images
images

छुवाछुत प्रथा संविधान विपरित र सनातन संस्कृतिका लागि घातक 

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्र्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै’...यो परिच्छेद नेपालको संविधान, २०७२ को प्रस्तावनाको अंश हो ।  यसबाट स्पष्ट छ, हाम्रो राज्य छुवाछुतको पक्षमा छैन । अब असल अभ्यास—व्यवहारद्वारा छुवाछुतमुक्त हुन आवश्यक छ ।   

 

आज जेठ २१ । आज छुवाछुत उन्मुलन राष्ट्रिय दिवस हो । विशेष अवस्था, स्थान र कारणबाहेक छुवाछुत गर्नुहुँदैन । अरुलाई नछुनु मात्र छुवाछुत होइन, विनाकारण छुन तम्सनु पनि छुवाछुत नै हो । तर, मानिसलाई मानिसले गर्ने अस्पृश्यता मानवजातिका लागि कलङ्क हो । विशेषतः सनातन हिन्दु संस्कृतिका लागि यो घातक रहेको छ । छुवाछुत भनेको बहिष्करण हो । यसका पछाडि अनेकौँ कारणहरू छन् । एकमुष्ट रूपमा कुनै जाति, धर्मविशेषलाई दोष लगाएर सामाजिक सद्भाव खल्बल्याउनु पनि राम्रो होइन । छुवाछुत र बहिष्करणका सन्दर्भहरू केलाउँदा केही मानिसहरू व्यक्तिविशेषको आचरण, चरित्रका आधारमा बहिष्करणमा परेको देखिन्छ भने केही सन्दर्भमा शक्तिको प्रयोग भएको पनि देखिन्छ । जेसुकै भए पनि वंशानुगत रूपमा कुनै समुदाय जन्मजात अछुत हुने परम्पराको निरन्तरताको क्रमभङ्ग गर्नैपर्छ । 

 

‘त्यक्तस्वधर्माचरणा निर्घृणाः परपीडकाः । चण्डाश्च हिंसका नित्यं म्लेच्छास्तेद्यविवेकिनः आफ्नो धर्म त्यागेका, लाजघिन नभएका, अर्कालाई दुःख दिने, क्रोधी, हिंसक स्वभाव भएका र अविवेकीहरूलाई सधै म्लेच्छ भन्ने गरिएको छ ।’ तत्कालीन समयमा यसरी व्यक्तिविशेष अछुत वा बहिष्कृत हुन्थे । 
नेपाली समाजमा जातीय विभेद छ । कुनै विषय कुनै कालखण्डमा स्थापित भयो भने त्यसको अस्तित्व चिरकालपर्यन्त रहिरहन्छ । अहिले अस्तित्वमा रहिरहेका पद्धतिहरू कुनै समयको आवश्यकताले विकसित भएका हुन् । यस्तो आवश्यकता कहिले खास शक्तिशालीहरूको रह्यो होला र कहिले समग्र समाजको पनि रहेको हुनसक्दछ । पद्धति जस्तोसुकै होस् सहजै स्थापित भएको हुँदैन र बनेका पद्धतिहरू पनि सहजै विस्थापित हुँदैनन् । विभेदका रूपमा होस् वा पहिचानको रूपमा, जातीय विषय संसारका सबै ठाउँमा छन् । 

 

जातीय विविधता र विभेद फरक विषय हुन् । विविधता प्राकृतिक हो भने विभेद सामाजिक हो । विभेद कृत्रिम हुने हुँदा यस विषयलाई फरक दृष्टिकोण सहित बुझ्न आवश्यक छ । नेपालमा (अन्यत्र नभएको होइन) जातीय विषय अपहेलनापरक विभेदका रूपमा देखिंदै आएको तथ्य सर्वविदितै छ । पछिल्लो समयमा जातीय विभेद अन्त्य गर्ने विषय राजनीतिक आन्दोलनको माध्यमबाट उठाइयो, उठाइँदै आएको छ र यसको व्यवस्थापन पनि राजनीतिक तवरमा नै हुँदैआएको छ । यसबाट के स्पष्ट हुन आउँछ भने जातीय वा अन्य विभेदको मूलकारण ‘राजनीति’ हो । गणगोत्र, कबिलातन्त्र होस्, उपनिवेशी शासन होस् वा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि राजनीतिक व्यवस्था भएको समाजमा विभेद छ भने विभेदको जिम्मेवारी र विभेदमुक्त छ भने त्यसको श्रेय तत्कालिन राजनीति र राजनीतिक व्यवस्थाले लिनपर्ने हुन्छ । समाजमा रहेका अनेकौं प्रकारका काममा मानिसहरूको संलग्नता रहनु स्वाभाविकै हो । तर यसैका आधारमा विभेद गरी अपहेलना र अपमान हुने कुरा राम्रो होइन ।  

 

यहाँ जातीय विभेदको विषयसँगै ध्यान दिनुपर्ने कुरा के हो भने कामप्रतिको दृष्टिकोण कस्तो हुने भन्ने हो । समाजका मानिसहरूले गर्ने कामका प्रकृति धेरै छन् । सरसफाई, भारवहन, खेतीपाती, पशुपालन, अध्यापन, आजापूजा, व्यापार, सेवा, उद्योग सञ्चालन, चिकित्सा, परामर्श, प्रशासन सञ्चालन, सुरक्षा, निर्माण....आदि अनेकौं कामका क्षेत्र छन् । यी सबै काम समाजको व्यवस्थापनका लागि अत्यावश्यक भएर नै निर्धारण गरिएका हुन् । मानिसहरूले यिनै कामहरूलाई आफ्ना आजीविकाको क्षेत्र बनाएका छन् । यी सबैथरि काममा सबैको समान रूची नहुन पनि सक्दछ, तथापि आजीविकाका लागि गर्न आवश्यक भएर गर्दै—गरिंदै आएको अवस्था छ । थोरै मानिसहरूले मात्र रूची अनुसारकै काम गरेर जीविका चलाएका होलान् । धेरै मानिसको आवश्यकताको लागि सिर्जिएका आजीविका अपहेलना र अपमानको, विभेदको विषय बनाइनु किमार्थ राम्रो होइन । यी सबै प्रकारका काम गर्नेहरूप्रति समाजले सम्मानजनक दृष्टिकोण राख्नु र सम्मानजनक व्यवहार तथा सम्वोधन गर्न आवश्यक छ । 

 

तर नेपाली समाजमा जतिजति मानिस ‘सचेत’ हुँदै आयो, त्यतित्यति छिद्रान्वेषी र पूर्वाग्रही हुँदैआएको देखिन्छ । आजीविकाको पूर्ति तथा योग्यता—क्षमताको कारणले रोजिएका पेशा(काम)गत निरन्तरतालाई धर्मसँग, धर्मशास्त्रसँग, वेदविद्यासँग जोडेर हेरिने गरेको छ । राजनीतिले समाधान गर्न मिल्ने र सकिने विषयलाई धर्मसँग, धर्मशास्त्रसँग, वेदविद्यासँग जोड्नुको कारण के हो ? के साँच्चिकै ‘धर्म’ बुझेर हो ? के साँच्चिकै ‘धर्मशास्त्र’को ज्ञान भएरै हो ? के ‘वेद’ पढेर नै हो ? यस्तो हो भन्ने आधार देखिंदैन । यथार्थमा भन्ने हो भने यस्तो हुनुको कारण बढ्दो भनिएको ‘चेतना’को दुरुपयोग या लहैलहैमा लाग्ने अन्धविश्वास नै हो । 

 

मातृसत्तात्मक समाज छँदा आमाको नामबाट सन्तानको पहिचान हुन्थ्यो । दिति, अदिति, दनुका सन्तान नै क्रमशः दैत्य, आदित्य र दानव सन्तान भएको प्रमाण पाइन्छ । पितृसत्तात्मक समाज विकास भएपछि  बाबुको नामबाट सन्तानको परिचय भएको विषय सर्वविदित तथ्य छँदैछ । तर कसैका पनि सन्तान एकै प्रकारका कर्मजीवि÷पेशाजीवि नरहेको तथ्य पनि पौराणिक ग्रन्थहरू अध्ययन, इतिहास पढ्दा र सामाजिक विकासलाई हेर्दा स्पष्ट हुन्छ । पहिले होस् वा अहिले धेरैजसो परिचय मानिसको कामबाट नै भएको पाइन्छ । जुनसुकै जात—कुलमा जन्मेको भए पनि खेती गर्नेलाई किसान, व्यापार गर्नेलाई साहुजी, भारी बोक्नेलाई भरिया.....आदि भनिन्छ । 

 

प्राचीन ग्रन्थ वेदमा सृष्टिको सन्दर्भको प्रश्नको उत्तरमा ब्राह्मण, राजन्य, वैश्य र शूद्रको प्रसङ्ग उल्लेख गरिएको छ । चार प्रकारका कामकै आधारमा यी नामहरू बनेको स्पष्ट छ । वेदमा नै थप स्पष्ट पारिएको प्रसङ्ग पनि छ । धेरै ठाउँमा ‘पञ्चजना’ र केही ठाउँमा ‘पञ्चकृष्ट’ शब्दहरू प्रयोग गरिएका छन् । यी दुवै शब्दले पाँच प्रकारका भन्ने नै अर्थ बोकेका छन् । यी लिखतहरूबाट के स्पष्ट हुन्छ भने मानिसको परिचय उसको कामबाट हुन्छ । 
उदाहरणका लागि भूमिको प्रार्थना गरिएको अथर्ववेदको यो मन्त्र :
यस्यामन्नं व्रीहियवौ यस्या इमाः पञ्चकृष्टयः । भूम्यै पर्जन्यपत्न्यै नमोकस्तुवर्षमेदसे ।। यसको भावार्थ हो— जहाँ धान, जौ आदि अन्न प्रशस्त हुन्छ, जहाँ पाँच किसिमका काम गर्ने मानिसहरू रहन्छन्, जसलाई झरीले पोषित गरेको छ, त्यस भूमिलाई नमस्कार गर्दछु ।’

 

यसरी यस भूमिमा बस्ने पाँच किसिमका काम गर्ने मानिसहरूको प्रसङ्गले कामकै आधारमा जातीय मान्यता विकसित भएको स्पष्ट हुन्छ । विद्वान्हरूका अनुसार ती पाँच किसिमका काम गर्ने मानिस भनेका विद्वान्, वीर, व्यापारी, शिल्पी र सेवक हुन् । यस्ता मानिस जुनसुकै कुल—वंशका हुन सक्दछन् ।पुराणहरूमा यस प्रकारका अनेकौं उदाहरण छन् ।  श्रीमद्भगवत्गीतामा पनि कृष्णले अर्जुनलाई भनेको प्रसङ्ग छ : चातुर्वण्यं मया सृष्टं गुणकर्मविभागशः भनिएको छ । यसको अर्थ हो— मैले गुण र कर्मको विभाजनको आधारमा चार वर्णको सृष्टि गरेको छु । यसबाट पनि मानिसको विभाजन कामको आधारमा नै भएको देखिन्छ । नीतिशास्त्रहरूमध्येको एउटा महत्वपूर्ण ग्रन्थ ‘शुक्रनीति’मा ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र र म्लेच्छ  गरी पाँच प्रकारका मानिस रहेको कुरा उल्लेख गरिएको छ । 

‘कर्मैव प्राक्तनमपि क्षणं किं कोअस्ति चाक्रिय । न जात्या ब्राह्मणाश्चात्र क्षत्रियो वैश्य एव न ।। न शूद्रो न च वै म्लेच्छो भेदिता गुणकर्मभिः । ब्रह्मणास्तु समुत्पन्नाः सर्वे ते किं नु ब्राह्मणाः ? अर्थात् पुराना कर्म नै मानिसको भाग्य बन्दछ । कर्म नगरीकन कोही बस्न सक्दैन । जन्मका आधारमा कोही पनि ब्राह्मण, क्षत्री, वैश्य, शूद्र वा म्लेच्छ हुँदैन । मानिसका गुण र कर्मद्वारा जातिको भेद छुट्याउन सकिन्छ । सबै प्राणी ब्रह्माबाटै उत्पन्न भएका हुन् भन्दैमा सबैलाई ब्राह्मण भन्न सकिन्छ र ?’  माथि उल्लेख गरिएका सन्दर्भहरू प्राचीन ग्रन्थहरूमा जन्मको आधारमा चल्ने वंशपरम्परा वा पहिचानबाहेक नकारात्मक विभेद नहुने प्रावधानका केही उदाहरण मात्र हुन् ।  संस्कृत ग्रन्थहरूमा यस्ता अनेकौं उदाहरणहरू छन् । यी ग्रन्थहरूमा ‘धर्म’ लेखिंदा अहिले प्रचलनमा रहेका धर्महरूको अस्तित्व नै थिएन । त्यसैले हिन्दूधर्मले या त्यससँग सम्बन्धित सबै प्रावधानहरूले जातिभेद÷जातीय विभेदको पक्षपोषण गर्दैनन् ।  कहीं कतै त्यस्ता वचन—प्रमाणहरू भेटिन्छन्, तर ती त्यतिबेलाका लागि, त्यतिबेलाको चेतनासापेक्ष, त्यतिबेलाको शासन व्यवस्थाका नियमहरू हुन् भनेर बुझ्न आवश्यक छ । इतिहासको अध्ययन गर्दा, शास्त्रहको अध्ययन गर्दा भेटिने सबै कुरा वर्तमान सुहाउँदो नै हुन्छ र हुनुपर्छ या इतिहासका विरुद्ध बोलेर मात्रै साध्य प्राप्त हुन्छ भन्ने ठान्नु बुद्धिमानी ठहर्दैन । नयाँ समाज, नयाँ नेपाल, नयाँ संसार निर्माण गर्न इतिहासका कुनै कालखण्डका पूर्ववर्ती प्रावधानहरूको विरोध होइन, नयाँ र सकारात्मक एवं सिर्जनशील सोच आवश्यक छ । 

 

इतिहास र संस्कृति बुझ्ने भनेको तिनीहरूलाई निरन्तरता दिनका लागि मात्र होइन, विगत बुझ्न, वर्तमानमा बलियो गरी उभिन र भविष्यका लागि आफ्नै बलबुतामा अरूलाई मान्य हुने इतिहास तथा संस्कृति निर्माण गर्नका लागि हो । कायरहरू अरूको विरोधमा रमाउँछन्, सोझासिधाहरू पुरानै बाटोमा लुरुलुरु हिँड्छन्, पौरखीहरू इतिहास पढ्छन्, संस्कृति बुझ्छन्, पुर्खालाई धन्यवाद दिन्छन्, राम्रा बट्याएर लिन्छन्, कमजोरलाई बलियो पार्दछन्, काम नलाग्ने मिल्क्याउँछन् र नयाँ संस्कृति र इतिहास रच्दछन् । राजनीति गर्छन्, विद्यालय विश्वविद्यालयमा पढाउँछन्, सामाजिक अभियान चलाउँछन्, कथा प्रवचन गर्छन् तर सुधार र रूपान्तरणका नाममा पुर्खालाई दोष लगाउँछन्, अर्कालाई सत्तोसराप गर्छन् । जिम्मेवार व्यक्तिले यसो गर्दैनन्, यसो गरेर नयाँ युग सुहाउँदो संस्कृति बन्दैन । 
        (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)