वैदिक सनातन संस्कृतिमा देवीदेवताका मूर्ति स्थापना गरेर पूजा गर्ने प्रचलन रहेको छ । यस संस्कृतिमा ईश्वरलाई निराकार र साकार दुवै रूपमा स्वीकार गर्ने प्रचलन रहँदैआएको छ । साकार इश्वर मान्नेहरू आफ्ना आराध्यको शास्त्रमा वर्णित स्वरूप (विग्रह—मूर्ति) बनाएर पूजा गर्दछन् भने कनिराकार मान्नेहरूले मूति नबनाई अन्य विधिबाट अर्चना—अभ्यर्थना गर्ने गर्दछन् । यद्यपि, शास्त्रार्थ गर्दा दुवैथरिले आफू सही भएका तर्क र शास्त्रीय तर्क पनि प्रस्तुत गर्दछन् ।
यति मात्र होइन, कतिपय मूर्ति पूजाको सर्वथा विरोधी मतावलम्बीहरूले सूर्य, चन्द्र, अग्नि, आकाश, भूमि(पृथ्वी), जल(जो मूर्त छन्) को अर्चना—प्रार्थना गर्दछन् । वैदिक आर्य संस्कृतिका भाष्यकार पाखण्ड खण्डिनी मतका प्रवर्तक महर्षि दयानन्द सरस्वतीका अनुयायीहरू मूर्ति पूजा गर्दैनन् । महर्षि दयानन्द सरस्वती आर्य समाजका संस्थापक हुन् । उनीहरू वैदिक मन्त्रद्वारा अग्निमा चरु हवन गर्दछन् । महिला र गैरब्राह्मण वर्णका मानिसहरूलाई पनि वेद पढाउँछन्, हवन कार्यमा सहभागी बनाउँछन् । त्यस्तै, आचार्य श्रीराम शर्माद्वारा स्थापित ‘अखिल विश्व गायत्री परिवार’ पनि मूर्ति पूजा नगर्ने मान्यता प्रचार गर्ने संस्था हो । यी दुवै संस्था वैदिक परम्पराको विज्ञानसम्मत व्याख्या र वैदिक महत्वलाई सर्वोपरि मान्दछन् । ‘अखिल विश्व गायत्री परिवार’का आश्रम/मन्दिरहरूमा महिला पुरोहितहरू रहेका हुन्छन् । यी हुन् वैदिक संस्कृति मान्ने, मूति पूजा नगर्ने बढी प्रचारित संस्थाहरू । तर, निराकार ब्रह्मका उपासक मतावलम्बी यिनीहरू नै हुन् वा यिनीहरू मात्र हुन् भन्ने अर्थ भने लगाउनु हुँदैन । कतिपय मानिसहरू साकार ब्रह्म—ईश्वरको साकार रूपको पूजा, ध्यान गर्नेहरूले गर्ने मूर्ति पूजालाई नै ‘ढुङ्गा पूजा’ ठान्दछन् । ‘मूर्ति पूजा’ र ‘मूर्ति पूजा’ नितान्त फरक विषय हो । मूर्ति पूजा पछिल्लो विषय हो भने ढुुङ्गा पूजा निकै पुरानो परम्परा हो, यो वैदिक परम्परा, मान्यता र वैदिक प्रचलन हो ।
ढुङ्गा पूजा कुनै देवीदेवताको मूर्ति पूजाभन्दा प्राचीन र फरक रहेको विषय ऋग्वेदका निम्न ऋचाहरूले सङ्केत गर्दछन् :
‘दशावनिभ्यो दशकक्षेभ्यो दशयोक्त्रेभ्यो दशयोजनेभ्योः । दशाभीशुभ्यो अर्चताजरेभ्यो दश धूरोदश युक्ता वहद्भ्य । दस औँलासँग सम्बन्धित दस किसिमका कर्म प्रकट गर्ने दस वटा घोडाजस्तै सोममा मिसाइएको, दस कर्म निर्वाह गर्ने सञ्चालनकर्ता, दस किसिमका शक्तिले सम्पन्न भएर पेल्ने कार्यमा खटिएका ढुङ्गाको महिमा गुणगान गरौँ ।’ (१०/९४/७)
यो मन्त्र पढेर यसको अर्थ बुझेपछि वैदिक संस्कृतिमा हरेक उपकारी व्यक्ति र वस्तुको महिमा छर्लङ्ग हुन्छ, खासगरी हाम्रो जीवनमा ढुङ्गाको महत्व के कति रहेछ भन्ने कुरा बुझ्न सकिन्छ । हामी अनुमान गर्न सक्दछौँ, जतिबेला कुट्ने, पिस्ने, पेल्ने औजार—साधनहरू विकास भएको थिएन, हाम्रा पुर्खाले जुक्ति लगाएर प्रकृतिमा स्वतः पाइने ढुङ्गा उपयोग गरेर खाद्य तथा पेय वस्तुलाई आप्mना लागि अनुकूल बनाउँथे । पछि बनेका जाँतो, घट्ट आदि यिनैको विकसित रूप हो । र, अहिले बनेका कुटानी पिसानी, पेलानी गर्ने मसीनका आधार पनि त्यही ढुङ्गा प्रयोगको इतिहास नै हो ।
हामीकहाँ पूजा भन्नासाथ चामलको पिठोको रेखी हालेर, दीप, कलश, गणेश स्थापन गरी पञ्चोपचार, शोडषोपचारपूर्वक गरिने कर्मलाई मात्र बुझ्ने चलन छ । अझ त्यसमा पनि पूजा किन लगाएको हो भनेर सोध्ने चलन छ । यस्तो गर्ने चलन भएपछि यस प्रकारको प्रश्न गरिनु स्वाभाविक हो । पूजा भनेको सर्वोच्च सम्मान हो । हुन त सामान्य सम्मान पनि पूजा नै हो । सम्मान गर्नेले सम्मानितको सम्मानमा आफ्नो जानकारी अनुसार प्रशंसा गर्ने हो । महिमाको बयान गर्ने हो । आप्mनो गच्छेअनुसारका वस्तुहरू समर्पण गर्ने हो । गतिला खानेकुरा खुवाउने हो र सक्दो खुसी बनाउने हो ।
ते अद्रयो दशयन्त्रास आशवस्तेषामाधानं पर्येति हर्यतम् । त ऊ सुतस्य सोम्यस्यान्धसोंकशोः पीयूष प्रथमस्य भेजिरे । यी ढुङ्गाले दस वटा औँलालाई बन्धनरूपी डोरीजस्तै ठानेर शीघ्रताका साथ काम गर्दछन् । यी ढुङ्गाको पेल्ने काम अत्यन्त प्रशंसनीय र गतिशील छ । चुहिँदै गरेका सोमरसको भाग सबैभन्दा पहिले यिनीहरूलाई नै प्राप्त हुन्छ । १०/९४/८
सुते अध्वरे अधि वाचमक्रता क्रीडयो न मातरं तुदन्तः । वि षू मुञ्चा सुषुवुषो मनीषां वि वर्तन्तामदंयश्चायमानाः । पूजनीय ढुङ्गा यज्ञमा सोम पेल्ने काम गर्दा आमासित खेल्ने बालक आफ्ना हातले आमालाई हिर्काएर खुसीले हाँसेझैँ रमाएका देखिन्छन् । सोमरस पेल्न प्रयोग गरिएका ढुङ्गालाई विभिन्न किसिमले प्रार्थना गरौँ । अब ढुङ्गाले पेल्ने काम बन्द गरून् । १०/९४/१४
यी पङ्क्तिहरूको अध्ययनबाट हाम्रा पुर्खा कारण सहित प्रकृति पूजक थिए भन्ने स्पष्ट हुन्छ । खाद्यपेय पदार्थहरू ढुङ्गामा पिस्ने, पेल्ने काम गर्दैआएका तत्कालीन मानिसहरूले त्यसप्रति आभार व्यक्त गर्दै त्यसको विकल्प पनि विकास गरिसकेका थिए । यसको प्रमाणका रूपमा ‘अब ढुङ्गाले पेल्ने काम बन्द गरून्’ भन्ने भनाइबाट पनि पुष्टि हुन्छ ।
हाम्रो चलनचल्तीमा ठुला भवन, पुल, सडक आदि भौतिक संरचना निर्माण गर्दा शिलान्यास गर्ने प्रचलन रहेको छ । यस क्रममा ढुङ्गाको पूजा गरिन्छ । त्यस्तै विवाहका क्रममा पनि शिलारोहण गर्ने गरिन्छ । शिलारोहणका क्रममा पढिने मन्त्र यस्तो छ, ‘ॐ आरोहेममश्मानं अश्मेव त्वं स्थिरा भव । अभितिष्ठ पृतन्यतोद्रबबाधस्व पृतनायतः अर्थात् हे कुमारी, यस यज्ञवेदीको उत्तरतिर राखिएको ढुंगामाथि चढ । तिमी ढुंगाजस्तै बलशाली होऊ । लड्नभिड्न आउनेहरूलाई दबाएर राख्न र ती झ्mगडा गर्नेहरूको प्रयासलाई असफल पारिदेऊ ।’ यसलाई नजानी,नबुझी खेल र हाँसोको रूपमा अघि बढाइएको छ । यही नबुझी गरिएको हुनाले, बुझाउने प्रयत्न नभएको हुनाले हितकर, जीवनोपयोगी, शिक्षाप्रद, व्यावहारिक, विज्ञानसम्मत विषयहरू अन्धविश्वास र कर्मकाण्डमा मात्र सीमित भए । पुर्खाले प्रकृतिलाई सोचको आधार बनाए । यसलाई धर्म, उद्यम र जीवनको संस्कार बनाए । यसका हरेक अंग—अंग, खण्ड—खण्डलाई पूजा(उच्च सम्मान)को चलन चलाए । यस्ता विषय कसरी आए, यस्ता चलन किन चलाइए भनेर सोच्नेतिरभन्दा सबैलाई वाहियात र अन्धविश्वास भनेर तर्किन सजिलो मानेको देखिन्छ, जो वास्तवमा अल्पज्ञताको उदाहरण हो ।
यहाँ कर्मकाण्डमा के कसो गरिन्छ, त्यो स्थानविशेषको विषय हो, तर त्यसको आसय स्थिरता र दृढता हो । स्थिरता र दृढताको प्रतीकको रूपमा गरिने यो शिलापूजा वा शिलारोहणले प्रकृतिप्रति मानिसको श्रद्धाभाव व्यक्त गर्दछ । जसलाई पूजिन्छ, त्यो वस्तु वा व्यक्ति जे भए पनि उच्च सम्मानित हुन्छ । यसरी हाम्रा पुर्खाले विवाहजस्तो परिवार स्थापना गर्ने अवसरमा ढुंगालाई यति बढी महत्व दिएको स्पष्ट छ ।
अहिलेको बाढीपहिरोको पीडाको मुख्य कारण प्रकृतिको अनुचित दोहन हो । आज मानिसले ढुंगाको बल र उपयोगिता बुझेको छ । तर, प्रकृतिको अमूल्य साझा सम्पत्तिको उपयोग स्वार्थकेन्द्रित भएर गरिरहेको छ र विपत्तिमा रोइरहेको छ । प्राकृतिक वस्तुहरूको सही संरक्षण र सदुपयोगका लागि संस्कृतिको अन्तर्वस्तु बुझ्न र बुझाउन अत्यन्त आवश्यक छ । प्रकृति र संस्कृतिको यो गज्जबको सम्बन्ध हुन्छ । यस्ता प्रकोप, महामारीहरूले सामाजिक तथा सांस्कृतिक अवस्थामा नै परिवर्तन पनि ल्याइदिने गर्दछ ।
सनातन संस्कृतिमा देवीदेवताका मूर्ति स्थापना गरेर पूजा गर्ने प्रचलन रहेको छ । कतिपय मानिसहरूले यसैलाई आधार बनाएर ‘ढुङ्गा पूजा’ भनेको पनि पनि पाइन्छ, वास्तविकता के हो भने ढुुङ्गा पूजा र मूर्ति पूजा एउटै होइन । ढुङ्गा पूजा कुनै देवीदेवताको मूर्ति पूजाभन्दा प्राचीन र फरक हो । ढुंगा पूजाको विषय प्रकृतिप्रति सम्मान हो । यसमा यसको संरक्षण र सन्तुलित उपयोगको शिक्षा हो । यस्तो विषयलाई उच्च शिक्षामा मात्र होइन, प्रकाण्ड वातावरणविद् बनाउन मात्र होइन, विद्यालयस्तरको शिक्षाको विषय बनाइनु पर्दछ । बालबालिकालाई यो शिक्षा दिनु पर्दछ, बालबालिका मानव संरचनाका जग हुन् । यिनलाई शिक्षाको माध्यमबाट शक्तिशाली बनाइनु पर्दछ । अन्य प्रसङ्गमा भनिएको छ, प्रासादस्य विनिर्माणे मूलभित्तिरपेक्ष्यते अर्थात् भवनको निर्माणमा जगको आवश्यकता पर्दछ । जगमा शिलान्यास गरिन्छ । त्यसलाई सम्मान गर्नु नै वास्तवमा ढुङ्गापूजा हो ।
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)