images
images

इतिहासको आँखीझ्याल: खस्यौलीमा खस र रूपान्तरित बुटवल !

त्यतिबेला बटौलीपूर्वको खयर घारीमा जुम्लातिरबाट खसहरू खच्चड लिएर हिउँदमा बस्ने र गर्मी चढ्न थालेपछि उँभो लाग्ने गर्थे । खस सम्राट रिपु मल्ल, जितारी मल्ल यसै बाटो काठमाडौँ जाने-आउने गर्थे । त्यस ठाउँको नाम खस+आवली भन्दाभन्दै खस्यौली नाम जुरेको रहेछ, जसलाई बटौलीले खाँदै गयो । राजमार्गहरू खुलेपछि पारी बटौली वारि सर्यो । मसँग पुरानो चेकबुक रा.वा. ब्याङ्कको बुटवल खस्यौली लेखिएको अझै छ । बुटवल खस्यौली नगर पञ्चायतको मुखपत्र बुटवल खस्यौली अर्को प्रमाण छ ।

 

खसको व्यापक अर्थ:
सानामा हामीले सुन्दा जान्दा खस भनेका छेत्री रे ! बाहुनबाट खसेर बनेका खस्यौटा रे ! तर खसानमै गएर, जडानसमेत छिचोलेर झण्डै एक दशक रुखोसुखो खाएर कहिले हिउँ त कहिले औलोले कँपाएर भए पनि बस्ने मौका पाउँदा भाषा–संस्कृतिको, इतिहास र जीवनपद्धतिको अध्ययन गर्दा चाल पाइयो खस त ककेसस पर्वतमालाको कछारी ककेसिया, कश्यप सागरबाट वाहीकको कसगर, सिरियाको कसकोउल, इराकको कस्सु साम्राज्य, इरानको खसीस्तान, कस्मिर, खसान भूभाषिक पुरातत्व सहितको सभ्यता बोकेको विशाल भाषिक समुदायलाई रहेछ । यसभित्र छेत्री मात्र होइन बाहुन, दशनामी, कामी, सार्की, दमाई, राउटे, कुसुण्डा, शौकाब्याँसी आदि परम्परागत पेशेवर वर्ग पर्दा रहेछन् । खसका पुर्खा नागराजले तिब्बतको खारी प्रदेशस्थित पुराङ गुँगेमा आफ्नो खस राज्यको राजधानी तुल्याएर पछि न्यानो र उर्वर ठाउँ खोज्दै हाट सिँजामा सारेछन् । हिउँदमा जाडो छल्न दुल्लु पनि राजधानी बनाएछन् । बाह्रौंदेखि पन्ध्रौँ शताब्दीको आधासम्म करिब साढे तीन सय वर्ष सिँजा खससाम्राज्य चलाएछन् उनका सन्ततिले । बलि रावलदेखि शोभन शाहीसम्म बाइसे राज्य जुम्ला चलाएका रहेछन् । रिपु मल्लले नेपाल उपत्यका र वरपरका राज्यहरूलाई करद तुल्याएर फर्कँदा लुम्बिनीमा पसी अशोकस्तम्भमा आफ्नो नाम कुँदाएको अहिले पनि देख्न सकिन्छ । गोर्खाको ताग्धाई गुम्बामा प्राप्त अभिलेख अनुसार गोरखा करद रहेको बुझिन्छ । यी खसहरूको पूर्व आगमनको सङ्केत स्वरूप पाल्पा र बुटवलमा खस आवली निर्माण भएका रहेछन् । अर्घाखाँची जिल्लाको उत्तरमा पर्ने खसकोट, गुल्मी मुसिकोटको तोलादी खसथोक, बागलुङको गल्कोट स्थित गाइने बस्ती खसगाउँ, कपिलवस्तुको खसबिजुवा दरखसवा, पाल्पा रुप्सेको खसाडी आदि स्थानहरू पनि खससभ्यताका परिचायक हुन् । खसहरू विचरण गर्दा स्थापित र प्रचलित नामहरू खोज्ने हो भने अझै भेटिन्छन् ।

 

छुटपुट चिनारी :
तत्कालीन हैजा र गुहुको खानी बटौली खसौलीमा अहिले सफा, सुन्दर र उन्नत बुटवल सहर मौलाउँदो छ । विक्रम सम्वत २०१६ मा स्थापित बुटवल नगरपालिका पञ्चायती व्यवस्था लागू भएपछि बुटवल खस्यौली नगर पञ्चायत बन्यो । विक्रम संवत २०१६ भन्दा पहिले यसलाई बुटवल ग्राम पञ्चायत  भनिन्थ्यो । पञ्चायती व्यवस्थाको अवसानपछि यो बुटवल नगरपालिका बन्यो । २०७३ सालदेखि मोतीपुर र सेमलार गाउँ विकास समितिहरू थपेर ७९५३ .१० हेक्टर अथवा ६९.२८ वर्ग किमि क्षेत्रफल भएको बुटवल उपमहानगरपालिका बन्न पुग्यो । समुद्र सतहदेखि यसको उँचाइ १८३ मिटरदेखि १०१३ (नुवाकोट चुचुरो) सम्म रहेको छ । वार्षिक सरदर ३६९३ मिलिलिटर वर्षा हुने गर्छ । औसत तापक्रम हिउँदमा ७ डिग्रीदेखि गर्मीमा ४२ डिग्री सेल्सियस सम्मको अभिलेख पाइन्छ । यसको पूर्वमा रुपन्देही जिल्लाकै देवदह नगरपालिका, पश्चिमतिर रुपन्देहीको सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका तथा दक्षिणतर्फ रुपन्देहीको तिलोत्तमा नगरपालिका र शुद्धोदन गाउँपालिका रहेका छन् । यसलाई पाल्पाको देउरीमा शिर रहेको र त्यहाँदेखि विभिन्न खोलाहरू मिसिएर बढ्दै आउने नदीले चिरेर दुई फक्लेटा तुल्याएको छ । यहाँबाट निस्कने सोह्र छत्तीस कुलाले रुपन्देहीका तत्कालीन सोह्र मौजा र छत्तीस गाउँका खेतहरू सिँचाइ गर्ने भएकाले यसो नाम सोह्र छत्तीस पर्न गएको भनाइ छ । हात्तीसुँढमा बाँध बाँधी नहर खनेर भारतले रुपन्देही कटाई भारतमा पुऱ्याए पनि बाढीले बाँध भत्काइदिएकाले यो योजना त्यसै खेर गयो । अहिले यसै नहरको दुई किनारबाट बेल्वास–बेथरी राजमार्ग बनाइँदैछ । नेपाल एकीकरणपछि पाल्पा गौँडामा अमरसिंह थापा बसे । यसपछि बुटवल क्षेत्रलाई चार टप्पा अथवा तप्पामा बाँडेको थियो । बुटवलमा नुनको अभाव भएको बेला ढाक्रेहरू तिनाउ नदीको पश्चिमी किनारै किनारको बाटो बेथरीमा निस्कन्थे रे । त्यहाँ पनि नपाए रेलमार्गको स्टेसन बनेको नौतुना बजारमा पुगी नुनेथैलामा नुन भरेर ल्याउँथे रे । तिनाउ नतरीकनै बटौलीबाट फुलबारी हुँदै नुवाकोट निस्केर दोभान झरी कोही सिस्ने खोला मस्यामतिर त कोही खोलै खोल अप्ठ्यारो बाटो औल्ला खोला–माडी हुँदै उत्तरतिर जाने गर्थे रे । दानव नदी अघि नदीको रूपमा थिएन रे, झाडन स्वरूपको थियो रे । त्यसलाई लप्टन ज्योतिमान सिमागौँडाले नहर खनाएर पश्चिम दक्षिणतिर लगेका रे । तिनाउमा बाढी आउँदा पश्चिमतिर हानिएर नदीको भड्खालो बनेको रे । दक्षिण लाने नहरमा लुम्बिनीभन्दा यता बाँधसम्म ’गुण्डीझाला’ लगाएर खन्ने, सोहोर्ने र बाँध चलाउने गरिन्थ्यो रे । नुवाकोटभन्दा पश्चिमतर्फको काठै काठले बनेको काठेगढी असुरक्षित अवस्थाका लागि भनेर बनाइएको थियो रे । पश्चिमतिरबाट हुन सक्ने आक्रमण रोक्न सतगढी खोलामाथि थुम्कामा किला बनाएर सेना राखिन्थ्यो रे । त्यसै गढीको नाउँबाट खोलाको नामै सतगढी खोला पर्न गयो ढबाहामा । ढबाहामा अघि ठूलो ढाप वा धाप थियो रे जहाँ चुरे खहरिएर पछि पुरिएको रे । सेमलारको चम्कीपुरको इनार नै यस क्षेत्रको सबभन्दा ठूलो र प्रख्यात इनार हो रे । अङ्ग्रेज सेना जितगढी हान्नलाई तिनाउको पूर्वी किनारैकिनार आएको थियो रे ।

 

बटौली एउटा परम्परा र पुछ्रयौली:
बटौली एउटा परम्पराको रूपमा रहेको छ । यो एउटा इतिहास, अलिकति संस्कृति र थोरबहुत पुरातत्व बन्न पुगेको छ । बुटवलले बटौलीलाई निल्न खोजेको छ खस्यौलीलाई झैँ । घ्यू खार्ने पुरानो विशाल कराही अब सङ्ग्रहालयमा राखे हुनै थियो । दुर्भाग्यवश अमरपथको ’टक्सार’ त ठूलो ढ्याबुल्के अङ्गेजी आखरको चपेटामा परेको छ । विशाल टक्सार भवनको आँगनीछेउमा टाँसिएको छ टक्सारी यन्त्र । आफ्नोपन मेटाउने ज्ञात—अज्ञात अभियानमा लागेकाहरूले नेपाली शब्द पनि छाडेका छन्, लिपि फालेका छन् पश्चिमा अङ्ग्रेजी भाषीलाई रिझाउन, जसको स्रोत अङ्ग्रेजी साम्राज्यको एउटा दललाई जितगढीमा हाम्रा पुर्खाहरूले जिते । तथापि, हामी सुगौली सन्धिबाट समरहरूवा तुल्याइएका छौँ । त्यति मात्र होइन, अहिले त हामी अङ्ग्रेजसँग भाषा र संस्कारमा पनि हार्दैछौँ । हाम्रा वर्तमान मूर्खहरूले रहेपहेको जितौरी पनि उसैको पूर्व उपनिवेश भारतीय सत्तालाई चढाउँदै छन् । नेपाली बोल्ने–लेख्नेलाई कान समातेर उठबस गराउने शिक्षा हासिल गर्दै र गराउँदै छौँ । सीमा मिचिए झैँ हाम्रो इतिहास, पुरातत्व, परम्परा, भाषा र संस्कृति नमिचियोस् र हाम्रो मौलिक नेपाली सभ्यता नमासियोस् । अझै बेला छ, हामी आफैंलाई नङ्ग्याउने खेलामा नलागौँ भन्ने दस औँली बिन्तीसहित अहिले यति नै । 
(लेखक संस्कृतिविद् हुनुहुन्छ ।)