महिनावारी प्रजनन चक्रको प्राकृतिक अङ्ग हो । विश्वका धेरै ठाउँमा र नेपालमा यो वर्जित, कलङ्कित, ‘लुकेको’ र विरलै चर्चामा रहेको छ । महिनावारी जीवनको एक सामान्य भाग हो ।
महिनावारीको समयमा मासिक धर्मले घेरिएको नकारात्मक सांस्कृतिक अभ्यासहरूले महिला र बालिकाहरूको जीवन, स्वास्थ्य र सुरक्षामा नकारात्मक प्रभाव पारिरहेको छ र लैङ्गिक असमानता र बहिष्कारणलाई बढावा दिइरहेको छ । धेरै किशोरीहरू र महिलाहरूका लागि महिनावारीलाई प्रभावकारी रूपमा बुझ्न वा व्यवस्थापन गरिएको छैन, जसले किशोरीहरूको विद्यालयमा उपस्थिति र सिकाइका अवसरहरू सहितको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । महिनावारी सरसफाई व्यवस्थापन स्वच्छताको एक आवश्यक पक्ष हो, जसलाई किशोरी र महिलाहरूले महिनावारी र रजोनिवृतिको बिचमा पालना गर्नुपर्छ ।
नेपालको सन्दर्भमा, हरेक दिन नेपालमा करिब २ लाख ५० हजार महिला तथा किशोरीहरू महिनावारी हुँदै आइरहेका छन् । महिला र किशोरीहरूले स्वच्छ र स्वस्थ अभ्यासहरू हासिल गर्नका निमित्त विभिन्न किसीमका अवरोधहरूको सामना गर्नुपरेको छ । महिनावारीको समयमा महिलाहरूले स्यानिटरी न्याप्किन तथा सफा कपडा सफा पानी, साबुन, स्वच्छ शौचालय लगायतका सामाग्रीहरू प्रयोग गर्न सकिरहेका छैनन् । ग्रामीण क्षेत्रका ५३ प्रतिशत महिला किटीहरू महिनावारीको समयमा विद्यालय जानबाट वञ्चित भइरहेका छन् । करिब ४० देखि ६० प्रतिशत किशोरीहरूले आफ्नो पुनः प्रयोग गर्न मिल्ने कपडा घरबहिर घाममा प्रत्यक्ष रूपमा सुकाउँछन् भने बाँकी ४० देखि ५० प्रतिशत किशोरीहरूले सूर्यलाई देवता मानी सुकाउँदैनन् । यो समस्या नेपालका सुदूर र मध्य पश्चिमी भागहरूमा अझ गम्भीर छ जहाँ महिलाहरूलाई महिनावारीको समयमा प्रतिबन्ध लगाउनुको साथै छाउगोठमा पठाइन्छ, जसले गर्दा किशोरीहरू सर्पले टोक्ने, बलात्कार तथा यौन दुर्व्यवहार सिकार हुन परिरहेको छ ।
त्यसैगरी नेपालमा हरेक वर्ष ५० भन्दा बढी चाडपर्व मनाइन्छ । राष्ट्रिय चाडपर्वहरूको मिति तोकिए पनि ज्योतिषीहरूले चन्द्र क्यालेन्डरअनुसार धार्मिक चाडपर्वहरू तय गर्छन्, जस्तै दसैँ नेपालको सबैभन्दा ठूलो र महत्वपूर्ण हिन्दु चाड हो । यस पर्वले खराबीमाथि राम्रोको विजय र देवी दुर्गाका नौ रूपहरूको सम्झना गर्दछ । यसलाई विजया दशमी वा बडादशैं पनि भनिन्छ । हुर्कंदै गर्दा, अधिकांश नेपाली महिलाहरू उनीहरूको महिनावारीको समयमा पूजास्थलमा प्रवेश गर्दैनन् र नयाँ पुस्ताले पनि यही कुरा सिकिरहेका छन् । धेरै संस्कृतिहरूमा, महिनावारी भएका किशोरी तथा महिलाहरूलाई चाडपर्वको समयमा उपवास बस्न र पूजा गर्नबाट वञ्चित गरिएको छ ।
यस्ता समस्याहरू हटाउन रोटरी क्लब अफ रुद्रमतीले विभिन्न क्षेत्रत्रहरूमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । रोटरी क्लब अफ रुद्रमतीले महिनावारी सम्बन्धी जनचेतना जगाउने र महिलाहरूको व्यक्तिगत विकास र आर्थिक विकास गर्ने उद्देश्यले पर्वत लगायत विभिन्न ठाउँहरूमा तलिम चलाउँदै आइरहेको छ । त्यसै क्रममा पर्वतका महिलाहरूलाई स्यानिटरी प्याड बनाउनका लागि तालिम दिँदै आइरहेको छ । यस क्लबले मोती पुस्तकालयसँग समन्वय गरी यो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तालिम लिएपश्चात् पर्वतका महिलाहरूले प्याडका साथसाथै चोलो, म्याक्सी, कुर्था सुरुवाल, पेटिकोट लगायत कपडाहरू सिलाउन सक्ने भएका छन्, जसले गर्दा आफ्नो व्यक्तिगत सीप विकास हुनुका साथसाथै आर्थिक अवस्थामा पनि साधार हुनेछ । महिला समुहले ६० दिने अग्रीम सिलाइ तालिम प्राप्त गरेपछि उनीहरूले पुनः प्रयोग गर्न मिल्ने प्याडहरू बनाउन सिकेका छन् । कार्यक्रममा पाँच वटा विद्यालयमा महिनावारीको समयमा ध्यान दिनुपर्ने आवश्यकता महसुस गरी महिलाहरूमा महिनावारी सम्बन्धी हुने हिचकिचाहट हटाउन गरिएको यो एउटा प्रयास सार्थक प्रयास थियो । तालिमका सहभागी महिलाहरूले यो तालिम पाएपछि आफूलाई थप केही गर्ने भावना जागृत भई घरेलु उद्योग पनि दर्ता गरिसकेका छन् । महिलाहरूले महिनावारी सम्बन्धी हुने हिचकिचाहट हटाउन भविष्यमा पनि सार्थक प्रयास हुनेछ भन्दै खुसी व्यक्त गरेका छन्।
निष्कर्षमा, महिनावारी सम्बन्धी नकरात्मक सोच हटाउनका लागि हरेक गाउँ, सहर र क्षेत्रमा यस्ता महिला सञ्जालहरूको आवश्यकता छ । कतिपय कामहरू राज्यको नीति र कानुनले मात्र गर्न नसक्दा सार्वजनिक क्षेत्रको संयुक्त पहलबाट परिवर्तन र कार्यान्वयनमा ल्याउन सकिन्छ । महिनावारी जीवनको सामान्य भाग हो, तर पनि नेपालमा धेरै महिला र किशोरीहरूले स्वास्थ र स्वच्छतापूर्ण अभ्यासहरू हासिल गर्न विभिन्न अवरोधहरूको सामना गर्नुपरेको छ । हामीले यस्तो समाज निर्माण गर्न सक्नुपर्छ, जसमा किशोरीहरूले आफ्नो महिनावारीको बारेमा कुरा गर्न लाज र घिन नभई खुसी र गर्वका साथ व्यक्त गर्न सकून् ।
(लेखक आईसीए नेपालमा कार्यरत हुनुहुन्छ ।)