images
images

विकृत राजनीतिभित्र नेताको खोजी 

नेपालको राजनीतिक जीवनमा विभिन्न चरणमा भएका आन्दोलनबाट भएका राजनीतिक परिवर्तनहरूका बावजुद नेपाली जनमानस राजनीतिमा बिम्बको खोजीमा भौतारिँदै आएको देखिन्छ । देशभित्रका विभिन्न समस्याहरू र प्रत्यक्ष्य—परोक्ष अन्तरराष्ट्रिय प्रभावहरूले गर्दा यस्तो भएको भन्न गाह्रो छैन । त्यस कारण नेपाली जनमानसले आफ्ना समस्याहरूलाई बुझ्ने प्रभावशाली सादा जीवन व्यतित गर्ने नैतिक र आदर्शवान व्यक्तित्वको बिम्बको कल्पना राजनीतिमा गर्दै आएकोछ ।  तर, उसले समय क्रममा खोजेका बिम्बहरू पनि वर्षहरू बित्दै जाँदा धुमिल हुँदै गएका देखिन्छन् । यस्तो चमत्कारिक बिम्बको खोजीले बेलाबखत चर्को रूप लिने गरेको देखिन्छ । यसलाई नेपाली राजनीतिले आफुलाई समय अनुकूल डो¥याउन नसक्नु वा जनताको महत्वाकाँक्षालाई नबुझ्नु धरातलीय कारण हो पनि भन्न सकिन्छ ।  

 

राजनीतिमा बिम्बको खोजीको अर्थ जनचाहना सम्बोधन गर्न सक्ने नायक वा नेताको खोजी हो । अन्य विषयमा खोजीको लक्ष्य प्राप्तिपछि यस कार्यको रूप परिवर्तन भए पनि राजनीतिमा खोजीको अन्त नहुनु स्वभाविक प्रक्रिया हो, तर त्यो एउटै बिन्दुमा लामो समयसम्म केन्द्रित रहनु भने देशका लागि हितकर होइन । समय अनुसार खोजीको बिन्दु अगाडि बढ्नु पर्दछ । नेपालमा त्यो अहिले पनि झण्डै चार दशक पहिलेको विन्दुमा नै अल्मलिएको देखिन्छ । मानौं यो अस्सीसाल होईन छयालिससाल नै हो । त्यसैले त अहिले आएर चार—पाँच दशक पहिला देखिको भ्रष्टाचारको थुप्रो एकै पटक साफ गरिनुपर्छ भन्नेमा बहस केन्द्रित बन्न पुगेको छ । नेपाली जनमानस अहिले त्यसको उपचार गर्ने व्यक्तित्वको बिम्ब तीव्रतापूर्वक खोजिरहेको छ । यसलाई दलहरूले जनतालाई आश्वस्त पार्न नसकेको परिणतिका अर्थमा बुझ्न सकिन्छ ।

 

नेपाली जनमानसको एउटा हिस्सा राजनीतिक बिम्बको खोजी यतिबेला निर्दलीय पञ्चायतीतन्त्र र जहानियाँ राणातन्त्रीय बिम्बको पुनस्र्थापनतिर लहसिन थालेको छ । भविष्य तिरको चिन्तनभन्दा यसरी प्रयोग भइसकेका र फालिएका बिम्बहरूप्रति बढ्दो मोहले चरम निराशालाई दर्शाउँछ । कतिपय विष्लेशकहरू विगतमा भएका प्रयासहरू आन्तरिक आवश्यकता र चाहनाभन्दा विदेशीका स्वार्थका कारण भएको हुनाले त्यसको सन्तुलन गर्न राजनीतिक नेतृत्व असफल भएकोले नै यो अवस्था आएको निचोडमा पुगेका पनि देखिन्छन् ।          

 

दुई हजार छयालिस सालमा निर्दलीय पञ्चायती व्यवस्थाको पतनपछि दलहरूका नेतृत्वलाई जनमानसले बिम्बको रूपमा स्वीकार गरेको जस्तो देखियो । सक्रिय राजतन्त्र अस्वीकृत भयो । सक्रिय राजतन्त्र विरुद्ध दलहरूका पछाडि ठुलै भीड लामबद्ध भएको पनि देखियो । पश्चिमा मोडेलको प्रजातन्त्र आएपछि देशमा जादुको छडी चल्ने छ र नेपाल मिथकहरूमा वर्णित स्वर्गमा परिणत हुने छ भन्ने अतिविश्वास सबैमा मौलाएको थियो । तर त्यस्तो अनुभव हुन सकेन । त्यसपछि राजनीतिका नाममा हत्या हिंसाको दशक लामो सिलसिला चल्यो । त्यो पनि अर्को बिम्बको खोजी नै थियो, जसले २०४० वर्षको लामो आयु बाँचेको राजसंस्थाको नै अन्त गऱ्यो ।

 

यसरी देशमा आन्दोलन, नारा—जुलुस, आरोप—प्रत्यारोपको लामो सिलसिला अनवरत चल्दै आएको छ । तापनि, त्यसले पार लगाउन सकेको देखिएन । यसले जनमानसलाई चलायमान बनायो तर उचित दिशा कहिल्यै दिन सकेन । यसरी नेपाली राजनीतिले आफुलाई नकारात्मक बाहेक सकारात्मक चरित्रमा  रूपान्तरित गर्न कहिल्यै सकेको छैन । यस्तो राजनीतिक चरित्र जनताका लागि क्षणिक उधारो विश्वास मात्र बन्न पुगेको देखिन्छ । नकारात्मक चरित्रको राजनीतिले उत्पादन गरेको बिम्बले कहिल्यै सकारात्मक र दिगो आकार दिन असंभव नभए पनि सजिलो छैन । अहिले पनि यो क्रम जारी छ । पछिल्ला दिनहरूमा जनमानसले नायकत्वको बिम्ब देखेका नयाँ अनुहारहरूको शैली पनि पारम्परिकभन्दा भिन्न देखिँदैन । नकारात्मक स्वरूपको राजनीतिक चरित्रले बितेको समयमा नायक बन्न योग्य बिम्बहरूको तेजोवध गरेका दुःखद दृष्टान्तहरू पनि छन् ।

 

अहिलेसम्म बिम्ब बन्न खोज्ने र बनाउन खोजिएका  अनुहारहरूमा अर्काको ईष्र्यापूर्ण कटाक्षको नाकै फोर्ने दुर्गन्ध मात्र देखिन्छ । धैर्य र शालीनतालाई परै राखेर  दाह्रा किट्दै कर्कस आवाजमा गरिने  तर्कहरूले नायकत्वको अभिभारा पूरा गर्लान् भन्ने विश्वास गर्न यथार्थमा गाह्रो छ । किन भने नायक बन्न खोज्नेहरूको यो शैली नेपालका लागि थोत्रो भइसकेको छ ।                       

 

राजतन्त्रमा बन्ने नायक अर्थात् राजा पुरुषार्थले मात्र बनेको हुँदैन, उसले वंश परम्पराबाट नै त्यो स्थान प्राप्त गर्दछ । त्यसपछि मात्र उसले ल्याकत अनुसारको  पुरुषार्थ गर्दछ । नायक पहिला बन्ने परिपाटी सामान्यतय उल्टो जस्तो देखिन्छ । त्यसैले होला  वंशबाट आउने संसारका धेरै राजाले जनआकाँक्षा अनुसार काम गर्न नसकेका हुनाले सदियौँसम्म संसारैभरि जरा गाडेको राजतन्त्रको युगको अन्त भइसकेको छ  र त्यसका केही अवशेषहरू कुनै न कुनै रूपमा अझै अस्तित्वमा छन् ।

 

नेपाली चुलबुले मस्तिष्कले खोजेको नेता कस्तो होला भनेर सोच्ने हो भने अचम्मको चित्र देखिन्छ । घर—परिवार नभएको, धन—सम्पत्ति नभएको, अभावपूर्ण अवस्थामा पनि सन्तुष्ट रहेको, सडकमा पैदल नै आवत—जावत गर्ने । चारै तिरबाट आउने विचारका टुक्राहरू जोडेर हेर्दा देखिने चित्र हो यस्तो हो, जुन सम्भव हुँदैन । अझ नयाँ पुस्ताले जस्मिन टुडो र बाराक ओबामाले देशको उच्च ओहोदामा पुगिसकेर पनि सडकमा आफ्नो भारी आफैँ  बोकेर हिंडिरहेको फोटोमा आफ्नो नायकको बिम्ब देख्छ । अमेरिका र क्यानडाको समाजले नेपालको नायक बनाउने होइन । आफ्नो नायक नेपाली जनमानसले आफै बनाउने हो भन्ने कुरा आम मासिकताले बुझ्ने कुरा पनि भएन ।          

जनताको माझबाट नायक बन्न समस्याहरूसँग सङ्घर्ष गर्दै आएको व्यक्तित्वको विकास आवश्यक हुने ठहर साथ त्यसका लागि लोकतान्त्रिक परिपाटी आवश्यक ठानिएकोले विगतमा देशमा जनआन्दोलनहरू भएका थिए । त्यसलाई सफल पनि पारिएको भनियो । त्यस प्रतिको मोहभङ्ग हुन दुई दशक पनि लागेन । फेरि गणतन्त्र र सङ्घीयताको बाटोबाट अगाडि बढ्दै बिम्बको खोजी गर्ने अभियान सुरु भयो । सात साल, छ्यालिस साल र बैसट्ठी—त्रिसट्ठी सबै प्रयासहरूले बिम्बको खोजीलाई नयाँ आकार दिन विफल भएको देखिँदैछ । समयको यस अन्तरालमा खडा गरिएका केही बिम्बहरू देखिएका भए तापनि कतिपय पानीका फोका सरह भए भने कतिलाई त्यस्तो बनाइयो ।

 

देश राजनीतिक व्यवस्थाको परख—परिक्षण गर्ने प्रयोगशाला मात्र भयो । यसले देशलाई कहिल्यै स्थिर बन्न दिएन । स्थिरता विकासको पहिलो सर्त हो । यसको उदाहरण नजिकैको बंगलादेशलाई हेरे पुग्दछ । त्यो नभएपछि देशले मुहार फेर्ने कुरै भएन । वास्तवमा नेपाललाई प्रयोगशाला बनाएर कसलाई फाइदा पुगिरहेको छ ? कसैले गम्भीरतासाथ सोचेको देखिँदैन । यसरी नेपाली जनताले खोजेको बिम्ब कतैबाट प्रायोजित गर्न खोजिएको बिम्बको अनुहार मिल्न जानु संयोगमात्र हो कि होइन ? विचार गर्ने फुर्सद कसैलाई छैन । के नेपाली जनमानस कान लगेको कागको खोजीमा भौँतारिदै आएको हो ? प्रश्नहरू उत्तरित छैनन् ।   
(लेखक इतिहास तथा राजनीतिका जानकार हुनुहुन्छ ।)