images
images

प्रदेश नं १ को कुल निक्षेप पचिालनमा एक दशमलव चार प्रतिशतले वृद्धि

काठमाडौँ - कुल निक्षेप परिचालन बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार प्रदेश नं १ को कुल निक्षेप परिचालन १ दशमलव ४ प्रतिशतले वृद्धि भई ३ खर्ब ५१ अर्ब रुपैंयाँ पुगेको छ । २०७८ पुस मसान्तमा वार्षिक विन्दुगत आधारमा कुल निक्षेपको वृद्धिदर १२ दशमलव ३ प्रतिशत रहेको थियो । 

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १ दशमलव ४ प्रतिशतले वृद्धि भई तीन खर्ब ५१ अर्ब रुपैंयाँ पुगेको छ । २०७८ पुस मसान्तमा वार्षिक विन्दुगत आधारमा कुल निक्षेपको वृद्धिदर १२ दशमलव ३ प्रतिशत रहेको थियो । सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह विद्युतीय कारोवारमा भएको वृद्धि, तथा बैकिङ्ग सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको हो । यसैगरी २०७७ पुस मसान्तको तुलनामा २०७८ पुस मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ३० दशमलव १ प्रतिशतले वृद्धि भई ५ खर्ब ४२ अर्ब पुगेको छ । 

२०७८ पुस मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा ९ दशमलव ६ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २६ दशमलव ५ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६४ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । २०७८ असार मसान्तमा कृषि कर्जाको हिस्सा ९ दशमलव ८ प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा ३० दशमलव ६० प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ५९ दशमलव ७ प्रतिशत रहेको थियो । २०७८ पुस मसान्तमा यस प्रदेशमा कर्जा निक्षेप अनुपात एक सय ५५ दशमलव २ प्रतिशत रहेको छ । कोभिड १९ का कारण प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारले घोषणा गरेको विभिन्न छुट तथा सुविधा, मौद्रिक नीतिले प्रदान गरेको सुविधा, सहुलियतपूर्ण कर्जा, पुनरकर्जा सुविधा, सर्वसाधारणको वित्तीय पहुँचमा भएको वृद्धि, पूर्वाधारको विकास तथा विस्तार आदि कारणले लगानीका लागि वातावरण अनुकूल बन्दै गएकोले कर्जाको माग तथा प्रवाह बढेको छ । 

२०७८ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ८ दशमलव ६ प्रतिशत, बचत निक्षेपको अंश ४५ दशमलव ७ प्रतिशत, मुद्धती निक्षेपको अंश ३९ दशमलव ७ प्रतिशत र अन्य निक्षेपको अंश छ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा कुल निक्षेपमा चल्ती निक्षेपको अंश १० दशमलव ८ प्रतिशत, बचत निक्षेपको अंश ४९ दशमलव ६ प्रतिशत, मुद्धती निक्षेपको अंश ३१ दशमलव ९ प्रतिशत र अन्य निक्षेपको अंश सात दशमलव ७ प्रतिशत रहेको थियो । २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा निक्षेपकर्ताको संख्या १४ प्रतिशत वृद्धि भई ५४ लाख ९५ हजार पुगेको छ भने ऋणीहरुको संख्या १२ दशमलव नौं प्रतिशत वृद्धि भई दुई लाख ७५ हजार पुगेको छ । २०७७ पुस मसान्तमा निक्षेपकर्ताको संख्या ४५ लाख ६५ हजार र ऋणीहरुको संख्या दुई लाख २३ हजार रहेको छ ।