अनलाइन बहस । हाम्रो समाजमा विभिन्न प्रकारका समस्याहरू छन् । भनिन्छ, ‘जहाँ समस्या, त्यहाँ समाधान—समस्या एक्लै आउँदैन ।’ समाजमा रहेका समस्या केही घर, केही परिवारमा मात्र देखिए पनि यस्ता समस्या वास्तवमा सिङ्गो समाजका समस्या हुन् । यिनै र यस्तै समस्याहरू मध्येको एउटा समस्या हो— बाल विवाह । बालविवाहका कारणले सम्बन्धित बालिका—किशोरीहरूको स्वास्थमा प्रतिकूलता त हुन्छ नै अन्य अनेकौँ समस्याहरू पनि हुन्छन् ।
बालविवाहका विभिन्न कारणहरू रहेको बताइन्छ । यसलाई धार्मिक—सांस्कृतिक कारण पनि बताइन्छ । तर, मुख्य कारण भनेको असचेतनता नै हो । यस्तो असचेतना न्युनीकरण गर्ने प्रयास पनि भइरहेको छ । यस सन्दर्भमा म्याग्दी जिल्लाको प्रतिष्ठित सामाजिक संस्था ‘संगम म्याग्दी’ले जिल्लाका ग्रामीण क्षेत्रमा बालविवाह न्युनीकरणका क्षेत्रमा यो कार्य अगाडि बढाइरहेको छ । संगम म्याग्दीले बालविवाह न्युनीकरणको काम परियोजनाकै रूपमा सन् २०१९ मे १५ देखि गरिरहेको छ । यो परियोजना सञ्चालनमा गिर्ल्स फस्ट फण्ड— Girls First Fund को आर्थिक तथा प्राविधिक सहयोग रहेको कुरा संगम म्याग्दीका पूर्व अध्यक्ष तथा वर्तमान कार्यकारी निर्देशक दीपक पौडेलले बताउनु भयो । उहाँका अनुसार यो परियोजना जिल्लाको धवलागिरी गाउँपालिकामा सञ्चालनमा रहेको छ । यस परियोजनाको मुख्य उद्देश्य बालविवाहबारे सचेतना अभिवृद्धि गर्नु नै हो । यसका लागि विभिन्न किशोरी समुहहरू, किशोरी सञ्जाल निर्माण, आमा समुह आदि सामाजिक संघ—संस्थाहरूलाई समन्वय, महिला स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय, गाउँपालिकासँगको सहकार्य तथा सामाजिक पैरवी जस्ता क्रियाकलाप मार्फत यो काम अघि बढाइँदैआएको छ ।
समुदायमा परम्परादेखि नै जरो गाड्दै आएको बाल विवाह न्युनीकरण गर्नु रहेको छ । बालविवाह भनेको केटा वा केटी वा दुवैको उमेर २० वर्ष पूरा नभई गरिने विवाह हो । सानो उमेरमा हुने विवाहका दुष्परिणामहरूले विश्व आक्रान्त छ । विश्वको कानूनद्वारा निषेध गरिएकोले बालविवाह एउटा अपराध हुनुका साथै मानवअधिकारको हनन समेत हो । कानुनद्वारा बन्देज गरिएको भए पनि नेपालमा अझै पनि बालविवाह चिन्ताको विषय बनिरहेको छ । बालविवाह उच्च रहेका मुलुकहरूमध्ये नेपाल पनि अग्रपङ्क्तिमा रहेको छ । दक्षिण एसियामा नेपाल बङ्गलादेश र भारतपछि तेस्रो स्थानमा पर्दछ । अध्ययनहरूबाट बालकको तुलनामा सङ्ख्यात्मक रूपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको देखिएको छ । यसो हुनुमा महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवं सांस्कृतिक मान्यता, लैङ्गिक विभेद, गरीबी, अशिक्षा, असुरक्षाजस्ता कारणहरू प्रमुख रूपमा देखिएका छन् । बालविवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट वञ्चित मात्र गराउँदैन, उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट पनि वञ्चित हुन्छन् । विशेष गरी बालिका र महिलाको सन्र्दभमा बालविवाहले एउटा मात्रै अधिकारको उल्लङ्घन नगरी उनीहरूको जीवनचक्रमा थुप्रै अधिकार उल्लङ्घनका शृङ्खला सिर्जना गर्दछ र थप हिंसाको कुचक्रमा पर्ने अवस्था बढाइदिन्छ ।
बाल्यकाल उचित र अनुचित छुट्याउन नसक्ने अवस्था हो । यस्तो उमेर अवस्थामा गरिने विवाहका कारण वैवाहिक जीवन दिगो नहुने, शारीरिक रूपले परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरू देखिने, लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचविखन जस्ता थप हिंसाहरूले बालिका र महिलाहरू थप पीडित हुन पुग्दछन्, पुगिरहेका छन् । यस्तो हुनुले कालान्तरमा समाज विकास प्रक्रियामा महिलाहरूको भूमिका र सहभागितालाई न्युन बनाई सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माण गर्ने सवालमा बालविवाह बाधकतत्व बन्न सक्दछ ।
परियोजना अन्तर्गत सम्पन्नकेही क्रियाकलापहरू यस प्रकार रहेको छ :
किशोर—किशोरीहरूसँग सम्बन्धित कार्यक्रमहरू
१.विद्यालयस्तरीय किशोरी समुह गठन तथा पुनःगठन : एकल प्रयासले कुनै पनि समस्याको दीर्घकालीन समाधान सम्भव हुँदैन । यसका लागि लक्षित समुदायलाई संगठित प्रयास अन्तर्गत समुहहरू गठन गर्ने र निर्धारित समयमा पुनःगठन गर्ने गरिएको छ ।
२.वडा स्तरिय किशोरी सञ्जाल गठन : आफू संगठित हुने र अन्यत्रका संगठित अनुभवहरूबाट थप जानकारीहरू आदान—प्रदान गर्नका लागि अन्य समुहहरूसँग
जोठिने प्रयासका लागि समुह-समुहको बिचमा सञ्जाल निर्माण गरिएको छ ।
३. सुरक्षित गर्भपतन र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी कार्यक्रम : नचाहँदा नचाहँदै पनि असुरक्षित यौन सम्पर्कका कारण रहनसक्ने गर्भ र गर्भावस्थाको जटिलतामा आमा र शिशु दुवैका लागि प्रतिकूल र जिउज्यानमाथि नै असुरक्षाबाट जोगिने उपायका रूपमा गर्भपतन गर्नुपर्ने हुन्छ । यसबारे राज्यको कानुन तथा सम्बन्धित व्यक्तिको अवस्था हेरेर यस्तो गर्नुपर्ने अवस्थाबारे थाहा पाऊन् भन्ने उद्देश्यका साथ यस सम्बन्धी कार्यक्रमहरू सञ्चालन हुँदैआएको छ । प्रजनन र प्रजनन अधिकारबारे समुदायमा जनचेतना जगाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
४.पालिका स्तरिय किशोरी सम्मेलन कार्यक्रम : परियोजना सञ्चालनमा रहेको पालिका स्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा किशोरी समुह र सञ्जालबाट किशोरीहरूको सहभागिता रहेको थियो । सम्मेलनमा पालिकाका जनप्रतिनिधि(पदाधिकारी), विद्यालयका शिक्षक, सामाजिक अभियानका अगुवाहरूको सहभागिता रहेको थियो ।
५.जिल्ला स्तरिय किशोरी सम्मेलन कार्यक्रम : जिल्लाका सरोकारवाला निकाय तथा जिम्मेवारहरू समेतको उपस्थितिमा समुह, सञ्जालमा आबद्ध किशोरीहरूको सम्मेलनको तयारी भइरहेको छ ।
६.प्रदेश स्तरिय किशोरी सम्मेलन कार्यक्रम : बालविवाह न्युनीकरणका लागि आवश्यक नीति निर्माण गर्न तथा भएका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नु — गराउनु राज्यका सबै तह र निकायहरूको जिम्मेवारी भएको हुँदा यसलाई स्थानीय तहभन्दा माथिल्लो तहमा पैरवी गर्न प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तयारी रहेको छ ।
७. नेतृत्व विकास तालिम : बालविवाह न्युनीकरण तथा अन्य सामाजिक जागरणका लागि दक्ष, सीपयुक्त जनशक्ति सधै आवश्यक हुन्छ । हाल सञ्चालनमा रहेका परियोजनाहरू रहँदा वा नरहँदा पनि समुदायमा विद्यमान कुरीति, कुसंस्कार हटाई स्वच्छ, स्वस्थ, उन्नत संस्कारका माध्यमबाट उच्च संस्कृति विकास गर्न सामाजिक, स्वास्थ्य र कानुनी प्रावधानहरूबारे सचेत जनशक्ति निर्माणका लागि नेतृत्व विकास तालिम आवश्यक हुन्छ । संस्थाले यही परियोजना अन्तर्गत यो कामको योजना अघिसारेको हो । यसबाट समुदायको नेतृत्व गर्ने जनशक्ति तयार हुने विश्वास गरिएको छ ।
८. उद्घोषण तालिम : कुनै पनि समस्याको दीर्घकालीन समस्या समाधान गर्न लक्षित समुहको सशक्तीकरण आवश्यक हुन्छ । यसका लागि व्यावसायिक क्षमता आवश्यक पर्दछ । उद्घोषण तालिमबाट प्रभावशाली सञ्चारकर्ता उत्पादन हुने हुँदा समुदायको सशक्तीकरण त हुन्छ नै, व्यवसायिक कामका लागि समेत उपयोगी हुने हुँदा यो विषय अघि बढाइएको हो ।
९. बालविवाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम ः यस कार्यक्रमबाट बालविवाहका हानिकारक पक्षहरूका साथै कानुनी तथा शारीरिक स्वास्थ्यबारे जनचेतना अभिवृद्धि हुनेछ । लक्षित समुह र सबै सरोकारवालाको सहभागितामा यो कार्यक्रम समावेश गरिएको हो ।
१०. किशोरी समुहहरू तथा समुहका सञ्जालहरूको नियमित बैठक: यसलाई परियोजनाको प्रगति मापन गर्ने माध्यमका रूपमा प्रयोग गरिँदैआएको छ । यी विषयका साथसाथै निम्न कार्यक्रमहरू समेत अघि बढाइएको छ :
आय—आर्जन तर्फको कार्यक्रम
यस अन्तर्गत—
क. उद्यमशीलता विकास तालिम
ख. उद्यमीलाई सहयोग
ग. व्यवसाय सञ्चालनका लागि बीउपुँजी सहयोग
विद्यालयमा आधारित कार्यक्रम
यस अन्तर्गत—
क. शुक्रबारीय कार्यक्रम गर्न पुरस्कार सहयोग
ख. फोकल शिक्षकहरूलाई तालिम
अभिभावकसँग सम्बन्धित कार्यक्रम
यस अन्तर्गत—
क. अभिभावक शिक्षा कार्यक्रम
ख. बालविवाह रोकथामलाई समेटेर सन्देशमूलक होडिङ्ग बोर्ड राखिएको
ग. बालविवाह प्रतिकार समुहको नियमित बैठक
स्थानीय निकाय तथा नेतृत्वसँग प्रत्यक्ष काम
यस अन्तर्गत—
क. कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन
ख. वार्षिक कार्ययोजना तथा समीक्षा कार्यक्रम
अन्य कार्यक्रमहरू
यस अन्तर्गत—
क. धामीझाँक्री, पुरेत, ज्योतिषी तथा समाजका अगुवाहरूलाई अभिमुखीकरण कार्यक्रम
ख. कर्मचारीहरूलाई क्षमता अभिवृद्धि तालिम
ग. बालविवाह न्यूनीकरण सम्बन्धी नाट्यकार्यशाला तथा प्रस्तुतीकरण कार्यक्रम
घ. बालविवाह न्यूनीकरण र लागुऔषध दुव्र्यसन सम्बन्धी सडक नाटक प्रदर्शन आदि रहेका छन् ।
(क्रमशः......)