काठमाडौँ, १५ वैशाख:
हामीकहाँ एउटा गज्जबको चिन्तन छ— फरक भन्नासाथ तल्लो—माथिल्लो बुझ्ने, उँचो—नीचो पर्गेल्ने । फलाम र पराल फरक हो, सुन र माटो फरक हो, काठ र ढुङ्गा फरक हो, कार्यालय र खेत फरक हो, दिदी र भाइ फरक हो, दाजु र बहिनी फरक हो, पढ्ने र खेल्ने फरक हो, गीत गाउने र पर्वतारोहण गर्ने फरक हो । पहाडे, मधेशी, हिमाली फरक—फरक हो । यो कसैले कसैलाई सिकाइरहनुपर्ने विषय होइन । तर, हामी यही फरकपनका विषयमा अल्झिरहेका छौँ, झगडा गरिरहेका छौँ । जब कि यी कुनै पनि भिन्नता झगडाको विषय हुनुपर्ने नै होइन । यी सबै विशेषता हुन्, कमजोरी होइनन् । हरेक वस्तुको उपयोगका क्षेत्र फरक छन्, हरेक मानिसको क्षमता र विशेषता फरक छ । परालको काम फलामबाट, माटोको काम सुनबाट, पर्वतारोहणको काम सङ्गीतकारबाट हुँदैन ।
राजनीतिक, पेसागत, व्यावसायिक हिसाबले हामी जहाँ छौँ, जे छौँ त्यो अरुका मात्र कारणले नभई मूलतः हामी आप्mनै कारणले छौँ । अरुले अलिकति तानेको वा धक्का दिएको सम्म हुन सक्दछ । त्यसैले हामीले हामीलाई प्रतिकूल वा असहज लागे राजनीति छोड्न सक्छौँ, पार्टी फेर्न सक्छौँ, अर्को बनाउन सक्छौँ । पेसा, व्यवसाय पनि हामी फेर्न सक्दछौँ । तर, हाम्रो जन्म हाम्रो कारणले वा हामीले रोजेर भएको होइन ।
हामी कोही पनि कहाँ जन्मने, कुन जाति—समुदायमा जन्मने, कस्तो पेसाजीवी परिवारमा जन्मने भन्ने जानेर, सल्लाह गरेर जन्मेका हुँदैनौँ । जन्मको आधारमा हामी कोही उस्तै छौँ, कोहीभन्दा भिन्न छौँ । जोभन्दा पहिला जन्म्यौँ उनीहरूभन्दा अग्रज भयौँ, जोभन्दा पछि जन्म्यौँ उनीहरूभन्दा कनिष्ठ भयौँ । जात, थर, जेष्ठता, कनिष्ठता हामीले रोजेर पाएका होइनौँ । यो प्राकृतिक संयोग हो । हरेक जाति समुदायमा, हरेक धर्ममा, हरेक भूगोलमा असल र खराब, उपयोगी र कम उपयोगी मानिसहरू हुन्छन् । तुलनात्मक रूपमा सफल र असफल पनि हुन्छन्, छन् । हामी पनि त्यस्तै हौँ ।
हाम्रो नेपाली समाजमा जसरी अन्धविश्वास, पछौटेपन, गरिबी, अशिक्षा आदि समस्या छन्, त्योभन्दा बढी नकारात्मक तथा प्रतिक्रियात्मक सोच सामाजिक अग्रगतिका लागि बाधक बनिरहेको छ । केही कमी आइरहेको भए तापनि बेस्सरी बिझ्ने गरी प्रतिक्रियात्मक शब्दवाण प्रहार भई नै रहेको छ । अज्ञान र असमझदारीको महायुद्ध चलिरहेको छ । विना औचित्यको सामाजिक महायुद्धले केही अपवादबाहेक कुनै व्यक्ति, समाज, जाति, समुदाय, समाज, राष्ट्र कसैको हित गर्दैन । गालीगलोजका शब्दवाणले असहिष्णुता र कट्टरता बढाउँछ ।
हामी पेसा—व्यवसाय, भूगोल, लिङ्ग, वर्ण, जाति आदिका हिसाबले कोही उस्तै र कोही भिन्न छौँ । नातामा उमेर र ठूलो—सानो, शरीरको बनोटमा ठूलो—सानो अवश्य छौँ । घर बनाउँदा पनि त ढुङ्गैढुङ्गाको, माटैमाटाको, काठैकाठको मात्रै त बन्दैन । केही न केही त फरक वस्तु मिसिएकै हुन्छ । तर यहाँ कुन ठूलो, कुन सानो, कुन महत्वपूर्ण, कुन महत्वहीन भनेर किन खोज्ने ? फरक हुनुलाई महत्वपूर्ण र महत्वहीन भन्ने किन बनाउने ? किन बुझ्ने ? आआफ्ना ठाम र काममा सबै महत्वपूर्ण छन् । शरीरका अङ्ग त फरक—फरक छन् र फरक—फरक काम गर्दछन् भने हामी त सिङ्गो मानिस हौँ । हामी त आफ्नो लागि उपयोगी काम हामी आफै रोज्दछौँ, रोज्न सक्दछौँ । यसै अनुसार पहिचान बनाउन सक्दछौँ, सकेका छौँ ।
अहिले हामी सामाजिक रूपान्तरणको कुरा गरिरहेका छौँ । रूपान्तरणको क्रममा पुरानोमा परिमार्जन गर्ने हुन सक्दछ र नयाँ निर्माण पनि हुन सक्दछ । तर, यी दुवै कुरा शून्यमा सम्भव छैन । परिमार्जन होस् वा नयाँ निर्माण, दुवैको आधार हुन्छ र छ । के के विषयमा परिमार्जन गर्ने ? के के नयाँ निर्माण गर्ने ? यसको लेखाजोखा गर्न आवश्यक हुन्छ । समाज र सामाजिक संरचनाको लेखाजोखा, मानिसका आवश्यकताको लेखाजोखा, स्रोत र सम्भावनाको लेखाजोखा, सामाजिक क्षमताको लेखाजोखा आदि आवश्यक हुन्छ । यिनै लेखाजोखाको आधारमा प्राथमिकताहरू निर्धारित गर्दै अघि बढ्नुपर्ने हुन्छ ।
उदाहरणका लागि सर्वप्रथम सामाजिक क्षेत्रका केही विषयहरू हेर्न सकिन्छ । जस्तैः हाम्रो समाजमा सामाजिक विभेद छ । यो सामजिक विभेदभित्र जातीय र लैङ्गिक विभेद चर्को छ । जातीय विभेद यस्तो कि मानिसले मानिसलाई छुनसम्म नहुने यद्यपि, पेसा र आर्थिक हैसियतमा आएको परिवर्तन र संवैधानिक तथा कानुनी व्यवस्थाका कारण केही खुकुलोपन आएको भए पनि सामाजिक मनोविज्ञान फेरिने गति साह्रै मन्द छ । लैङ्गिक विभेद यस्तो छ कि हरेक जाति, धर्म, वर्ग, वर्ण, क्षेत्रमा महिलाहरू आफ्नै घरमा अधिकारविहीन रहेको अवस्था छ । मानिस—मानिस बराबर, सङ्ख्यात्मक हिसाबले केही बढी नै भएर पनि अमूकलाई यति प्रतिशत भनेर ‘अड्कलेर’ लिने—दिने भएको बेहोरा सबैमा अवगत नै छ । यिनमा हाम्रो तीव्र सामाजिक बहस छ, ‘जोडदार’ सङ्घर्ष जारी छ । साँच्चिकै सामाजिक रूपान्तरणका मुद्दा, तीसँग जोडिएर आउने इतिहासका विषय स्वाभाविक हुन्छ, तर औचित्यहीन जातीय तथा परम्परागत मान्यतामाथिको प्रहारले समस्या समाधान सम्भव हुँदैन ।
एकातिर यस्तो अवस्था छ भने केही मानिसहरू ‘यो जातपात, धर्म, लिङगका कुरा नगरौँ’ भनेर साह्रै सभ्य, वैज्ञानिक र समाजवादी भइटोपल्छन् । तर, जातपात, धर्म, लिङगका कुरा तबसम्म भइरहनेछ, जबसम्म जाति र लिङ्गका आधारमा विद्यमान विभेद सकिँदैन र समन्यायिक अवस्था आउँदैन । जबसम्म असमानताका लागि धर्म—संस्कृतिमाथि दोष थोपरेर आफ्नो राजनीतिक दायित्वबाट स्वयं राजनीति मुक्त हुँदैन । अहिले जातीय विषयले राजनीतिबाट बढी प्रश्रय पाइरहेको छ । नेपाली समाजलाई जातीय र लैङ्गिक विभेदबाट मुक्त गर्न राजनीतिक नेतृत्वलाई धार्मिक तथा सामाजिक अन्धविश्वासबाट मुक्त गर्नु पहिलो आवश्यकता हो ।
राज्यका नीति निर्माताहरूलाई चुनौती छ— यहाँहरूले कुन प्राचीन प्रावधान वा शास्त्रको आधारमा, कुन वेद वा पुराणका आधारमा, कुन धार्मिक मत—मान्यताका आधारमा (आर्थिक हिसाबले न सही) मानिसहरूलाई सामाजिक तथा राजनीतिक हिसाबले हिंसा र विभेदमुक्त बनाउन सक्नुभएको छैन ? केले रोकेको छ ? आपूmहरूले गर्न नसक्ने, भाषणको लागि ठाउँ बाँकी राख्ने अनि दोष वेदलाई, मनुस्मृतिलाई, पुराणहरूलाई ? कर्मकाण्ड र पुरोहितहरूलाई अझ ‘टपरे बाहुन’लाई ? एउटा कामसँग सम्बन्धितलाई टपरे भनेर अपमानजनक सम्बोधन र व्यवहार गर्दा अन्य पेसाजीविलाई त्यस्तै अपमानजनक सम्बोधन हुन्छ भनेर सबैले बुझ्नुपर्छ ।
मन्दिर पस्न दिइएन भनेर आन्दोलन गर्ने, मेरो घरको आजा—पूजा र श्राद्धमा बाहुन आएनन् भनेर दुखेसो पोखिरहने, जाति प्रथाले बर्बाद पा¥यो भनेर गीत गाइरहने,
यो जातको ऐतिहासिक योगदान भनेर विशेष व्यवस्थाको दाबी गरिरहने अनि ‘जातका कुरा नगरौँ, धर्मका कुरा नगरौँ, वेद—पुराणका कुरा नगरौँ, ऋषिमुनिका कुरा नगरौँ, संस्कारका कुरा नगरौँ’ भन्नेहरूको कुरा सुन्दा पनि उदेक लाग्छ । समस्या त्यही हो भने समाधान त्यहीँ खोज्न पर्दैन ?
सिर्जनात्मक विकल्पको खोजी र अनावश्यक वहसहरूले ल्याउने परिणाम उस्तै हुँदैन । सिर्जनात्मक विकल्पले नयाँ बाटो खोल्दछ भने पूर्वाग्रहपूर्ण बहसले कट्टरतालाई मलजल गर्दछ । प्रचलित प्रथा—परम्परा र ती प्रथा—परम्पराको अनुसरण गर्ने समुदाय यही माटोका हुन् । रूपान्तरण प्रक्रियामा सबैको सुझबुझ र सहभागिता आवश्यक छ । कसैले, कसैलाई हेलाहोँचो गरेर र निषेध गरेर होइन, विश्वाससाथ सहकार्य गरेर ल्याइने परिवर्तन दिगो र मैत्रीपूर्ण हुन्छ ।
संस्कारका विषयमा त यस अघि नै चर्चा भइसकेको छ । यी संस्कारहरू कुनै धर्मले, कुनै शास्त्रले विभेद र अत्याचार गर्नका लागि निर्माण गरेको नभई एकरूपताका लागि व्यवस्थापन गरिएको हो । तिनीहरूलाई स्वीकार गरिएको हो । धर्म मान्नुस् या नमान्नुस्, विवाह हुन्छ, बच्चा जन्मन्छ नाम राखिन्छ, मानिस मर्छन्, त्यसको उपयुक्त व्यवस्थापन गरिन्छ, पर्व आउँछन् रमाइलो गरिन्छ । जन्म दिन, स्मृति दिवस, दिक्षान्त समारोह, विजयोत्सव, शपथ ग्रहण, उद्घाटन, सभापतित्व, समापन, अतिथि सत्कार—स्वागत, अभिनन्दन, आसन ग्रहण आदि विषयलाई संस्कारको नाम दिइएको हो । सकारात्मक रूपमा सोच्ने हो भने यस्ता विषय सबैका साझा देखिन्छ । साझा भएपछि सबैको हक लाग्ने नै भयो । नकारात्मक ढङ्गले हेर्ने हो भने विकल्पहीन झगडा चलिरहन्छ ।
यिनैमध्ये केही कुरा नयाँ थपिए हुनन्, केही परिमार्जन गरिए हुनन् । नयाँ गर्न, नयाँ हुन पुरानोले रोक्दैन । परिमार्जन वा सुधार गर्ने आधार पनि पुरानै हुन् । हामीले स्थापित गर्ने पद्धतिहरू समन्यायिक बनाउन सकौँ । गणतन्त्रको महत्व बुझ्न राणा शासन जान्नपर्छ, पञ्चायत विरोधी आन्दोलन बुझ्नै पर्छ । हामीले कर्तव्य बोध गर्न पुर्खाका कुरा थाहा पाउनुपर्छ । भर्खरै ल्याइएको राजनीतिक व्यवस्थालाई जोगाउन हम्मेहम्मे परेकाहरूलाई अज्ञात समयदेखि चलिरहेको व्यवस्थाप्रति मानिसहरूको मोह र श्रद्धा देख्दा प्रचण्ड जलन हुँदो हो र त्यसैको अभिव्यक्ति पोखिएको हो । अन्यथा, प्राचीन मूल्य—मान्यता र व्यवस्थाप्रति असहिष्णु हुनुपर्ने देखिँदैन ।
तर, हामीकहाँ यस्तो अन्धविश्वासको दौड सुरू भएको छ कि बुद्ध भन्दा धार्मिक भइन्छ ‘बुद्धा’ भन्नुपर्छ । शुभजन्मोत्सव भन्दा सामन्ती भइन्छ ‘ह्याप्पी बर्थडे’ भन्नुपर्छ । योग भन्दा पुरानो भइन्छ ‘योगा’ भन्नुपर्छ । ध्यान भन्दा अन्धविश्वासी भइन्छ ‘मेडिटेसन’ भन्नुपर्छ । पुराण आदि धार्मिक साहित्य पढेको मन पर्दैन ‘स्पिरिच्युअल लिटरेचर’ पढ्न रुचाइन्छ । शिवलाई ‘शिवा’, कृष्णलाई ‘कृष्णा’, रामलाई ‘रामा’ भनियो भने अलि आधुनिक भइन्छ । वेदलाई ‘वेदा’, पुराणहरूलाई ‘पुरानाज्’, देवी—देवतालाई ‘गड एण्ड गडेस’, शुभप्रभात, शुभरात्रिका ठाउँमा ‘गुड मर्निंग, गुड नाइट’, काका, मामालाई अङ्कल; काकी, सानिमा, फुपुलाई अन्टी आदि भनेर सुधार, परिवर्तन वा रूपान्तरणको स्वादमा रमाउनेहरूलाई के भन्नु र ? यसरी सबै कुरा आयातित भएपछि कुन मौलिकताको कुरा कुन मुखले गर्ने हो ?
साँच्चै परिवर्तन वा रूपान्तरण चाहने हो भने यसका आधारहरूको राम्रो लेखाजोखा गर्न आवश्यक छ । समाजमा सुधार, परिवर्तन वा रूपान्तरण चाहनेहरूले प्रथा—परम्परा, मूल्य—मान्यता, विज्ञान र अन्धता आदिबारे यही भूगोलमा विकसित र प्रयोग भएका विषयको अध्ययन आवश्यक छ । परिवर्तनका नियम बुझ्न आवश्यक हुन्छ । कुनै पनि प्रावधान, मूल्य—मान्यता र परम्परा अपरिवर्तनीय हुँदैन । ‘परं शक्तिशाली ईश्वर’ पनि अवतारका रूपमा युगसापेक्ष फेरिएका छन् । राम, कृष्ण, बुद्ध आदि यसका उदाहरण हुन् । मनु फेरिएका छन्, व्यास फेरिएका छन्, इन्द्र फेरिएका छन्, सप्तर्षि फेरिएका छन् । ईश्वर नै अवतारका रूपमा फेरिने संस्कृतिमाथि यथास्थितिवादी आरोप लगाउनु संस्कृतिको मर्म नबुझ्नु हो । नबुझेर भएका विवाद र विमतिहरू बुझेपछि स्वतः समाप्त हुनेछन् ।
यहाँ हामीले पुराना कुरा चटक्कै छोड्ने हो भने यो देशमा विगतमा हामीलाई माटोका भाँडा बनाइदिने, फलाम—तामाका औजार बनाइदिने, सुन—चाँदी गहनाले सिँगार्ने, जुत्ता—लुगाले हाम्रो इज्जत जोगाइदिने, राष्ट्रको शान मानिएको नेपाली टोपी निर्माण गर्ने, गीतको माध्यमबाट गाउँगाउँमा सन्देश प्रसार गर्ने, वाद्य तथा गायन कलाको माध्यमबाट जीवनमा रस भरिदिने, नदी वारिपारि गराइदिने आदि अनेकौँ पेसासम्बद्ध पहिचान भएकाहरूको योगदानको सम्मान कसरी होला ? महिलाहरूको योगदानको साँचो हिसाब—किताब पनि बाँकी नै रहने छ । विभेद र शोषणका अरु धेरै कारण छन्, तर एउटा महत्वपूर्ण कारण जानकारीको अभाव पनि हो । विभेदको निरन्तरताका लागि होइन, योगदानको स्मरण र विभेदको क्रमभङ्ग गर्न पनि विगतको स्मरण आवश्यक छ । तर मानिसले मानिसलाई जन्मकै आधारमा उँच—नीच, तल्लो—उपल्लो, छुत—अछुत बनाएर—यस्तो अभ्यासलाई कायमै राखेर समाजले अग्रगति लिँदैन, वेद, पुराण आदिले निरपेक्ष भेद—विभेदको मान्यता राखेको छैन । बरु जातिउत्कर्षका बाटो देखाएको छ । विगतका प्रवन्धहरूको विरोध र गालीगलोजले त मानिसलाई अझ तलतल खसाल्दै लैजान्छ ।
राजनीति गर्ने, समाजसेवा गर्ने, अध्ययन लेखन गर्ने, धर्मकर्म गर्ने, पूजा गर्ने, पुराण भन्ने, धार्मिक क्षेत्रको व्यवस्थापन गर्ने, निर्माण र सिर्जना गर्ने, उत्पादन र वितरण गर्ने, मनोरञ्जन र खेलकुद गर्ने सबैले आफ्ना क्षेत्रका र स्वयं आप्mना कमीकमजोरी हटाउने र नयाँ दिशा पत्तो लगाउने गरेर मात्र गतिशील रूपान्तरण सम्भव हुनेछ । स्थायी होइन, दिगो होइन, गतिशील रूपान्तरण सधैको आवश्यकता हो ।
अहिले आधुनिक भनिएको समयमा सिर्जना गरिएका सिद्धान्तका अनुयायीहरूमा पनि पङ्क्तिभेद छ । विभिन्न बहानामा उँचोनीचोको व्यवहार रहेको छ । भूमिकाभन्दा भाग ठूलो, जिम्मेवारीभन्दा अवसर ठूलो, बनाउनेभन्दा बनेको ठूलो, चुन्नेभन्दा चुनिने ठूलो, गर्नेभन्दा अह्राउने ठूलो, श्रमिकभन्दा मालिक ठूलो, फोहोर फ्याँक्नेभन्दा फोहर पार्ने ठूलो आदि इत्यादि अवस्थामा परिवर्तन आवश्यक छ । तर, यसको विकल्प र व्यवस्थापनको ‘मोडेल’ कस्तो हुने ? यसतर्फ सबैको ध्यान जान जरूरी देखिन्छ ।
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)