images
images

मर्स्याङ्दी करिडोरका चार वटा २२० केभीका सवस्टेशन निर्माण धमाधम

काठमाडौँ l मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गतका चारवटा सबस्टेसनहरूको निर्माण भइरहेको छ ।

आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरू निर्माण भइरहेको छ । नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको हो ।

खुदी सबस्टेसन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको । धारापानी सबस्टेसनको निर्माण सुरु भएको छ । भौगोलिक रूपमा विकट ठाउँमा रहेकाले धारापानी सबस्टेसनको निर्माणमा केही समय लाग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, ३२० एमभीए र २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहनेछन् । दुवै सबस्टेसनहरूका मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । उपकरणहरूको जडान भइरहेको छ ।

खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी,१६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए र २२०/१३२ केभी, १०० एमभीए तथा १३२/३३ केभी, ३० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरू रहनेछन् । खुदी सबस्टेसनको मुख्य सिभिल संरचनाहरू निर्माणाधीन छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्च व्यवस्थापन टोलीले स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेसन निर्माणमा भइरहेको प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायत विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरूसँग विस्तृत छलफल गरी जानकारी लिएको छ ।

उनले मर्स्याङ्दी करिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारणलाइन तथा सबस्टेसन महत्त्वपूर्ण भएकाले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरेका छन् ।

मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजना सुरु गरिएको हो । प्रसारणलाइनबाट करिब एक हजार ६०० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारणलाइनको लम्बाइ करिब ११३ किलोमिटर छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको प्राधिकरणले जनाएको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारणलाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारणलाइन र दुईवटा सबस्टेसन निर्माण भइरहेको छ ।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (ईआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।