images
images

विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता : शङ्कर पोखरेल 

अनलाइन बहस, काठमाडौँ ।

देशको आन्तरिक राजनीति तरल भएको बेला बाहिरी राजनीतिक शक्तिको चलखेल बढ्ने गर्दछ र भ्रमको राजनीति हाबी हुने गर्दछ । अस्थिताबाट फाइदा लिन चाहनेहरूको अनुकूल बनिदिने राजनीतिक दलहरू मिठा र चिप्ला कुरा गर्दै आफू अब्बल रहेको देखाउन प्रयत्नशील रहन्छन् । अहिले पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्री प्रचण्डको खुला अभिव्यक्तिबाट पनि धेरै कुरा बुझ्न  सकिन्छ । अन्य विषयकासाथै अहिले पहिलेको नेकपा ब्युँताउने विषय पनि जोडदार रूपमा उठ्न थालेको छ । नेपाली जनताको कम्युनिष्ट पार्टी प्रतिको आशा र विश्वासका कारण यसलाई भजाउनकै लागि पनि यस्तो प्रोपोगण्डा अघिसारिएको छ भन्ने बुझ्न गाह्रो छैन । यसैलाई राम्रो मानेर ताली बजाउनेहरू पनि ननिस्कने होइनन् । तर, भावनामा बग्न भने हुँदैन । 

 

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता औँल्याउनुभएको छ । महासचिव पोखरेलले केही कम्युनिष्ट नेताहरूले नेकपा ब्युँताउने भनेर सार्वजनिक खपत बढाइरहेका बेला एमाले महासचिवले कडा टिप्पणी गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यतिबेला नेकपा ब्युँताउने कुराको चर्चा चलाइएको छ । विगतमा नेकपाको नेतृत्वको सरकार ढालेर काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म धाउनेहरू नै यसमा सक्रिय देखिन्छन् ।’ 

 

विगतका धेरै तितापिरा बिर्सेर बृृहत् कम्युनिष्ट एकताका लागि गरिएको प्रयास स्वरूप नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निर्माण भएको थियो । यही एकताको बल र विश्वासमा नेकपाले प्रतिनिधि सभा संसदमा झण्डै दुई तिहाई सिट जितेको थियो । सातमध्ये ट वटा प्रदेशमा सरकारको नेतृत्व गर्ने गरी सफलता प्राप्त गरेको थियो । यति बलियो सरकारलाई अपदस्थ गर्न स्वार्थी र अवसरवादी तरिका अपनाइयो ।  चुनावको समयमा गरिएको प्रतिबद्धताको आधारमा प्राप्त जनादेश खण्डित भएपछि ताजा जनादेशका लागि गरिएको संसद विघटन र मध्यावधि चुनावको सिफारिसलाई ‘प्रतिगमन’ भन्दै सर्वोच्चको परमादेशबाट सरकार गठन गरियो । जनप्रतिनिधिको सार्वभौम संसदले बनाउनुपर्ने सरकार परमादेशमा बनाएर खुसी मनाएकाहरू अहिले त्यतिबेलाको नेकपा ब्युँताउने भन्दै हिँडेका छन् । यसलाई महसचिव शङ्कर पोखरेलले ‘काशी जानु कुतिको बाटो’को संज्ञा  दिनुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘यतिसम्म कि आमचुनाववाट प्राप्त जनादेश अनुरूप नयाँ गठबन्धन सरकार बनाउँदा भएको सहमति तोडेर नेपाली काँग्रेसलाई नै राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएकाहरू नै वामपन्थी एकताको कुरा गर्न थालेका छन् । नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा (एमाले) का विरुद्धमा घेराबन्दी गर्नेहरूले नेकपा ब्यूँताउने चर्चा चलाउनु वा वामपन्थी एकताको कुरा गर्नु ‘काशी जानु कुतीको बाटो’ भनेझैँ हो ।’

 

त्यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता भङ्ग गर्ने, ताजा जनादेशमा जान नमान्ने, सर्वोच्चमा बिन्ती चढाएर परमादेश प्राप्त गरेर सरकार प्रमुख नियुक्त गर्ने, प्रतिनिधि सभालाई पार्टीको विभागसरह बनाएर संसदीय परम्परा तथा मान्यता विपरीत व्यवहार गर्नेहरूको नियत कस्तो रहेछ भन्ने कुरा स्पष्ट हुँदै आएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्षको हालै सार्वजनिक भएको—सामाजिक सञ्जालमा व्यापक बनेको ‘मलाई प्रधानमन्त्री बनाउन यहाँका राजनीतिक दलका साथीहरूलाई मनाउनदेखि दिल्ली समेत धाउनुभएका प्रितमसिंह...’ भनेर एक जना व्यापारी—व्यवसायप्रिति कृतज्ञता जाहेर गरिएको छ । यस्तो बोली र व्यवहार वास्तवमा राजनीतिप्रति नै वितृष्णा जगाउने माध्यम हो । यस्ता क्रियाकलाप देखेर नै होला महासचिव शङ्कर पोखरेलले लेख्नुभएको छ, ‘नेकपा(एमाले) यस्ता वेमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलापप्रति सचेत छ ।’

 

नेकपा एमालेका महासचिव राजनीतिक दलहरूबिच एकता र सहकार्यको विरुद्धमा नभई पक्षमा नै देखिनुभएको छ । अहिलेको टुक्रेटाक्रे गठबन्धनले राजनीतिक स्थायित्व दिन नसकेको, भ्रष्टाचार रोक्न नसकेको, बढ्दै सामाजिक अराजकता र बेथिति रोक्न नसकेको, मूल्य वृद्धि चुलिँदै गएको, अर्थतन्त्र थप सङ्कटतर्फ उन्मुख हुँदै गएको, राष्ट्रिय हितका विषय कमजोर हुँदै गएको छ । यसका लागि बलियो राष्ट्रिय शक्ति निर्माण अहिलेको आवश्यकता हो । महासचिव पोखरेलले यसमा जोड दिँदैआउनुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘अब नेपालको राजनीतिमा विचारका आधारमा राजनीतिक धुवीकरण आवश्यक छ । विकास र समृद्धिका लागि नीतिगत नेतृत्व सहितको बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । त्यसका लागि  प्रमुख दलहरूलाई नीति, कार्यक्रम र योजना सहित सुदृढ गर्नु आवश्यक छ । तर त्यो असफल भइसकेको नेकपाको पुनःस्थापनाको बाटोबाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुवीवकरणको बाटोबाट मात्र सम्भव हुन्छ । तसर्थ अब नेताहरूको टाउका जोडेर होइन, भविष्य भएका युवाहरूको मन जोडेर आन्दोलनलाई सुदृढ गर्ने बाटोमा अघि बढ्न सक्नु पर्दछ ।’ 

 

नेपाली जनता राजनीतिक अस्थिरताबाट आजित छन् । नेपालमा राजनीतिक अस्थिरता चाहनेहरूले देशका सबै राजनीतिक दल तथा विभिन्न नामका झुण्डहरूलाई समेत एउटै डालोमा हालेर सिंगो राजनीतिलाई बदनाम गर्न खोजिरहेका छन् । दलहरूका विशेषता र कमजोरी छुट्याउने भन्दा पनि सबै उस्तै हुन् भन्ने भ्रम पार्ने प्रयत्न भइरहेको अवस्था छ । सबै उस्तै हुन सक्छ र ? केहीमा पनि सबै उस्तै हुँदैन, केही न केही फरक हुन्छ भने राजनीतिमा फरक हुँदैन ? अवश्य हुन्छ । सत्ताविना बाँच्नै नसक्ने, सत्ताका लागि जेसुकै गर्न तयार हुने र गर्ने राजनीतिक दल र आप्mनो दृष्टिकोणमा दृढ रहेको, स्थापित लोकतन्त्र—गणतन्त्रको मर्मको सम्मान गर्ने राजनीतिक दल उस्तै हुँदैन र हुनै सक्दैन । तर पनि बाहिर सबै उस्तै हुन्, ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने जस्ता भ्रमको हल्ला फैलाएर जे गर्न खोजिएको छ, त्यो सर्वथा अनुचित छ । यस्तो अवस्थाले मुलुकमा राष्ट्रिय राजनीतिक शक्ति निर्माणमा अवरोध सिर्जना गरिरहेको छ । 

 

महासचिव पोखरेल राष्ट्रिय राजनीतिक शक्ति विकासका पक्षमा लेख्नुहुन्छ, ‘अहिले जस्तो जनमत गुमाएकाहरूले राज्यसत्ताको नेतृत्व गरिरहेको विकृत राजनीतिक अभ्यासलाई अन्त्य गर्नका लागि बलिया राजनीतिक दल र त्यसको जगमा राजनीतिक स्थायित्व कायम गर्नसक्ने बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्नु पर्ने हुन्छ । नेकपा (एमाले) त्यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक योजनाका साथै मनोवैज्ञानिक रूपमा नयाँ ढंगले अघि बढ्न प्रतिबद्ध छ ।’ महासचिव लेख्नुहुन्छ, ‘अब हरेकले महसुस गर्ने बेला भयो, विकास र समृद्धिका लागि गठबन्धन नामको अस्थिरता र अलमलको बाटोमा होइन, बलियो राष्ट्रिय शक्ति निर्माणको उज्यालो बाटो देशका लागि अपरिहार्य छ ।’

 

हुन पनि हामी सबैले देखिरहेका छौँ, प्रधानमन्त्री छिमेकीसँग लम्पसार परेर भ्रमणको निम्तो माग्छन् । मुलुकको हित हुने अर्को देशमा आयोजित कार्यक्रममा सहभागी हुँदैनन् र जिद्दी कस्छन्, मेरो पहिलो भ्रमण भारतमा नै हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गिराएर शेरबहादुर देउबाको नेतृत्वमा सरकार बनाउँदादेखि नै क्म्फर्टेबल सरकार भनिरहेका हालका प्रधानमन्त्री प्रचण्ड कसरी प्रधानमन्त्री बनेका रहेछन् र उनलाई प्रधानमन्त्री बनाउने पहलकर्ता को रहेछन् भन्ने कुरा आफैले छताछुल्ल पारिसकेका छन् । नेपाली जनतालाई लाग्छ, देशको प्रधानमन्त्री आफूले छानेका प्रतिनिधिहरूको प्रतिनिधिसभाले बनाउँछ,  तर प्रधानमन्त्री बनाउने त भारतीय व्यापारी प्रितमसिंह रहेछन् । 

 

त्यसैले, अब आफूले नेपाली जनताको जनमत प्राप्त गर्न नसकेर अरुको बल र पहल कदमीमा प्रधानमन्त्री बन्न चाहने र बनेकाहरू र आप्mनै बलबुतामा प्रधानमन्त्री बनेका र राष्ट्रिय स्वाभिमानको झण्डा कत्ति पनि झुक्न नदिने इतिहास भएका नेता र राजनीतिक दल उस्तै हुन् भन्ने भ्रमबाट मुक्त हुन आवश्यक छ । साथै, सशक्त राष्ट्रिय राजनीतिक शक्ति निर्माणको बाटो हुँदै राष्ट्रिय स्वाभिमान र लोकतन्त्र जोगाउनु आवश्यक छ ।