काठमाडौँ, असार ३ (अनलाईन बहस)
सिन्धुपाल्चोक जिल्ला, १७ जुन २०२३ का दिन एक समारोह बीच १५ मेट्रिक टन क्षमताको शीतभण्डार रोटरी क्लव अफ रुद्रमती काठमाडौंका अध्यक्ष Rtn किशोर त्रिपाठीले रिबन काटेर उद्घाटन गरे । सुकुटे वडा नं. १०, चौतारा साँगाचोकगाढी नगरपालिका स्थित सो कोल्ड स्टोरेजको निर्माण रोटरी क्लव अफ रुद्रमती काठमाडौँले आफ्नो अन्तर्राष्ट्रिय क्लब पार्टनर रोटरी क्लब अफ डेन्भर माइल हाईसँग मिलेर रोटरी इन्टरनेसनलको आर्थिक सहयोगमा गरेको हो ।
यस्तै गरी अन्य रोटरी क्लबहरु जस्तै रोटरी क्लब अफ पार्कर–चेरी क्रिक भ्याली, रोटरी क्लब अफ गोल्डेन, रोटरी क्लब अफ हाइल्याण्डस रेन्च (Littleton), रोटरी क्लब अफ पार्कर, रोटरी क्लब अफ डेन्भर चेरी क्रिक, रोटरी क्लब अफ किस्टोन हाइट्स, डिडिफ ५४५०, रोटरी क्लब अफ डेन्भर साउथइस्ट ले यस शीतभण्डारको परियोजनालाई सहयोग गरेका छन् ।
कार्यक्रममा सामुदायीक अगुवा डा. विनोद नेपालले रोटरी क्लबले सिन्धुपाल्चोकमा मिनी शीतभण्डार स्थापना गर्न पहल गरेकोमा हार्दिक धन्यवाद दिए । यस मिनी शीतभण्डारले स्थानीय कृषकलाई फलफूल तथा तरकारीलाई विस्तारित बिक्रीका लागि सेवा दिने र फलफूल तथा तरकारीलाई संरक्षण गरी शीतभण्डारको अभावमा कुनै पनि उत्पादन खेर जान नदिने उद्देश्य लिएको छ । समारोहमा यस
शीतभण्डारमा कुल तीनवटा कक्ष रहेको र जसमध्ये एउटा पूर्णतया सौर्य उर्जाबाट सपोर्ट गरिएको जानकारी डा. इन्जिनियर गंगाधर चौधरीले बताए । कोल्ड स्टोरेजको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका समारोहका अध्यक्ष गोविन्द कटेलले क्लवलाई धन्यवाद दिँदै शीतभण्डारलाई सुचारु रूपमा सञ्चालनका लागि नियमित अनुगमन र निर्देशन दिन रोटरी क्लबलाई आग्रह गरे । अध्यक्ष Rtn त्रिपाठी ले Rtn इशु सुब्बा, सामुदायीक सेवा परियोजना (Community Service Project) अध्यक्षको पहलको प्रशंशा गर्नुका साथै यस परियोजनामा काम गर्ने अन्य सबै क्लब सदस्यहरू लाई धन्यवाद दिए । साथै उनले रोटरी इन्टरनेशनल विश्वकै ठूलो सेवा संस्था मध्येको एक भएको र यसको मिशन भनेको “अरुलाई सेवा प्रदान गर्नु, अखण्डता प्रवर्धन गर्नु, र व्यापार, व्यावसायिक, र समुदायका नेताहरुको मित्रता मार्फत विश्व समझदारी, सदभावना र शान्तिलाई अगाडि बढाउनु” हो भन्ने जानकारी दिए ।
शीतभण्डारले चौतारा साँगाचोकगाढी नगरपालिका र सुनकोशी गाउँपालिका ५०० भन्दा बढी किसानलाई सेवा दिने लक्ष्य राखेको छ । यसका साथै रोटरी क्लब अफ रुद्रमती ले आफ्नो सहकारी साझेदार ग्रामीण युवा जन सरोकार मञ्चको साथमा पुनर्जीवित कृषि, पशुपालन आदि सम्बन्धी सीप अभिवृद्धि तालिम पनि सञ्चालन गरेको थियो । समारोह ५० भन्दा बढी स्थानीयको सहभागिता थियो ।