काठमाडौँ - एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुलाई आज (सोमबार) शपथ गराउने तयारी गरिएको छ ।
पार्टीमा पालो मिलाउन एकीकृत समाजवादीले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निणर्य गरेको थियो ।
एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री छन् । अब राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ ।
नयाँ मन्त्रीको नाम एकीकृत समाजवादीले हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । श्रम मन्त्री प्रस्ताव गरिएका शेरबहादुर कुँवर गैरसांसद हुन् । यसअघि पनि प्रधानमन्त्री देउवाले गैरसांसद गोविन्दप्रसाद कोइरालालाई कानुनमन्त्रीमा नियुक्त गरेका थिए ।