियो । त्यस बखत रु. दुई करोड बराबरको जाली तमसुक सार्वजनिक रूपमा जलाइएको थियो । यस आन्दोलनका नाराहरू थिए, ‘जाली तमसुक रद्द गर, जालीफटाहालाई दण्ड देऊ, मोहियानी हक कायम गर’ आदि । यही आन्दोलनको राप–तापको कारणले नै २०१५ सालको संसदीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले जितेको ४ वटा सिटमध्ये २ वटा सिट रौतहटबाट थियो । कुल १०९ संसदीय सिटमध्ये नेपाल कम्युनिष्ट पार्टीले जितेका ४ वटा सिटमा रौतहटबाट शेख फरमान र हर्दयाल महतो, पाल्पाबाट कमलराज रेग्मी र ललितपुरबाट स्वयं तुल्सीलाल अमात्य हुनुहुन्थ्यो । नेकपा संसदीय दलको नेताको रूपमा वहाँले संसदमा सशक्त भूमिका निर्वाह गर्नुभएको थियो । गण्डक सम्झौता, बिर्ता उन्मूलन र प्रगतिशील मालपोत, भारतबाट वनस्पति घिउको आयात विरुद्ध संसदमा आवाज उठाउँदा वहाँलाई सुरक्षा कानून अन्तर्गत गिरफ्तार गरी नजरबन्द समेत गरिएको थियो ।
२०१७ साल पौष १ गतेका दिन राजा महेन्द्रले संसद विघटन गरी पार्टीहरूमाथि प्रतिबन्ध लगाएपछि वहाँ लगायत पुष्पलाल श्रेष्ठ लुकिछिपी भारत पुग्नु भएको थियो । नेकपाका तत्कालीन महासचिव केशरजंग रायमाझीले राजाको कदमको समर्थन गरी पार्टीलाई आत्मसमर्पणवादी बाटोमा लगेकोले कमरेड तुल्सीलाल र कमरेड पुष्पलालले अन्तरजोन सामञ्जस्य समिति गठन गरी २०१९ साल बैशाखमा नेकपाको तेस्रो महाधिवेशन भारतको बनारसमा आयोजना गरिएको थियो । उक्त महाधिवेशनले कमरेड तुल्सीलालद्वारा प्रस्तुत ‘राष्ट्रिय प्रजातन्त्र’ को कार्यक्रम पारित गरी वहाँलाई सर्वसम्मत रूपले महासचिवमा निर्वाचित ग¥यो । तेस्रो महाधिवेशनले केशरजङ्ग रायमाझी र उनका समर्थकहरूलाई पार्टी सदस्यताबाट निलम्बन गरी नेकपालाई क्रान्तिकारी धारमा उभ्याउन कमरेड तुल्सीलालको अहम् भूमिका रहेको थियो ।
२०४५/४६ सालको बहुदल स्थापनाको आन्दोलनमा ७ वटा कम्युनिष्ट पार्टीहरूको साझा मोर्चाको संयुक्त वाममोर्चा गठन भएकोमा वहाँ यसको मानार्थ अध्यक्ष बन्नु भयो । २०४६ साल फागुन ७ गतेदेखि सञ्चालन भएको ऐतिहासिक जनआन्दोलनको दौरान् कम्युनिष्ट पार्टीको रातो झण्डा हातमा लिएर पञ्चायती शासकहरूलाई चुनौती दिँदै खुल्ला रूपले सडकमा आउने वहाँ पहिलो नेता हुनुहुन्थ्यो । तत्कालै पञ्चायती शासकहरूले वहाँलाई गिरफ्तार गरी जेल चलान गरेका थिए । जनआन्दोलनको सफलताको फलस्वरूप नेपालमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि मात्र वहाँ जेलमुक्त हुनुभएको थियो ।
गत साउन ६ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औँ स्मृति दिवस, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस श्रावण ७ गते मनाइसकिएको छ भने नेपाल कम्युनिष्ट पार्टीको तृतीय महाधिवेशनद्वारा निर्वाचित महासचिव, नेपालमा सम्पन्न पहिलो आमनिर्वाचनद्वारा स्थापित संसदमा नेकपा संसदीय दलका नेता, नेपालको लोकतान्त्रिक कम्युनिष्ट एवं किसान आन्दोलनका अगुवा कमरेड तुल्सी लाल अमात्यको २६ औँ स्मृति दिवस आज साउन १७ गतेका दिन पर्दछ । नेपालको राजनीतिका यी तीन जना मूर्धन्य व्यक्तित्वहरूको लोकतन्त्र प्राप्तिको आन्दोलनमा, चाहे त्यो जहानीया राणाशासन विरुद्धको आन्दोलन होस वा निरंकुश पञ्चायत विरुद्धको आन्दोलन होस, विशेष्ट योगदान रहेको छ । वहाँहरूले अँगालेको सिद्धान्त, नीति विचाार, आदर्श, मूल्यमान्यता, जीवनशैली, आचरण, त्याग–बलिदानको सार्थकता एवं परिकल्पना गरेको शोषण मुक्त समृद्ध समाज एवं सबै जनतालाई समान अवसर प्रदान गर्ने समतामूलक समाजवादी समाज स्थापनाको अवस्था वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा कस्तो छ ?
विश्वेश्वरप्रसाद कोइराला २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जनर्विाचित प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका थिए । नेपाली काङगे्रसको मूल राजनीतिक सिद्धान्त भनेको विपीको समाजवाद हो । विपी प्रधानमन्त्री हुँदा बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए । नेपाली काङग्रेसको प्रजातान्त्रिक समाजवाद सन् १९९० को दशकताका अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) जस्ता अन्तराष्ट्रिय वित्तिय संस्थाहरूको दबाव र निर्देशनमा उनीहरूको हित अनूकुल हुने गरी भारतका तत्कालिन प्रधानमन्त्री पी.भी.नरसिंह राव र तत्कालीन अर्थमन्त्री मनमोहन सिंहले नयाँ आर्थिक नीति अन्तर्गत भारतमा चलाएको उदारीकरण (Liberalization), निजीकरण (Privatization), भूमण्डलीकरण (Globalization) अर्थात् (LPG) को आँधिबेहरीमा परी मृत्युवरण हुन पुग्यो ।
जतिबेला भारतमा उदारीकरण (Liberalization), नीजिकरण (Privatization) र भूमंडलीकरण (Globalization) को अभियान व्यापक रूपले चलेको थियो, ठिक त्यति नै बेला नेपालमा पञ्चायती व्यवस्था धरासायी भएर बहुदलीय व्यवस्था अन्तर्गत दोस्रो आमनिर्वाचनमा बहुमत प्राप्त गरी नेपाली काङगे्रसको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका सार्वजनिक संस्थानहरू र उद्योगहरू निजीकरण गरी समाजवाद विपरितको दिशामा अग्रसर हुने कुचेष्टा ग¥यो । वर्तमान अवस्थामा नेपाली काङगे्रस विश्वेश्वरप्रसाद कोइरालाले अपनाएको नीति र सिद्धान्त पूर्ण रूपले लत्याउँदै वर्षमा एकचोटि वीपी स्मृति दिवसको कर्मकाण्डमा मात्र सीमित हुन पुगेको छ । महान प्रजातन्त्रवादी एवं समाजवादी चिन्तक स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाप्रति श्रद्धासुमन ।
कमरेड पुष्पलाल श्रेष्ठ र तुल्सी लाल अमात्य आफ्नो राजनीतिक यात्राको सुरुमा नेपाली राष्ट्रिय काङगे्रससँग सम्बद्ध हुनुहुन्थ्यो । कमरेड पुष्पलाल नेपाली राष्ट्रिय काङगे्रसको केन्द्रीय कार्यालय सचिव र कमरेड तुल्सी लाल अमात्य उक्त पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । तर अन्ततोगोत्वा कमरेड पुष्पलाल र तुल्सी लाल अमात्य दुवै जनाले काङ्गे्रससँग सम्बन्ध विच्छेद गरी नेकपाको सुरुआती एवं कठिन अवधिदेखि कम्तीमा पनि २०१९ सालमा भारतको बनारसमा सम्पन्न नेकपाको तेस्रो महाधिवेशनसम्म सँगै उच्च नेतृत्व तहमा रहनुभएको थियो । कमरेड पुष्पलालले २००६ बैशाख ९ गते आफ्नो अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोती देवीलाई समावेश गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गर्नु भई यसको संस्थापक महासचिव बन्नु भयो । कमरेड तुल्सी लालले बनारसमा कमरेड पुष्पलाललाई भेटेपछि २००६ साल भाद्र ३० गते अर्थात् १५ सेप्टेम्बर १९४९ मा बनेको पहिलो केन्द्रीय संगठन कमिटी (COC) को सदस्य बन्नु भयो । यहाँ आश्र्चयको कुरा त के छ भने नेकपाको स्थापनामा समावेश भएका निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी र मोती देवीमध्ये कसैलाई पनि पहिलो केन्द्रीय संगठन कमिटीमा समावेश गरिएको थिएन । उक्त कमिटीमा कमरेड पुष्पलाल, कमरेड तुल्सीलाल, कमरेड मनमोहन अधिकारी, कमरेड शैलेन्द्रकुमार उपाध्याय, कमरेड डी.पी अधिकारी र भारतीय नागरिक भाइसाहेब (अयोध्या सिंह) थिए । पहिलो केन्द्रीय संगठन कमिटी गठन भएको दिन नै नेकपाको पहिलो घोषणा पत्र जारी गरिएको थियो । उक्त घोषणा पत्रमा जमिन्दारहरूको जमिन जफत गरी किसानहरूमा वितरण गर्ने तथा नेपालमा समाजवाद स्थापना गर्ने उल्लेख गरिएको थियो । नेकपा स्थापनाको ७५ औँ वर्ष गाँठ मनाइसकिएको छ । कम्युनिष्ट पार्टीबाट मनमोहन अधिकारी, केपी ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई गरी आधादर्जन प्रधानमन्त्रीहरू बनिसक्नुभयो । कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको अवधिमा वृद्ध भत्ता, आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचार आफै गर्न नसक्ने, लोपोन्मुख जातिको लागि भत्ताहरू दिने व्यवस्था गरिएको छ । तर क्रान्तिकारी भूमि सुधारद्वारा कति किसानले जमिन प्राप्त गरे ? सर्वहारा मजदुर, गरिब किसान, भारी बोक्ने कुल्ली, ठेलागाडावाल आदिको जीवनमा कति परिर्वतन आयो ? स्वास्थ्य, शिक्षा, रोजगारीको क्षेत्रमा आमजनताको हितका लागि कति उपलब्धि हासिल हुन सके ? आदि प्रश्नहरू निराकरण हुन बाँकी नै छन् । कम्युनिष्ट पार्टीको पहल, प्रभाव र अगुवाइमा समाजवाद स्थापनाको उद्देश्यलाई नेपालको संविधान २०७२ मा समावेश गराइए तापनि समाजवाद प्राप्तिका लागि आवश्यक पर्ने आधारहरू तयार हुन सकेका छैनन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनले तथा नेकपा माओवादी केन्द्र र नेकपा (समाजवादी) को नेपाली काङगे्रस जस्तो पुँजीवादी–दक्षिणपन्थी पार्टीसँग सत्ता स्वार्थका लागि गरिएको गठबन्धनले समाजवाद स्थापनाको उद्देश्यलाई अझ पर धकेलेको छ । हिजोको निरंकुश पञ्चायती व्यवस्थाका कठिन दिनहरूमा पनि कम्युनिष्ट नेता र कार्यकर्ताहरूमा सिद्धान्त र विचारप्रति आस्था, प्रतिबद्धता, आत्मविश्वास र बलिदानी भावना पाइन्थ्यो । तर आज यसको ठिक विपरित कम्युनिष्ट नेता र कार्यकर्ताहरूमा सुविधाभोगी र असरवादी प्रवृत्तिले गर्दा वर्गीय आत्मीयता र सम्बन्धमा दरार उत्पन्न भई एउटा कम्युनिष्ट पार्टी र अको पुँजीवादी पार्टी बिचको भिन्नता पाउन कठिन भएको छ । तसर्थ, आजको प्रमुख सवाल भनेको कमरेड पुष्पलाल र कमरेड तुल्सीलालको स्मृति दिवसलाई वर्षमा एकचोटि गरिने कर्मकाण्डमा मात्र सीमित नराखी उहाँहरूले अपनाएका नीति, सिद्धान्त र विचारको आधारमा कम्युनिष्ट पार्टीलाई सञ्चालन गरी समाजवाद स्थापानाका लागि प्रतिबद्ध रहनु नै उहाँहरूप्रति सच्चा श्रद्धाञ्जली ठहर्नेछ । कमरेड पुष्पलाल र कमरेड तुल्सीलालमा श्रद्धासुमन ।
चाहे राणाशाही विरोधी आन्दोलन होस् वा निरंकुश पञ्चायत विरोधी आन्दोलन होस् वा किसान आन्दोलन होस् वा राष्ट्रियताको आन्दोलन होस् वहाँ सधै अग्रपङ्क्तिमा रही निःस्वार्थ र अविछिन्न रूपले अघि बढ्नुभयो । । राजनीतिक संघर्षको दौरान् राणाकालमा २ पटक र पञ्चायत कालमा एक पटक गरी ३ पटक सर्वस्वहरण गरिएको थियो । वहाँले राजनीति, अर्थशास्त्र र दर्शन सम्बन्धी थुप्रै पुस्तकहरू पनि लेख्नुभएको छ । जीवनको अन्तिम कालमा वहाँले चीनका लागि नेपाली राजदुतको रूपमा नेपाल र चीन बिचको बहुआयामिक सम्बन्धलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । कमरेड तुल्सीलाल अमात्यले अपनाएको जीवनशैली, आचरण, व्यवहार, निःस्वार्थपन, सिद्धान्त प्रतिको निष्ठा एवं प्रतिबद्धतालाई अनुसरण गर्न सकेमा र नेपालमा समाजवाद निर्माणको सही बाटोमा अग्रसर हुन सकेमा मात्र वहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
(लेखक तुल्सीलाल स्मृति प्रतिष्ठानका महासचिव हुनुहुन्छ ।)