कमरेडलाई भेट्ने ब्यग्रताले छोडेन
अनेकौं प्रयासपछि उहाँकै निजी निवास
काठमाडौंमै रहेको भब्य महल
त्यसभित्र सुशोभित भब्य सभा कक्ष
त्यहाँ मेरो अप्रत्याशित प्रबेश
कमरेड असामान्य तर गम्भीर मुद्रामा
दशकौं पछिको हाम्रो यो भेट
पहिले पहिलेको जस्तो होइन
बिल्कुल फरक थियो ,
अत्यन्त फरक थियो
निकै परिबर्तित् थियो ।
परिबर्तन त हाम्रो अभिष्ट नै थियो
आमूल परिबर्तन हेतु क्रान्तिको शंखनाद
हाम्रो गुरुमन्त्र नै थियो ।
तर आज किन ती कमरेडले भने -
त्यो कालखण्डको त पटाक्षेप भइसक्यो
क्रान्तिकारी त्यो चरणको फेज आउट भइसक्यो
निरंकुशता हट्यो , प्रणाली बदलियो
अब ती उहिलेका कुरा खुइलिइसके !
म अबाक् भएँ, स्तब्ध भएँ
रनभुल्लमा परें, आक्रोशित भएँ
महंगी चरम चूलीमा थियो
गाउँमा कृषकहरू पिडित थिए
सिंचाई , मल , बिउ-बिजनका समस्या बिकराल थिए ,
हाटबजार र यातायातको समस्या
कृषि उत्पादन बिक्रिबितरणमै समस्या
सन्धीसर्पन, चरिचरनका समस्या
पशुपालनमै समस्या , कृषिबिज्ञको अभाव
जलवायु परिबर्तन र खडेरीको समस्या
त्यसबखत्
उस्ले भन्ने गरेका समस्या
किसानका समस्या हिजो र आजको तुलनामा
किन्चित् कमी आएको छैन
बरु अरु बढ़ोत्तरी नै भएको छ
युबायुबतीको बिदेश पलायन बढ्दो छ
पहाडतिर हाम्रा जग्गा-जमीन
बाँझिंदै गएका छन् , बृद्ध बाबू-आमाहरू
बेसहारा हुँदैछन् , पर निर्भरता बढ्दोछ
जन आक्रोश चुलिंदो छ ,
मातृभूमिको अस्मितामा नै -
परचक्रीको अतिक्रमण हुन्छ ।
देश एबं देशबासीको -
जन-जीबन झन कष्टकर छ ।
कामरेडको भने जीबनस्तर
निक्कै माथि उठिसकेछ !
सुख शयल औ चहलपहलले
उन्को संस्कार फेरिएछ ,
रुप रंग औ जीबन-दर्शन
साराकासारा बदलिएछ !
दलाल पुँजिपति उन्का प्यारा
नोकरशाहहरू छन् सहारा
उदियमान नबीन बर्गका --
नेता बनेछन् कमरेड बिचरा !
उन्को र हाम्रो साइनो अब ता
मिल्दै न मिल्ने बर्ग शत्रुता !
जनक्रान्तिको त्यो अभिभारा
निश्चय क्वै दिन गर्छौं पूरा ।
अनि ता अवसरबादी नेता
लाग्लान् फेरि अर्को किनारा
किसान मजदूर सर्बहारा
जाग्लान् एक् दिन साराका सारा ।
त्यो दिन राता ध्वजा-पताका
फर्फराउँदै उठ्लान् जनता
जालीझेली शोषकमाथि
धाबा बोल्लान् त्यस् दिन पक्का ।