काठमाडौँ - संसदीय विशेष समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएको छ।
समितिले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका वेला अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा बिहीबार बिहान शर्मासँग सोधपुछ गर्न लागेको हो।
शर्मासँग बिहान साढे ८ बजे बयान लिने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनाधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।
अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गर्न लगाएको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। समितिलाई काम सुरु गरेको १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो ।
सतितिलाई छनविनका लागि दिइएको १० दिनको समय शुक्रबार सकिदैछ । समितिले अर्थ मन्त्रालयको सीसीटीभीको हार्डडिक्स रिकभर गर्न नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । त्यसको रिपोर्ट आउन १० दिन समय लाग्ने भनेकाले समय नपुग्ने देखिएको भन्दै समितिले थप समय माग्ने भएको छ ।
यसअघि समितिले मन्त्रालयका कर्मचारीको बयान लिनुका साथै त्यहाँको अवलोकनसमेत गरिसकेको छ।