images
images

समृद्धीका आयामहरु

समृद्धि भनेको आशा तथा भरोसाको माध्यम हो, आफूलाई सर्वश्रेष्ठ बनाउन सकिने वातावरण हो । समृद्धि भनेको आफ्नोपन भएको समुदायमा रहन पाउनु र एकले अर्कोलाई सम्मान र सहयोग गर्ने, विश्वासको वातावरण भएको, समभाव राखिने तथा उदारताको प्रतिरुप हो । रोजगारीको प्रशस्त अवसर भएको, नव प्रवर्तनमा लाग्ने वातावरण भएको अवस्था समृद्धि हो । यो भोक, रोग, द्वन्द्व आदिबाट मुक्त अवस्था हो । जीवनमा सफल हुनु, प्रशस्त स्रोत र अधिकार हुनु, सामाजिक सम्मान हुनु, खुसी र स्वस्थ हुनु नै समृद्धि हो । सामाजिक, आर्थिक, वातावरणीय तथा आध्यात्मिक दृष्टिकोणमा समृद्धि हुनुको अर्थ फरक फरक हुने गर्छ । खुसी हुनु, प्रशस्त धन–सम्पत्ती हुनु वा आफू वरिपरिको वातावरण स्वच्छ र सफा हुनुले समृद्धिको औचित्य झल्क्यांउछ । समृद्धिले शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण, यातायात, सञ्चार आदिको पँहुचलाई इङ्गित गर्छ । स्वतन्त्रपूर्वक तथा खुल्ला हृदयले व्यापार गर्न सकिने, राजनीतिमा भाग लिन सकिने, आफ्ना कुरा राख्न सकिने वातावरण नै समृद्धि हो । 

 

समृद्धिकानिम्ति हामीमा सकारात्मक मनोवृत्ति, राष्ट्रियता, काम प्रतिको सम्मान, जिम्मेवारी तथा पारदर्शीपन, उद्यमशील सोच आदि हुनु आवश्यक छ । हामीमा विद्यमान  भएका स्रोतहरुको उचित प्रयोग गरी देशलाई समृद्ध बनाउन सकिन्छ । ज्ञानको सिर्जना तथा प्रयोग गरी अर्थतन्त्रको विकास गर्न सकिन्छ । व्यक्ति तथा संस्थाहरुलाई विज्ञान तथा प्रविधिबारे सुसूचित गर्दै नव सिर्जना तर्फ अघि बढाउनु आवश्यक छ । 

 

समृद्धिका आयाम
समृद्धि सम्वन्धी अनुसन्धान गर्ने दुबईस्थित लेगाटम ग्रुपले समृध्दिका १२ आयाम हुने कुरा बताएको छ । कुनै पनि देश समृद्ध हुन त्यस देसको सुरक्षा अवस्था, व्यक्तिगत स्वतन्त्रता, सुशासन, सामाजिक पूँजी, लगानी वातावरण, उद्यम अवस्था, पूर्वाधार र बजार पहुँच, आर्थिक गुणस्तर, जिविकाको अवस्था, स्वास्थ्य, शिक्षा र प्राकृतिक वातावरण  जन अनुकूल अवस्थामा हुनुपर्ने कुरामा जोड दिइएको छ । 

 

सुरक्षाको अवस्था अन्तर्गत युध्द, द्वन्द, डर, अपराध आदिबाट नागरिकहरु सुरक्षित छन भन्ने पर्दछन भने व्यक्तिगत स्वतन्त्रतामा आधारभूत कानूनी अधिकार, स्वतन्त्रता र सामाजिक सहनसिलता जस्ता सूचकमा सुधार भन्ने बुझिन्छ । सुशासनमा सरकार कसरी चलिएको छ, उस्ले शक्तिलाई कसरी प्रयोग गर्छ जस्ता कुरा पर्दछन । सामाजिक पूँजीमा सामाजिक मूल्य र नागरिक सहभागिता जस्ता विषय पर्दछन । लगानी वातावरणले लगानीको प्रत्याभूति र सुरक्षा गर्ने तर्फको राष्ट्रिय दृष्टिकोण, उद्यम अन्तर्गत व्यवसायको सुरुवात, प्रतिस्पर्धा र विस्तार सम्बन्धमा नीति नियम आदिको प्रत्याभूति गरिन्छ । आर्थिक गुणस्तरले पूजीको विकासमा श्रमशक्तिको सहभागिता र जिविकाको अवस्थामा जीवनको स्तर कस्तो  छ (जस्तै, भौतिक स्रोत, आवास, आधारभूत सेवा र सञ्चार सञ्जाल) पर्दछन् । स्वास्थ्यले नागरिकहरुलाई कस्तो स्वास्थ्य सेवा प्राप्त छ, स्वास्थ्य प्रणाली, मृत्यूदर कति छ आदि समेटेको छ भने शिक्षा अन्तर्गत भर्नादर, उपलव्धि, शिक्षाका विभिन्न तहको अवस्था, सीपमूलक प्रशिक्षण आदि पर्दछन । प्राकृतिक वातावरणमा दैनिक जीवनमा असर पार्ने र समृद्धिमा परिवर्तन ल्याउने वातावरण पर्दछन् ।

 

लेगाटम समृध्दि सूचकङ्कले कुनै पनि देशले ठूल–ठूला आर्थिक परिसूचक भन्दा  वास्तवमैं आम नागरिकको जीवनमा परिवर्तन ल्याएको छ, त्यो हेर्ने गर्दछ । लेगाटम समृध्दि सूचकाङ्कका अनुरुप सन् २०२३ मा नेपाल १६७ देश मध्ये ११० मा  परेको छ । भारत १०३, वंगलादेश १२४ र पाकिस्तान  १३६ मा परेको छ । समृध्दिको दृष्टिकोणमा डेनमार्क पहिलो र स्विडेन दोस्रो क्रममा छन् ।

 

संयुक्त राष्ट्र र्सघीय विकास कार्यक्रमले अघि बढाएको दिगो विकास लक्ष्यले सन् २०३० सम्म विश्वव्यापी रुपमा सन्तुलन विकास तथा समृध्दि हासिल गर्ने उद्देश्य लिएको छ । दिगो विकास लक्ष्यले लिएका १७ वटा लक्ष्यहरु प्रत्यक्ष वा परोक्षरुपमा लेगाटम ग्रुपले सुझाएका १२ वटा आयामसंग सम्वध राख्छन । गरिवीको अन्त्य, सून्य भोकमरी, स्वस्थ जीवन, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, सफा पानी तथा सरसफाई, आधुनिक ऊर्जामा पँहुच, समावेसी आर्थिक वृध्दि तथा मर्यादित काम, उद्योग, नव प्रवर्तन र पूर्वाधार, असमानता न्यूनीकरण, दिगो सहर र बस्तीहरु, जलवायु परिवर्तन अनुकूलन, भूसतह श्रोतको उपयोग, सुशासन तथा संस्थागत विकास र दिगो विकासको लागि साझेदारी दिगो विकास लक्ष्यका आयाम हुन । दिगो विकास लक्ष्यले सम्पूर्ण मानव जातिले समृध्द तथा सम्पन्न जीवनयापन गर्न पाउनुका साथै प्रकृति संग मिल्दै आर्थिक, सामाजिक र प्रविधिक प्रगति तर्फ अग्रसर हुनु पर्ने कुरा बताएको छ ।

 

विकास र समृद्धि
विकास र समृद्धिले फरक अर्थ बोकेका हुन्छन् । विकास हुंदैमा समृद्धि हुन्छ नै भन्ने छैन । विकासको वितरण कुन किसिमले गरिएको छ भन्नेबाट समृद्धि भए नभएको छुट्याउन सकिन्छ । विकासले आर्थिक वृद्धिलाई विशेष जोड दिन्छ भने समृध्दिले समावेशी मान्यतालाई हाम्रो संविधानले अङ्गीकार गरेको बाटो समृद्धि हो । आर्थिक समृद्धि भन्नाले आफ्ना सम्पूर्ण आवश्यकता परिपूर्ति गर्न यथेष्ठ मात्रामा आर्थिक स्रोत उपलब्ध हुनु हो । यो स्रोतको प्रयोग गरी कुनै पनि व्यक्ति स्तरीय सुविधाहरु जस्तै घर, गाडी, उपकरणहरु ब्यवस्था गर्न तथा भ्रमण आदि गर्न सक्छ । आर्थिक रुपमा देश समृद्ध हुनु भनेको यस्ता सुविधाहरुमा हरेक नागरिकको पहँुच हुनु हो । त्यसैले आर्थिक समृद्धि हासिल गर्न त्यस देशको कूल गार्हस्थ उत्पादनले विशेष भूमिका खेल्छ । समाजका सानो समूहले राष्ट्रिय आयको ठूलो हिस्साको स्वामित्व लिँदा ठूलो समूहको समृद्धि हुन सक्दैन,  जुन अहिलेको हाम्रो देशको अवस्था हो । समृद्धि हासिल गर्न मूलतः गरिबी निवारण गर्नुपर्छ । उच्च आर्थिक वृद्धि हासिल नगरी गरिबी हट्दैन ।  भौगोलिक रुपमा विकट मानिए तापनि यही भौगोलिक विकटताले हामीलाई सुन्दर प्रकृति दिएको छ । यति सानो ठाँउमा यति विघ्न प्राकृतिक, जातीय तथा सांस्कृतिक विविधता संसारमा अन्य कतै छैन । यो विविधताको अब प्रयोग गर्ने बेला आएको छ । जल विधुत्, सिंचाई, पर्यटन, कृषि आदिमा यस्तो विविधता नै बरदान सावित हुन सक्छ । 

 

नेपालको अहिलेको सबैभन्दा ठूलो स्रोत भनेको बौद्घिक तथा सिर्जनशील युवा शक्ति हो । नेपाली युवाहरुले मङ्गल ग्रहमा पानी पाइएको पुष्टि गरेको वा नाशामा रही ठूला खोज गरेका दृष्टान्तहरु सुनेका छौं । नेपाली युवाहरुले विदेशमा मात्रै होइन, स्वदेशमै समते कहिले काँही हेलिकप्टर बनाई उडाएका वा रोबोट गुडाएका कुराहरु हामी सुन्ने गर्छौं । यस्ता कामहरु गर्न युवाहरुलाई अभिप्रेरित गरी अबको समयलाई सिर्जनशीलताको प्रवद्र्घनका निम्ति प्रयोग गर्नुपर्छ । यो शक्तिलाई अझ सिर्जनशील बनाई राष्ट्रलाई नै एउटा सिर्जनाको केन्द्र बनाउनु पर्छ । 

 

विश्वव्यापीकरणबाट सिक्दै हामीले अब देशभित्रै नै स्वस्थ प्रतिस्पर्धाको संस्कृति सुरु गर्नुपर्दछ । विकसित राष्ट्रहरु अहिलेको अवस्थामा आइपुग्नुको मुख्य कारणमा देशभित्रका सहर, गाउँ तथा जिल्लाहरु एक आपसमा स्वस्थरुपमा प्रतिस्पर्धा गर्नुले नै हो । संघीयताको चरणमा प्रवेशपछि अबको हाम्रो सोच कसरी हामी हाम्रो ठाउँलाई अरुभन्दा राम्रो बनाउन सक्छौं भन्नेतर्फ जानु पर्छ । त्यस्मा सोच्नु जरुरी छ । हामी हाम्रो ठाउँलाई विशिष्ट बनाउन के कुरामा ध्यान दिन सक्छौं ? हाम्रो ठाउँ हेर्न मानिसहरु किन र कसरी आउलान ? हाम्रो ठाउँका मानिसहरु अन्यत्रभन्दा कसरी समृद्ध बन्न सक्लान ? यस्ता प्रश्नहरुको जवाफ खोजी गर्दै अन्य गाँउ वा नगरसगँ स्वस्थ प्रतिस्पर्धामा उत्रनु आवश्यक छ । 

 

समृध्दिका निम्ति विज्ञान प्रविधि तथा नव प्रवर्तन 
नव उदयीमान राष्ट्रहरु जस्तै चीन तथा भारतले औद्योगिक विकासको सन्दर्भमा शून्यबाट कहिल्यै सोचेनन्, अरुका काम वा उपकरणलाई आधार मानी आफ्नो देश अनुकूल बनाए । यस काममा उनीहरुले आफ्नो प्राविधिक जनशक्तिलाई परिचालन गरे । यो क्रम अझै जारी छ ।  कुनै पनि देश लामो समयसम्म समृद्धिको उचाईमा रहिरहन सक्दैँन । धेरै देशहरुले आफ्नो प्रगति र अवसानका चरणहरु अनुभूति गरिसकेका छन् भने  कतिपय यो बाटोमा अग्रसर छन् । विज्ञान प्रविधिको उपयुक्त प्रयोग गर्ने देशहरु समृद्ध भएका छन् भने यसको अभावमा वा दुरुपयोग गर्दा कतिपय देशहरुको अवस्था अत्यन्त कमजोर बन्न पुगेको छ । 

 

विज्ञान तथा प्रविधिको अहिलेको विकास एकाध दिनमा भएको होइन । मानव जीवनको विकास भएयता अर्थात् करिब ६० लाख वर्ष देखिका प्रयासहरुको यो समग्र रूप हो । २६ लाख वर्ष अघिका मानव पुर्खाले बनाएको ढुङ्गे हतियारलाई पहिलो आविष्कार मान्न सकिन्छ । त्यसको करिब १२ लाख वर्षपछि मात्र आगोको आविष्कार भयो । १० हजार वर्षअघि मानिस जङ्गली जीवनबाट वाक्क भई  कृषिमा लाग्न थाल्यो, त्यसपछि त उ आफ्नो सुख–समृद्धिका लागि एकपछि अर्को आविष्कार गर्दै गयो । बिजुली, स्पेस प्रविधि, जैविक प्रविधि, आणविक विज्ञान, सञ्चार, स्वास्थ्य आदिमा भएको विकासका कारण मानव जीवनले समृद्धि हासिल गर्दै गयो । तर, विकासका यी आयामहरु सँगसँगै विनासका धरै घटनाहरु पनि देखिन थाले । 

 

आफूले सोचेका विचार वा उपायलाई बस्तु वा सेवाका रुपमा प्रस्फुटन गर्नु नव प्रवर्तन हो । मानवीय आवश्यकता तथा आंकाक्षाहरु परिपूर्ति गर्ने सन्दर्भमा विचार तथा कल्पनालाई उपयोगी बस्तु वा सेवाका रुपमा विकास गर्नु नै नवीन आविष्कार हो । सेवालाई फरक ढङ्गबाट प्रस्तुत गरी बहुउपयोगी बनाउने काम पनि नव प्रवर्तनको हो । 
 

विज्ञानकै कारण विकास हुने प्रविधिलाई औद्योगिक स्तरमा प्रयोग गर्दा रोजगारीको संभावना बढ्छ । विज्ञान र व्यवसायहरुबाट स्व–रोजगारको संभावना बढ्छ । आधुनिक कृषि, पशुपालन, आनुवंशिक इन्जिनिरिङ्ग, सूचना प्रविधि आदिका कारण धेरै व्यक्तिहरुले रोजगार पाउँछन् । रोजगारी हुनु भनेको विभिन्न सभावनाहरुमा आफ्नो पहुँच बढाउनु हो । आयआर्जन गर्नु हो । यो आय व्यक्तिले आफ्नो तथा परिवारको स्वास्थ्य, शिक्षा, मनोरञ्जन, सुरक्षा आदिमा खर्च गर्न सक्छ । यसबाट परिवार तथा व्यक्तिको जीवन स्तरमा सुधार आउंछ । जीवन स्तरमा सुधार आउनु भनेकोे विकास हुनुु हो, जुन क्रमशः समृद्धिको बाटोमा अग्रसर हुन सक्छ । 

 

गरीबीले ग्रस्त हाम्रो समाजको रुपान्तरणमा अत्यन्तै ग्रामीण तथा दूर– दराजका विपन्नहरुमाझ गरिने नवीन खोजको महत्व बढी हुन्छ ।  अन्यत्र गरिएका खोजभन्दा त्यसै ठाँउमा, त्यहींका जनतालाई सोचेर गरिएका नव प्रवर्तन बढी उपयोगी हुन्छन् । पुराना र काम नलाग्ने प्रविधि तथा वस्तुको आयातले मात्र देश विकास हुन सक्दैन । नव प्रवर्तनमा प्रारुप (डिजाइन) सिर्जनाको अहम् भूमिका हुने गर्छ । शिक्षा, स्वास्थ्य, बैङ्क आदि सबै क्षेत्रमा नयाँ सोचको आवश्यकता छ । यी सबै नवीन खोजहरुलाई एउटै सन्जालमा ल्याई आन्तरिक सञ्चार तथा विस्तारमा जोड दिनुपर्छ । राज्यले यस दिशामा अनुकूल नीति नियमको विकास गर्नु पनि त्यत्तिकै  आवश्यक छ ।

 

विज्ञान, अनुसन्धान, नव प्रवर्तन र सीपयुक्त मानवीय स्रोतको उपयुक्त संयोजनबाट देशले सामाजिक तथा आर्थिक समृद्धि हासिल गर्न सक्छ । नव प्रवर्तनबाट प्राप्त उपलब्धिहरुलाई बजारमा पुर्याउने काममा उद्योगहरुको विशेष भूमिका हुनेगर्छ । नव प्रवर्तनका सन्दर्भमा कुन तह वा ठाउँ भन्ने कुराले महत्व राख्छ । व्यक्ति, परिवार हुंदै नवीन खोज हामी गाँउ÷नगर, जिल्ला, प्रदेश तथा देशको स्तरमा गर्न सक्छौं । नवीन खोजका काम गर्ने सन्दर्भमा विपन्न जनसमूहलाई उकास्ने उद्देश्यले गरिनुपर्छ । 

 

पुरानो  ज्ञानलाई आधुनिकतातर्फ लैजानु पर्छ । प्रविधि बन्नुअघि नव प्रवर्तन हुन्छ । यसलाई उद्यमशीलतासँग जोडेर  आम मानिसका हितमा प्रयोग  गर्नु पर्छ । यसबाट रोजगारी सिर्जनामा समेत टेवा पुग्छ । स्थानीय स्तरमा प्राविधिक खोजमा उत्प्रेरित व्यक्तिहरुलाई सहयोग गरी गाँउ गाँउमा खोज गर्ने व्यक्ति तथा समूहको विकास गर्न सकिन्छ । औपचारिक विज्ञान तथा प्रविधिलाई जोडी, विचारलाई प्रश्रय दिई परम्परागत ज्ञान तथा सीपलाई समेत ख्याल गर्दैे विकास गर्न सकिन्छ । ठूल–ठूला मेनफ्रेम कम्प्यूटर र त्यसपछि डेस्कटप कम्प्यूटरको विकास भएपछि मात्र ल्यापटपको विकास सम्भव भयो । मोवाइल फोनको विकास क्रम हेर्ने हो भने एकपछि अर्को नवीन आविष्कार हुदैँ आज हामी स्मार्ट फोनको समयमा पुगेका छौं । 

 

नव प्रवर्तनको प्रमुख उद्देश्य स्थानीय स्तरमै कम खर्चिला विचार तथा उपकरणको विकास गर्नु हो । नेपालको विकासका निम्ति नवीन खोजको अहम् भूमिका हुने गर्छ । नव प्रवर्तन सम्बन्धी हाम्रो आफ्नै इतिहास छ । परम्परागत रुपमा गरिएका नव प्रवर्तनका कार्यहरुले हाम्रो विगतलाई आकार दिएको थियो । यस्ता नव प्रवर्तनहरु हाम्रा कला, संस्कृति, स्वास्थ्य, शिक्षा आदिमा भएका थिए । हाम्रा पुराना स्मारक, उपकरण, श्लोक आदिमा नवीन खोजका प्रशस्त उपमाहरु झल्किएको पाइन्छ । नव प्रवर्तन भनेको केवल यन्त्र वा उपकरणमा मात्र हुने होइन, यो त हाम्रा विचार, काम, सोच आदि सबैमा आवश्यकता छ । अन्यत्र भएका तालिम, शिक्षा, कला आदिलाई आफ्नोपनमा ढाल्दै त्यसको प्रभावकारिता बढाउनु पनि नवीन आविष्कार हो । नेपालमा जागिरमुखी शिक्षालाई बढी प्रश्रय गरियो । ‘पढेपछि जागिर नै पाउनुपर्छ’ भन्ने मान्यता रह्यो । आफैंले केही गर्नुपर्छ भन्ने मान्यता धेरै कममा रह्यो । 

 

नव प्रवर्तन, उद्यमशीलता र स्वरोजगार
सिर्जनशीलता भनेको नयाँ कुरा सोच्नु हो र नवीन प्रयोग भनेको नयाँ काम गर्नु हो । उद्यमशीलता भनेको बजारमा नयाँ मूल्य – मान्यता स्थापित गर्नु हो । मानिसहरुलाई सिर्जनशील तथा नवीन प्रयोगको माध्यमबाट उद्यमशीलताको विकास गर्नु आवश्यक छ । नवीन प्रयोगलाई आर्थिक कारोबारसँग जोडी उनीहरुलाई दिगो उद्यमको रुपमा स्थापित गर्न सकिन्छ । यसको उद्देश्य भनेको नवीन उत्पादनलाई बजारमा सर्वत्र उपलब्ध गराई बजार व्यवस्थित गर्नु हो ।

 

बाह्य देशहरुमा भएको बढ्दो परनिर्भरता घटाउन देशभित्रै आवश्यक वस्तुहरुको निर्माण गर्नु जरुरी छ । उद्योगहरुबीच स्वस्थ प्रतिस्पर्धाको विकास गरी नवीन आविष्कारहरुसंग सहकार्य गरी औद्योगिक विकासका निम्ति एउटा प्रमुख गन्तव्यका रुपमा देशलाई विकास गर्न सकिने सम्भावनाहरु छन् । यस्को निम्ति नवीन आविष्कार तथा उद्योगहरुबीच सहकार्य र समन्वयको आवश्यकता छ । सुरुको अवस्थामा नवीन आविष्कारकहरुलाई सहयोगको खाँचो पर्छ, जुन सहयोग उद्योग तथा सरकारले प्रदान गर्न सक्छन् । नवीन आविष्कारकहरुलाई प्रोत्साहन मिल्ने सहयोगी नियम कानूनको निमार्ण गरी  सरकारले उनीहरुको  सिर्जना प्रस्फुटित हुने उपायको खोजी गर्नुपर्छ । नवीन आविष्कारका राष्ट्रिय प्रयासहरुलाई अन्तर्राष्ट्रिय समूहहरुबीच तादात्म्यता कायम गर्नु पनि त्यत्तिकै जरुरी छ । नवीन आविष्कारको यो अभियानलाई राष्ट्रिय रुपमै प्रोत्साहन गर्दै समृद्धिका निम्ति एक अचुक उपायका रुपमा आत्मसात् गर्नु आवश्यक छ । 

 

नव प्रवर्तनले उद्यमशीलता मौलाउन सहयोग गर्छ । यस किसिमका नयाँ प्रयोग नव प्रवर्तनको कमजोर आर्थिक अवस्था कारण बजारमा पुग्न सकिरहेको  हुँदैन । यसले गर्दा उनीहरुका नवीन प्रयोग उत्पादनमा जोडिँदैन । कतिपय सन्दर्भमा उनीहरुले उद्यम गर्न ऋण लिन खोज्दा उनीहरुको प्रस्तावलाई हाँसोमा उडाइन्छ । नवीन प्रयोगकर्ताले सामान्यतया स्थानीय मागको आवश्यकता परिपुर्ति गर्न, माग र पूर्तिबीचको रिक्तता थाहा पाउनु आवश्यक छ  । नवीन प्रयोगकर्ताहरुलाई उत्साहित गर्न र नयाँ सिर्जना तथा रोजगारी सिर्जना गर्न, बैंक बाट ऋण लिन लगायतका काममा उनीहरुलाई सघाउनु पर्छ । यस्ता कार्यहरुलाई समन्वय गर्न स्थानीय तथा राष्ट्रिय स्तरका संस्थागत विकास हुनु जरुरी छ । 

 

सिर्जनशील तथा नवीन प्रयोग गर्ने व्यक्तिले ठूला तथा साना सपनाको बारेमा सोच्न, संरचना तयार गर्न तथा कार्यान्वयन गर्ने बारेमा सोचिरहेको हुन्छ तथा कार्यान्वयन गर्न उचित अवसरको खोजीमा हुन्छ । नेपालको सन्दर्भमा नवीन आविष्कारकहरुले ध्यान दिनुपर्ने क्षेत्रहरु आर्थिक विकास (दिगो कृषि, साना उद्योग र व्यवसायिक सेवाहरु), सांस्कृतिक विकास (सामुदायिक परिचय÷पहिचान, ग्रामीण परिचय÷पहिचान र सजीव वातावरण÷पहिचान) र सामाजिक विकास (रोकथामयोग्य स्वास्थ्य सेवा, आधारभूत शिक्षा र अत्यावश्यक पूर्वाधारहरु) पर्दछन ।  हाम्रो देशलाई अन्वेषण र आविष्कारको मूलथलो बनाउन सकेनौं । बरु, बाँकीरहेका केही सिर्जनशील व्यक्तिहरु सरल र सहज जीवन भएका इन्नोभेसनका केन्द्र मानिने देशतर्फ नै पलायन हुन थाल्यौं । इन्नोभेसनका कारण नयाँ सोच र प्रवृत्तिको  विकास हुन थाले । यसबाट हाम्रो आफ्नै किसिमको नवीनपन भएको विज्ञान तथा प्रविधिको सिर्जना हुन सक्छ । 

 

सामाजिक उद्यमीहरुले समुदायमा परिवर्तन ल्याउन विशेष रुपमा काम गर्छन् । समुदायको सशक्तिकरण तथा समुदायमा सकारात्मक परिवर्तन गर्न सामाजिक उद्यमशीलताले ठूलो योगदान गर्छ । अनिश्चितता जीवनको अभिन्न अंग हो, तर यसो भन्दैमा हामीहरुले सफलता प्राप्त गर्नका लागि प्रयत्न गर्न छोडनु हुँदैन । एउटा नवीन प्रयोगकर्ता उद्यमीको रुपमा विकास हुन सक्छ र उसले समाजमा केही नयाँपन दिन सक्छ । नवीन प्रयोगको कार्यान्वयनको यात्रामा सामान्य व्यक्ति एउटा व्यवसायिक व्यक्तिको रुपमा विकसित हुने क्रममा ऊ परिकल्पना वा सपनाको नियममा समेत प्रवेश गर्दै जान्छ । कुनै पनि व्यक्तिको सपना तबसम्म सार्थक हुदैन, जबसम्म सो व्यक्ति त्यो सपना पूरा गर्न हदयदेखि नै लागि पर्दैन । यस्ता मानिसले जतिसुकै कडा परिश्रम गरे पनि सफलताको प्रत्याभूति गर्न सकिदैन । 
 ९लेखक विज्ञान तथा वातावरणका क्षेत्रमा कलम चलाउनु हुन्छ०।